काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हिमालयन पावर पार्टनरको शेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३८१.३३ रुपैयाँ कायम गरेको हो। हिजोको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ५२२ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै शेयर कारोबारमा आउनेछ।
कम्पनीले हकप्रद शेयर जारी गर्न आज चैत १० गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो चैत ९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयरमा आवेदन दिन योग्य भएका छन्।
कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। अब कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ।
यस हिसाबले कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख २७ हजार ८५ कित्ता शेयर जारी गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ कायम हुनेछ।
हिमालयन पावर पर्टनरको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।












