काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रिइन्स्योरेन्स र ७ लघु बीमा कम्पनीका संस्थापक शेयरधनीहरुलाई शेयर कारोबारको विवरण पेस गर्न १५ दिने अल्टिमेटम दिएको छ।
विभागले आज एक सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिएको हो। यसरी शेयर कारोबारको विवरण पेस गर्न भनिएका कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ, लिबर्टी माइक्रो लाइफ, प्रोटेक्टिभ इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्योरेन्सका संस्थापक शेयरधनीहरु रहेका छन्।
संस्थापक शेयर खरिदका विषयमा आवश्यक अनुसन्धानका क्रममा अध्ययन प्रयोजनका लागि विवरण आवश्यक परेको विभागले जनाएको छ।
बीमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने समयमा ती कम्पनीमा संस्थापक शेयर खरिद गर्ने संस्थापक शेयर खरिद गर्नेहरुले चुक्ता पुँजीबापत कम्पनीमा भुक्तानी गरेको वाहेक अतिरिक्त शुल्क (प्रिमियम)बापत विभिन्न व्यक्ति तथा संस्थाको बैंक खातामा बुझाएको रकमका हकमा के–कति रकम, क–कसका नाममा रहेको, के–कति नम्बरको, के–कुन बैंक तथा वित्तीय संस्थाको खातामा, के–कुन जम्मा गरेको हो भन्नेसमेतका विवरण फरक नपर्ने गरी विभागको कार्यालयमा पेस गर्न विभागले आग्रह गरेको छ।












