काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न मुद्दामा अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतबाट माग हुने बीमकको शेयरधनीको शेयर स्वामित्व सम्बन्धी विवरण विद्युतीय माध्यमबाटै उपलब्ध गराउन सफ्टवेयर विकास गर्न लागेको छ।
बीमा कम्पनीसँग आयोग, सम्पत्ति शुद्धिकरण विभाग, नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो र प्राधिकरण समेतले विभिन्न मुद्दाको अनुसन्धानका शिलशिलामा संस्थापक र अन्य शेयरधनीहरूको विवरण माग्दै आएको छ।
यस्ता विवरणहरू बीमकले सम्बन्धित धितोपत्र प्रबन्धक र कम्पनी रजिष्ट्रारसँग मागेर सम्बन्धित निकायलाई उपलब्ध गराउँदै आएका थिए। यस्तो विवरण माग गर्दा प्रहरीको विशेष अनुसन्धान ब्यूरोले बीमकसँग सिधै र अन्य निकायले प्राधिकरणमार्फत् पत्राचार गर्छन् । बीमकले एउटै विवरण समेत बेग्ला बेग्लै अनुसन्धान निकायलाई उपलब्ध गराउनुपर्छ।
प्राधिकरणका अनुसार, नयाँ सफ्टवेयर र पोर्टलले बीमकलाई शेयर विवरण उपलब्ध गराउनका लागि पत्राचार गर्ने निकायले एकद्वार प्रणालीबाट पत्राचार गर्न सक्नेछन् । र बीमकले पनि विद्युतीय माध्यमबाटै सम्बन्धित निकायमा शेयर लगतको उपलब्ध गराउन सक्नेछन् ।












