काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा व्यावसायिक अभिकर्ता उत्पादनका लागि अनलाइन परीक्षा प्रणाली लागू गरे पनि परीक्षामा व्यापक विकृती देखिएको छ।
पछिल्लो समयमा मर्यादित परीक्षा सञ्चालनका लागि सक्रिय देखिएको प्राधिकरणले अनलाइन प्रणालीबाटै निगरानी गर्दै अभिकर्ता परीक्षामा सहभागि नक्कली परीक्षार्थीविरुद्ध कारबाही अभियान थालेको छ। प्राधिकरणले दुईपटकको कारबाहीमा २० जना अभिकर्ताको परीक्षा रद्द गरिदिएको छ। प्राधिकरणले एकपटक कारबाहीमा परेको परीक्षार्थीलाई कम्तीमा ३ महिनासम्म पुनः परीक्षामा सहभागी हुन बन्देज लगाउँछ।
प्राधिकरणको मध्यस्थकर्ता शाखाका अनुसार परीक्षामा नक्कली परीक्षार्थी सहभागी गराउने वा परीक्षार्थीलाई सघाउने प्रवृत्ति अधिकांश बीमकमा पाइएको छ। अभिकर्ता नेताहरु पनि यो दौडमा सहभागी छन्।
बीमकले तालिम सञ्चालन नै नगरी जथाभावी रुपमा इजाजतपत्र वितरणका लागि सिफारिस गरेपछि व्यावसायिक अभिकर्ता उत्पादनका लागि प्राधिकरणले अनलाइन परीक्षासम्बन्धी व्यवस्था लागू गरेको हो।
प्राधिकरणका अनुसार केही अवस्थामा परीक्षार्थीले बीमकको कार्यालयबाट नभएर अन्यत्रबाटै अनलाइनमार्फत परीक्षा दिइरहेका हुन्छन्। त्यस्तो अवस्थामा झनै बढी नक्कली परीक्षार्थी सहभागी हुने गरेको पाइएको छ।
अभिकर्ता इजाजतपत्रसम्बन्धी व्यवस्थाअनुसार बीमा कम्पनीले सञ्चालन गर्ने अभिकर्ता प्रशिक्षण कार्यक्रममा सहभागितापछि परीक्षार्थीले अनिवार्य रुपमा अनलाइन परीक्षा दिनुपर्छ। वस्तुगत उत्तर चयन गर्नुपर्ने अनलाइन परीक्षामा न्यूनतम तोकिएक अंक हासिल गर्ने परीक्षार्थीले मात्र इजाजत पत्र प्राप्त गर्न योग्य हुन्छन्।
परीक्षाको मिति अगावै बीमक र अभिकर्ता नेताहरुले आकांक्षी परीक्षार्थीहरुलाई बीमाबारे आधारभूत प्रशिक्षण समेत नदिने प्रवृतिका कारण चोरीको समस्या कायमै रहेको हो।












