काठमाडौं । अब विदेशी पर्यटकलाई ३० दिनभन्दा बढी समय थाइल्यान्डमा बस्न भिसा अनिवार्य गरिएको छ।
जुलाई २०२४ देखि विश्वका ९३ देशका पर्यटकलाई भिसा बिना ६० दिनसम्म थाइल्यान्डमा बस्न अनुमति दिइएको थियो। यो कदम कोभिड–१९ महामारीपछि अर्थतन्त्रलाई बढावा दिन लिइएको थियो।
थाई सरकारले मंगलबार यो छुट अन्त्य गर्ने योजनालाई अनुमोदन गरेको छ। अब विदेशी पर्यटकको बसाइको अवधि प्रत्येक देशका लागि व्यक्तिगत रुपमा निर्धारण गरिनेछ।
थाई सरकारले सुरक्षा चिन्ता र जटिल भिसा प्रणालीलाई यो परिवर्तनको कारणका रुपमा उल्लेख गरेको छ। हालै दक्षिणपूर्वी एसियाली देश थाइल्यान्डमा लागूपदार्थ र यौन बेचबिखनसँग सम्बन्धित मुद्दासहित विदेशीहरुको धेरै उच्च–प्रोफाइल गिरफ्तारी भएका छन्।
थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलका अनुसार सरकारले वर्तमान आर्थिक र राष्ट्रिय सुरक्षा अवस्थाले नीति परिवर्तन आवश्यक महसुस गरेको छ। ६० दिने भिसा छुटबाट लाभान्वित हुने देशहरुमा अस्ट्रेलिया, चीन, फ्रान्स, जर्मनी, भारत, इटाली, स्पेन, अमेरिकालगायतका देश समावेश थिए। थाई विदेश मन्त्रालयले विदेशी नागरिकले अब ३० दिनभन्दा लामो समयसम्म बस्नका लागि भिसा लिनुपर्ने जनाएको छ। –एजेन्सी












