काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया पारित गरेको छ।
नेपाल धितोपत्र बोर्डले माघ २७ गते मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका जारी गरेको थियो। निर्देशिकामा मार्जिन कारोबार सुविधा फागुन २१ गतेबाट लागू भनिएको छ। तर, नेप्से माजिक कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया आज जारी गरेको हो। अब यो सुविधा लागू हुनेछ।
कार्यप्रक्रियामा निर्देशिकामा उल्लेख व्यवस्थाहरु नै कायम गरिएको छ। जसअनुसार मार्जिन कारोबारका लागि योग्य कम्पनीको कम्तीमा २५ लाख कित्ता शेयर सूचीकृत भएको हुनुपर्नेछ। नेटवर्थ चुक्तापुँजीबराबर र सोभन्दा बढी भएको, पछिल्लो ३ वर्षमा २ वर्ष खुद नाफा, गरेको, आइपीओ जारी भएको शेयर सूचीकरण भएको कम्तीमा २ वर्ष पूरा भएको कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य हुने व्यवस्था गरिएको छ।
यसैगरी कार्यप्रक्रियामा मार्जिन कारोबार गर्न योग्य कम्पनीसँगै मार्जिन कारोबार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर)को योग्यताका विषयमा विभिन्न व्यवस्था गरिएको छ। चुक्तापुँजी कम्तीमा २० करोड रुपैयाँ भएका ब्रोकरले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछन्।
यसैगरी राफसाफ सदस्यता प्राप्त गरेका, निक्षेप सदस्यता प्राप्त गरेका र धितोपत्र बजार (नेपाल स्टक एक्सचेन्ज)ले तोकेको अन्य व्यवस्था पूरा गरेका ब्रोकर मार्जिन कारोबार सुविधा प्रदान गर्न योग्य हुने व्यवस्था गरिएको छ। निक्षेप सदस्य वा निक्षेप सदस्य कम्पनीको शेयरधनी रहेको वा सहायक कम्पनीका रुपमा रहेका धितोपत्र दलाल व्यवसायीको मुख्य कम्पनी निक्षेप सदस्य प्राप्त गरेकोले पनि यो सुविधा प्रदान गर्न सक्नेछन्।
ब्रोकरले आफ्नो प्रमाणित नेटवर्थको ५ गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछन्। ब्रोकरले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्य वा सम्बद्ध संस्थालाई मार्जिन सुविधा प्रदान गर्दा ब्रोकरले प्रदान गर्न सक्ने कुल मार्जिन सुविधाको बढीमा १० प्रतिशतभन्दा बढी मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने छैनन्।
यसैगरी ब्रोकरले मार्जिन कारोबार सुविधा प्रदान गर्दा लगानी विविधीकरणलाई समेत ध्यान दिनुपर्ने निर्देशिकामा प्रस्ट व्यवस्था गरिएको छ।
ब्रोकरले मार्जिन कारोबार सुविधाअन्तर्गत खरिद भएको शेयर दैनिक रुपमा कारोबार गर्दा वा कारोबारपश्चात वा राफसाफको समयमा पहिचान गरी राख्नुपर्नेछ। यो सुविधा प्राप्त गर्न लगानीकर्ताले ब्रोकरमा छुट्टै मार्जिन कारोबार खाता र मार्जिन कारोबार हितग्राही खाता खोल्नुपर्नेछ।
ब्रोकर (राफसाफ)ले राफसाफ प्रयोजनका लागि केन्द्रीय निक्षेप कम्पनीमा मार्जिन कारोबार राफसाफ हितग्राही खाता खोल्नुपर्नेछ। लगानीकर्ताको मार्जिन कारोबार हितग्राही खातालाई ब्रोकरमार्फत खोलिएको मार्जिन कारोबार खाता र राफसाफ सदस्यको मार्जिन कारोबार राफसाफ हितग्राही खातासँग आबद्ध गर्नुपर्नेछ।
लगानीकर्तालाई मार्जिन कारोबार सुविधा प्रदान गर्दा ब्रोकरले मार्जिन कारोबार खाता र मार्जिन कारोबार हितग्राही खाता सञ्चालनसम्बन्धी अधिकृत वारेसनामा लिन सक्नेछ। लगानीकर्ताले मार्जिन कारोबार सुविधाबापत लिएको रकम तथा दायित्व चुक्ता नगरेमा वा सम्भार मार्जिन कायम गर्न नसकेमा शेयर बिक्री तथा राफसाफ गर्ने प्रयोजनका लागिमात्र अधिकृत वारेसनामा ब्रोकरले प्रयोग गर्नुपर्नेछ। यसम्बन्धी भएको कार्यको विवरण धितोपत्र बजार (नेप्से)लाई समेत जानकारी गराउनुपर्नेछ।
ब्रोकरको कारोबार प्रणालीमा रहेको लगानीकर्ताको कारोबार खाताबाटै मार्जिन कारोबार सुविधा दिन सकिने अवस्था भएमा छुट्टै मार्जिन कारोबार खाताको आवश्यकता पर्ने छैन।
margin trading











