काठमाडौं । सरकारी स्वामित्वको बीमा कम्पनी भारतीय जीवन बीमा निगम (एलआईसी)को शेयरको १ प्रतिशत बेच्ने तयारी भइरहेको छ। भारतको केन्द्र सरकारले अर्को महिना एलआईसीको शेयर बिक्रीका लागि औपचारिक प्रक्रिया सुरु गर्न सक्छ। यो शेयर बिक्रीले भारु १०० अर्बसम्म जुटाउन सक्छ।
समाचार एजेन्सी ब्लुमबर्गका अनुसार भारतको केन्द्र सरकारले यस सरकारी स्वामित्वको जीवन बीमा कम्पनीमा रहेको आफ्नो शेयरको लगभग २ प्रतिशत बढी बेच्न सक्छ। यो शेयर बिक्री यस वर्षको जुनको अन्त्यमा वा जुलाईको सुरुमा हुन सक्छ। यो शेयर बिक्री संस्थागत लगानीकर्तालाई हुनेछ।
केन्द्रीय वित्त मन्त्रालयको लगानी र सार्वजनिक सम्पत्ति व्यवस्थापन विभागले एलआईसीमा हिस्सेदारी बिक्रीमा काम सुरु गरेको जनाएको छ। यो लेनदेनको व्यवस्थापनमा गोल्डम्यान साक्स समूह, मोतीलाल ओसवाल लगानी सल्लाहकार, बीएनपी परिबास र आईआईएफएल क्यापिटल सर्भिसेज संलग्न रहेको बताइएको छ।
भारत सरकारले मे २०२२ मा पहिलो पटक एलआईसीको ३.५ प्रतिशत हिस्सा बेचेको थियो। त्यतिबेला यो शेयर बिक्री देशको सबैभन्दा ठूलो आइपीओ थियो। भारत सरकारले यसमार्फत लगभग भारु २१० अर्ब उठाएको थियो।
स्टक एक्सचेन्जको तथ्यांकअनुसार मार्च ३१ सम्ममा भारत सरकारको एलआईसीमा ९६.५ प्रतिशत हिस्सा थियो। बीमा कम्पनीलाई सनु २०२२ को सूचीकरणबाट १० वर्ष भारतीय धितोपत्र तथा विनिमय बोर्डको न्यूनतम २५ प्रतिशत सार्वजनिक शेयर होल्डिङ आवश्यकता पूरा गर्न दिइएको छ। कम्पनीले यसको पालना गर्ने अवधि २०३२ सम्म रहेको छ।












