काठमाडौं । भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर सञ्जय मल्होत्राले बैंकहरुसहित सबै वित्तीय संस्थाहरुलाई नियमहरु केवल औपचारिकताका रुपमा पालना गर्नुको सट्टा पछाडिको वास्तविक उद्देश्य र भावना बुझ्न आग्रह गरेका छन्।
डिजिटल फ्रडप्रति चिन्ता व्यक्त गर्दै गभर्नर मल्होत्राले मुम्बईमा आयोजित एक कार्यक्रममा यो सम्पूर्ण देशका लागि एक प्रमुख चुनौती बनेको बताए। उनले यसलाई रोक्न सबैले मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिए।
गभर्नर मल्होत्राका अनुसार डिजिटल पहुँच र सुविधा मानिसहरुलाई बैंकिङ पहुँच गर्न सजिलो भएको छ। ‘यद्यपि, सुरक्षा उपायहरुको अभाव, ग्राहकहरुलाई लुकेका शुल्कहरु लिने, उनीहरुलाई पूर्ण जानकारी प्रदान नगर्ने र अनुचित ऋण असुली विधिहरु अपनाउनेजस्ता कार्यहरुले पनि बेफाइदा निम्त्याउन सक्छ’, उनले भने।
मल्होत्राले डिजिटलाइजेसनले बैंकिङको दायरा विस्तार गरेको र सञ्चालनलाई तीव्र बनाएको बताए। ‘तर, यसले जोखिम पनि बढाएको छ’, उनले भने, ‘समयमै म्युल खाताहरु र शंकास्पद कारोबारहरु पत्ता लगाउन बैंकहरुले एकअर्कासँग समन्वय गर्नुपर्छ।
डाटाको प्रयोगको सन्दर्भमा गभर्नर मल्होत्राले बैंकहरुलाई सधैँ निगरानी गर्न प्रविधि विकास गर्न सुझाव दिए।












