काठमाडौं । मानिसहरु क्रिसमस बिदा मनाइरहेका बेला बैंक र अन्य सरकारी संस्थाहरु पनि बन्द थिए। केही चोरीले यो शान्त वातावरणको फाइदा उठाए र सजिलैसँग ठूलो धनराशि बैंकबाट लिएर फरार भए।
बीबीसीमा प्रकाशित खबरअनुसार चोर समूहले एउटा अत्यन्त सुरक्षित मानिने जर्मन बैंकमा सुरुङ खनेर ३ हजार लकर फोडेर साढे ३ करोड डलर (लगभग ५ अर्ब ४ करोड रुपैयाँ) लगेका हुन्। प्रहरीले पश्चिमी जर्मनीको प्रमुख सहर गेल्सेनकिर्चेनमा रहेको स्पार्कासे बचत बैंकमा लकरहरु फोड्न चोरहरुले ठूलो ड्रिल प्रयोग गरेको जनाएको छ। तिनीहरुले बैंकभित्र आफ्नो बाटो बनाए र त्यसपछि लकरबाट पैसा निकालेर फरार भए।
एक प्रहरी प्रवक्ताले चोरीलाई हलिउड फिल्म ‘ओसन इलेभेन’ सँग तुलना गरे। एएफपी समाचार एजेन्सीलाई ती प्रहरी प्रवक्ताले भने, ‘यो अत्यन्त व्यावसायिकताका साथ गरिएको थियो। पैसासँगै बहुमूल्य सामान पनि चोरी भएका छन्।’
डकैतीका क्रममा चोरहरुले नगद, सुन र गहनाहरुले भरिएका ३ हजार भन्दा बढी लकर फुटाएका थिए। सोमबार बिहान फायर अलार्म बजेपछि गेल्सेनकिर्चेन प्रहरीले चोरीका बारेमा सतर्क भएको जनाएको छ। अलार्मले भूमिगत लकर कोठामा जाने सुरुङ पत्ता लगायो। त्यसपछि प्रहरी र अग्नि नियन्त्रकहरुले बैंक रहेको भवनको खोजी गर्न थाले।
डीडब्ल्यूमा प्रकाशित समाचारअनुसार प्रहरीले चोरहरुले बैंकको भूमिगत लकर कोठामा पहुँच प्राप्त गर्न भवनको पार्किङ ग्यारेजमा प्वाल पारेका थिए। यो सुरुङले चोरहरुलाई सिधै लकर कोठामा पुर्यायो। डकैतीपछि चोरहरु त्यही बाटो प्रयोग गरेर बहुमूल्य सामान र नगद लिएर भागे।
यस घटनापछि बैंक बाहिर ग्राहकको भीड जम्मा भएको छ। बैंकका धेरै ग्राहक टर्की मूलका थिए। जसले लकर कोठामा रहेको सेफ–डिपोजिट बक्समा सुन वा सुनका गहना राखेका थिए। उनीहरुको सेफ डिपोजिट बीमा गरिएको छ तर भित्र रहेका वस्तुहरुको मूल्य बीमा रकमभन्दा धेरै बढी छ। अब बीमा कम्पनीहरुले ग्राहकले व्यहोरेका क्षतिको मूल्यांकन गर्ने तयारी गरेका छन्।
प्रभावित ग्राहकलाई स्पार्कासे बैंकमा सम्पर्क गर्न भनिएको छ। बैंकले हेल्पलाइन नम्बर पनि जारी गरेको छ। मंगलबार बैंक बाहिर ग्राहकको ठूलो भीड जम्मा भएको थियो। त्यसैले सुरक्षा उद्देश्यका लागि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो। – एजेन्सीको सहयोगमा


















