काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठलाई नेपाल प्रहरीको सिआइबीले पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका वडा नं. ३१, मिनभवन बस्ने श्रेष्ठलाई मंगलबार कागेश्वरी मनोहरा ५ बाट पक्राउ गरेको हो।
बीमा ऐन, २०७९ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका क्रममा ४६ वर्षीय श्रेष्ठ काठमाडौँको कागेश्वरी मनोहरा ५ बाट पक्राउ परेको प्रहरीको भनाइ छ ।
नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिम कसुर भएको उल्लेख गर्दै अनुसन्धान तथा छानबिनका लागि सीआईबीमा प्रतिवेदन पठाएको थियो । यो दफामा ऐन बमोजिम इजाजत पत्र नलिई बीमा व्यवसाय गरे कसूर मानिने प्रावधान छ।
प्रहरीले यसअघि हिमालयन लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्ष सुलभ अग्रवाल र हिमालयन रिइन्स्योरेन्सका पूर्व अध्यक्ष शेखर गोल्छा, क्रेष्ट माइक्रो इन्स्योरेन्सका पूर्व अध्यक्ष रिषिराज मोरलाई अनुसन्धानका लागि पक्राउ गरिसकेको छ।












