काठमाडौं । नेपालको बीमा बजारमा उच्च सम्भावना रहे पनि दाबी भुक्तानी प्रक्रिया अझै पनि झन्झटिलो, भ्रामक र परम्परागत रहेको पाइएको छ।
राष्ट्रिय वाणिज्य बैंककी वरिष्ठ सहायक प्रतिज्ञा भट्टद्वारा लिखित एउटा अनुसन्धानमूलक लेखअनुसार नेपालको बीमा क्षेत्रको विकासका लागि दाबी भुक्तानी प्रणालीमा प्रविधिको प्रयोग गर्नु अपरिहार्य भइसकेको छ।
प्राधिकरणको ५८ औँ वार्षिकोत्सव विशेषांकमा प्रकाशित लेखिका भट्टको लेखमा, द्रुत र पारदर्शी दाबी भुक्तानीले ग्राहकमा विश्वास बढाउँछ। जसले समग्र बीमा उद्योगलाई नै बलियो बनाउँछ। तर, नेपालको सन्दर्भमा भने नेपाल बीमा प्राधिकरणको प्रतिवेदनले समेत दाबी भुक्तानीमा ढिलाइ, जटिलता र पारदर्शिताको कमीलाई मुख्य चुनौतीका रुपमा औँल्याएको छ।
नेपालमा जीवन बीमा, निर्जीवन बीमा र लघु बीमा गरी तीनवटै क्षेत्रमा दशकौँ पुरानो कागजी र मानवीय श्रममा आधारित प्रक्रिया नै कायम छ। बीमा दाबीका लागि आवश्यक पर्ने कागजपत्रको संख्या धेरै हुँदा र ग्राहकमा वित्तीय साक्षरताको कमीका कारण प्रक्रिया टुंग्याउन महिनौँ लाग्ने गरेको छ। ग्रामीण र अर्धसहरी क्षेत्रका बासिन्दा बीमा कम्पनीका कार्यालयभन्दा धेरै टाढा छन्।
दुर्घटना वा क्षतिको स्थलगत निरीक्षण गर्न दक्ष सर्भेयरहरु दुर्गम क्षेत्रमा पुग्नै दिनौँ वा हप्तौँ लाग्ने गर्दछ। ग्राहकले आफ्नो दाबी कुन चरणमा पुग्यो र किन ढिलाइ भइरहेको छ भन्ने कुराको वास्तविक समयमा जानकारी पाउँदैनन्। कडा डिजिटल प्रमाणीकरण प्रणाली नहुँदा बीमा कम्पनीहरुले समेत गलत र नक्कली दाबीका कारण ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरिरहेको छ।
विकसित देशहरुको उदाहरण दिँदै लेखिका भट्टले नेपालले पनि विश्वव्यापी अभ्यासहरुबाट सिक्नुपर्ने कुरामा जोड दिएकी छन्। प्रविधिको सही सदुपयोग गरेमा दाबी भुक्तानीको समयलाई केही मिनेटमै झार्न सकिने उनको विश्लेषण छ।
| प्रविधि | यसले कसरी काम गर्छ ? |
| डिजिटल इन्टिमेसन | मोबाइल एप वा वेब पोर्टलबाटै कागजात बुझाउन सकिने। ओप्टिकल क्यारेक्टर रिकग्निसनले कागजातको विवरण आफैँ संकलन गर्छ। |
| आर्टिफिसियल इन्टेलिजेन्स | एआई र मेसिन लर्निङको प्रयोग गरेर दाबी सही हो कि नक्कली (Fraud) हो भनेर तत्कालै पत्ता लगाउन र जोखिम मूल्यांकन गर्न सकिने। |
| ब्लकचेन र स्मार्ट कन्ट्र्याक्ट | ब्लकचेन प्रविधिले कागजात किर्ते हुन दिँदैन र मानवीय हस्तक्षेप बिना नै स्वतः बैंक खातामा पैसा पठाउन सहयोग गर्छ। |
| रिमोट सेन्सिङ र ड्रोन | कृषि तथा सम्पत्ति बीमाको क्षेत्रमा भू-उपग्रह वा ड्रोन फुटेजको प्रयोग गरेर दुर्गम क्षेत्रमा समेत तुरुन्तै क्षतिको यथार्थ विवरण संकलन गर्न सकिने। |
प्रविधि प्रयोगको फाइदाहरु धेरै भएपनि नेपालमा यसको कार्यान्वयन सहज भने छैन। ग्रामीण क्षेत्रमा कमजोर इन्टरनेट कनेक्टिभिटी र बत्तीको समस्या, बीमालेख उपभोक्ता र बीमा कर्मचारी दुबैमा डिजिटल प्रविधिको ज्ञान कम हुनु, साइबर खतराबाट ग्राहकको संवेदनशील विवरण जोगाउनुपर्ने चुनौती र पुरानै शैलीमा काम गरिरहेका कर्मचारीहरु नयाँ प्रविधि सिक्न र अपनाउन हिच्किचाउनु प्रविधिमा रुपान्तरणका चुनौतीहरु हुन्।
नेपाको बीमा क्षेत्रलाई ग्राहक–केन्द्रित र प्रभावकारी बनाउन प्रविधि नै एकमात्र निर्विकल्प समाधान हो। यसका लागि नेपाल बीमा प्राधिकरणले बलियो कानुनी र डिजिटल खाका तयार पार्नुपर्छ भने बीमा कम्पनीहरूले पूर्वाधार, तालिम र प्रविधिमा लगानी बढाउन आवश्यक रहेको लेखिका प्रतिज्ञा भट्टको निष्कर्ष छ।












