काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा अहिले एउटा अनौठो विरोधाभाष देखिएको छ। एकातिर बैंकहरुले कर्जाको ब्याजदर घटाएर इतिहासकै न्यून विन्दुमा झारेका छन् भने अर्कोतिर व्यवसायीहरु ऋण लिएर लगानी थप्न डराइरहेका छन्।
सामान्यतया ब्याजदर घट्दा बजारमा लगानी र उपभोग दुवै बढ्नुपर्ने आर्थिक सिद्धान्त छ। तर, नेपालको वर्तमान अवस्थामा भने यो सिद्धान्त पूर्णतः निष्प्रभावी देखिएको छ।
पछिल्लो ३ वर्षको तथ्यांकलाई केलाउँदा वाणिज्य बैंकहरुको औसत कर्जा ब्याजदर ६.९० प्रतिशतमा झरेको छ। यति सस्तो ब्याजदरमा ऋण उपलब्ध हुनु लगानीकर्ताका लागि सुवर्ण अवसर हुनुपर्ने हो। तर, बजारको यथार्थ अर्कै छ– बैंकहरुमा अहिले झन्डै १२ खर्ब रुपैयाँ लगानीयोग्य रकम (तरलता) थुप्रिएर बसेको छ। जसको उचित खपत हुन सकेको छैन।
नेपाल राष्ट्र बैंकका अधिकारीहरुका अनुसार अहिलेको बजारमा उपभोगको अवस्था निराशाजनक नै त छैन। तर, आशाजनक पनि देखिँदैन। वैदेशिक रोजगारीबाट भित्रिने रेमिटेन्स (विप्रेषण) को आप्रवाह उच्च रहेका कारण बजारमा केही चहलपहल देखिएको हो। तर, आन्तरिक उत्पादन र खर्च गर्ने क्षमतामा भने ह्रास आएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार वार्षिक मुद्रास्फीति करिब साढे ३ प्रतिशतमा सीमित छ। मूल्यवृद्धि नियन्त्रणमा रहनु र ब्याजदर घट्नु उपभोक्ताका लागि खर्च गर्ने उत्तम समय मानिन्छ। विज्ञहरुका अनुसार सामान्यतया ब्याजदर घट्दा निक्षेपकर्ताहरुले बैंकमा पैसा राखेर थोरै ब्याज लिनुको साटो त्यसलाई खर्च गर्न वा अन्य उत्पादनमूलक क्षेत्रमा लगाउन रुचाउँछन्। तर, अहिलेको अवस्थामा उपभोक्ताहरुमा पनि ‘बचत गरौँ कि खर्च गरौँ’ भन्ने अन्योल देखिएको छ, जसले गर्दा उपभोग सोचेजस्तो विस्तार हुन सकेको छैन।
बैंकहरुमा निक्षेप वृद्धि सन्तोषजनक भए पनि निजी क्षेत्रतर्फको कर्जा विस्तार भने अत्यन्तै न्यून अर्थात् साढे ४ प्रतिशतमा खुम्चिएको छ। उद्योगी–व्यवसायीले अहिले नयाँ उद्योग स्थापना गर्ने वा भइरहेका परियोजना विस्तार गर्ने सोच बनाएका छैनन्। बरु उनीहरुले पुरानो महँगो ब्याजको ऋण चुक्ता गर्ने, नगद जोगाएर राख्ने र बजारको अवस्था नियाल्ने ’पर्ख र हेर’को रणनीति अपनाएका छन्।
विज्ञहरुका अनुसार लगानीकर्तामा आत्मविश्वासको चरम अभाव देखिएको छ। बजारमा माग स्पष्ट रुपमा नबढेसम्म र अर्थतन्त्रले गति लिने निश्चित नभएसम्म व्यवसायीहरु थप ऋणको भार बोक्न तयार देखिएका छैनन्। जसका कारण बैंकमा पैसा थुप्रिने तर बजारमा नपुग्ने अवस्था सिर्जना भएको छ।
नेपालको आन्तरिक अर्थतन्त्र सुस्त हुनुमा आन्तरिक कारण मात्र नभई बाह्य परिस्थिति पनि उत्तिकै जिम्मेवार रहेको विश्लेषण गरिएको छ। खासगरी पश्चिम एसियामा बढ्दो तनाव र अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा हुने उतारचढावले नेपाली बजारलाई सशंकित बनाएको छ।
