काठमाडौं । सन सेक्युरिटिज (ब्रोकर नं. ६४)ले आयोजना गरेको स्टक पिचिङ प्रतियोगिता–२०८२ मा शंकरदेव क्याम्पसका राहुल थपलियाले प्रथम स्थान हासिल गरेको छ।
यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको ग्रान्ड फिनाले काठमाडौंको नक्सालस्थित नारायणचौरमा रहेको सन सेक्युरिटिजको ट्रेडिङ हलमा आयोजना गरिएको थियो।
ब्रोकर समुदायबाट सुरु गरिएको यो पहिलो संस्करणको प्रतियोगिताले नेपाली पुँजी बजारमा अनुसन्धानमा आधारित लगानी संस्कृतिको विकास गर्ने उद्देश्य लिएको थियो। सहभागीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरु छनोट गरी आधारभूत तथा प्राविधिक विश्लेषणका विभिन्न सूचकको प्रयोग गर्दै आफ्नो स्टक पिच प्रस्तुति दिएका थिए।
प्रतियोगिता तीन चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा दर्ता तथा केस स्टडी पेस गरिएको थियो। जसमा देशभरका ३१ कलेजबाट ४९ जना सहभागी भएका थिए।
दोस्रो चरण अर्थात् केस स्टडी प्रस्तुति चरणका लागि १८ जना छनोट भएका थिए। अन्तिम चरणमा उत्कृष्ट ८ जना प्रतिस्पर्धीबीच प्रत्यक्ष स्टक पिच प्रस्तुति सम्पन्न भएको थियो।
प्रतियोगितामा शंकरदेव क्याम्पसका थपलियाले प्रथम स्थान हासिल गर्दै नगद १० हजार रुपैयाँ, ट्रफी तथा ३ महिनाको सःशुल्क इन्टर्नसिप प्राप्त गरेका छन्। केयूएसओमका सुजल बुढाथोकी द्वितीय हुँदै नगद ७ हजार रुपैयाँ, ट्रफी तथा ३ महिनाको सःशुल्क इन्टर्नसिप प्राप्त गरे भने लिंकन इन्टरनेसनल कलेज अफ म्यानेजमेन्ट एन्ड आइटी नेटवर्कका सफल श्रेष्ठ तृतीय हुँदै नगद ५ हजार रुपैयाँ, ट्रफी तथा ३ महिनाको सःशुल्क इन्टर्नसिप प्राप्त गरेका छन्। यसका साथै अन्य दुईजना प्रतिस्पर्धीलाई पनि ३ महिनाको सःशुल्क इन्टर्नसिप प्रदान गरिएको थियो।
प्रतियोगिताको मूल्यांकन प्रतिष्ठित निर्णायक मण्डलद्वारा गरिएको थियो। निर्णायकहरुमा अबिरल नेपाल (अध्यक्ष, चाण्डक्य फन्ड), विज्ञान भण्डारी (हेड अफ इन्भेस्टमेन्ट, हिमालयन एभरेस्ट इन्स्योरेन्स), अस्तित्व शर्मा (सीईओ, सुबिज ग्रुप तथा निर्देशक, एएक्सआईओएम नेपाल), विवेक अधिकारी र दीपकराज पन्त (ट्रेडिङ अफिसर, सन सेक्युरिटिज) थिए।
प्रतियोगितामा मिडिया पार्टनरका रुपमा इन्स्योरेन्स खबर डट कम, डाटा एनालिटिक्स पार्टनरका रुपमा नेप्से अल्फा तथा आउटरिच पार्टनरका रुपमा केयूएसओएम फाइनान्स क्लब र क्वेस्ट फाइनान्स क्लब थिए।
सन सेक्युरिटिजले यो प्रतियोगितालाई आगामी वर्षहरुमा अझ व्यापक र प्रभावकारी रुपमा निरन्तरता दिने जनाएको छ। पहिलो संस्करणको सफल आयोजनासँगै यस कार्यक्रमले नेपाली पुँजी बजारमा युवाको सक्रिय सहभागिता र विश्लेषणात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ।












