काठमाडौं । लघु बीमाको व्यापारले अन्ततः घाटाको स्थितिमा जाने जान्दाजान्दै परम्परागत जीवन बीमकहरुले किन लघु जीवन बीमा व्यवसायलाई प्राथमिकता दिइरहेका छन् ।
झट्ट अनुमान गर्दा शायद नियामकीय दबाबका कारण नोक्सानी सहेरै भए पनि संस्थागत उत्तरदायित्वअन्तर्गत विपन्न वर्गलाई सेवा गर्ने भावना परम्परागत बीमकहरुसँग रहेको हुन सक्छ। तर, भित्री कारण त्यतिमात्र नभएर लघु जीवन बीमाको बिक्रीका लागि बीमकले धेरै टाउको दुःखाइ गर्नुपर्दैन। संकलित बीमाशुल्कको निश्चित रकम अवैध रुपमा प्रोत्साहनस्वरुप उपलब्ध गराए लघुवित्त कम्पनी आफैँ सक्रियतापूर्वक अघि सरेर व्यापार सुनिश्चित गरिदिन्छन्।
यसबाहेक अर्को कारण चाहिँ लघु बीमाबाट संकलित बीमाशुल्कले नयाँ व्यापारबापतको बीमाशुल्क आम्दानीको तथ्यांकमा दिने योगदान पनि हो। प्राधिकरणले वा बीमक स्वयंले प्रकाशन गर्ने व्यवसायसम्बन्धी तथ्यांकमा लघु बीमाको व्यापार हिस्सासमेत समावेश गरेर प्रकाशन गर्दा अधिक बीमाशुल्क आम्दानी देखिन जान्छ। जसले गर्दा व्यवस्थापनलाई आफ्नो स्थिति सुदृढ देखाउन आड मिल्छ।
कहिलेसम्म चल्छ लघु बीमाको गोरख धन्दा ?
तथ्यांकले के देखाउँछ भने परम्परागत बीमा कम्पनीहरु गम्भीर दबाबमा छन्। जहाँ दाबीले बीमाशुल्क आम्दानीलाई लगभग सिध्याएको छ। लघु बीमा कम्पनीहरुको अनुपात राम्रो देखिए पनि व्यवसायको सानो आकारका कारण उनीहरु दिगो हुनेमा आशंका छ। विशेषगरी रेमिट्यान्समा आधारित परिवारहरुमा मात्र निर्भर हुनु र सेवामा विविधीकरण नहुनुले जोखिम थप बढाएको छ।
विज्ञहरुका अनुसार बीमा कम्पनीहरुले आफ्नो जगेडा कोष मजबुत बनाउनुपर्ने, जोखिम व्यवस्थापनमा सुधार गर्नुपर्ने र नयाँ किसिमका बीमा योजनाहरु ल्याउनुपर्ने देखिन्छ। न्यून आय भएका समूहमा लघु बीमाको पहुँच बढाउन र प्रविधिको प्रयोग गरी दाबी प्रक्रियालाई चुस्त बनाउन सके यस क्षेत्रमा स्थिरता आउन सक्छ।
नेपालको जीवन बीमा क्षेत्र हाल निर्णायक मोडमा छ। संकलित बीमाशुल्कको ठूलो हिस्सा दाबी भुक्तानीमा खर्च भइरहेकाले विशेषगरी ठूला कम्पनीहरुले आफ्नो वित्तीय सञ्चिति बढाउनु आवश्यक छ। लघु बीमा कम्पनीहरुले पनि दीर्घकालीन अस्तित्वका लागि आफ्नो व्यवसायको दायरा फराकिलो बनाउनुपर्ने देखिन्छ।