आर्थिक क्षेत्रका विज्ञहरुका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसले ढुवानी खर्चमात्र बढाउँदैन, बरु कृषि, निर्माण र औद्योगिक उत्पादनको लागत नै महँगो बनाइदिन्छ। ‘जब ढुवानी र उत्पादन लागत बढ्छ, त्यसले बजारमा वस्तुको मूल्य बढाउँछ र अन्ततः माग घट्न जान्छ’, एक विज्ञले बताए, ‘यही कारणले गर्दा पर्यटन र वैदेशिक रोजगारीमा समेत पर्न सक्ने सम्भावित असरलाई लिएर लगानीकर्ताहरु डराइरहेका छन्।’
अहिलेको मुख्य समस्या ब्याजदर महँगो हुनुमात्र नभएर बजारमा माग र आत्मविश्वासको कमी हुनु हो। बैंकमा थुप्रिएको १२ खर्ब रुपैयाँलाई बजारसम्म पुर्याउन सरकार र नियामक निकायले ठोस कदम चाल्नुपर्ने देखिन्छ। विज्ञहरुका अनुसार सरकारले पुँजीगत खर्च बढाएर बजारमा पैसा पठाउनुपर्ने र निजी क्षेत्रलाई लगानीका लागि सुरक्षित वातावरण छ भन्ने अनुभूति गराउनु पर्ने खाँचो छ।
जबसम्म आन्तरिक उत्पादनका क्षेत्र चलायमान हुँदैनन् र ठूला पूर्वाधारका कामहरुले गति लिँदैनन् तबसम्म सस्तो ब्याजदरले मात्रै अर्थतन्त्रलाई ब्युँझाउन कठिन हुने देखिन्छ। त्यसैले अहिलेको चुनौती भनेको बैंकको ढुकुटीमा रहेको पैसालाई उद्योग र कलकारखानासम्म पुर्याएर रोजगारी र माग सिर्जना गर्नु नै हो।
अर्कोतर्फ सरकारको न्यून पुँजीगत खर्चले पनि बजारमा नगद प्रवाह हुन सकेको छैन। विकास निर्माणका कार्यहरु सुस्त हुँदा निर्माण सामग्रीको माग घटेको छ। जसले सिमेन्ट, फलाम र यातायातजस्ता ठूला क्षेत्रलाई प्रत्यक्ष असर पारेको छ।
विज्ञहरुका अनुसार सरकारले सार्वजनिक खर्च बढाएर बजारमा माग सिर्जना नगरेसम्म निजी क्षेत्र मात्रको प्रयासले अर्थतन्त्र उकासिन कठिन छ। अहिलेको समयमा सस्तो ब्याजदरको वास्तविक लाभ लिनका लागि लगानीमैत्री वातावरण, नीतिगत सुनिश्चितता र राज्यको सक्रिय आर्थिक उपस्थिति अनिवार्य देखिएको छ। जबसम्म आम सर्वसाधारण र व्यवसायीले भविष्य सुरक्षित देख्दैनन्, तबसम्म बैंकको ढुकुटीमा रहेको पैसा बजारमा आउन मुस्किल पर्ने देखिन्छ।
नेपालको आन्तरिक अर्थतन्त्र सुस्त हुनुमा आन्तरिक कारणमात्र नभई बाह्य परिस्थिति पनि उत्तिकै जिम्मेवार रहेको विश्लेषण गरिएको छ। खासगरी पश्चिम एसियामा बढ्दो तनाव र अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा हुने उतारचढावले नेपाली बजारलाई सशंकित बनाएको छ। पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसले ढुवानी खर्चमात्र नबढषएर कृषि, निर्माण र औद्योगिक उत्पादनको लागत नै महँगो बनाइदिन्छ। विज्ञहरु भन्छन्, ‘जब उत्पादन लागत बढ्छ र माग घट्छ, तब लगानीकर्ताहरु थप लगानी गर्नुको साटो आफ्नो पुँजी जोगाउनतर्फ लाग्छन्।’
यिनै कारणले गर्दा पर्यटन र वैदेशिक रोजगारीमा समेत पर्न सक्ने सम्भावित असरलाई लिएर लगानीकर्ताहरु सजग देखिएका हुन्।












