IME Life New

शेयर बजारमा किन गयो पहिरो ? यसो भन्छन् जानकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनको करिब एक सातापछि खुलेको शेयर बजारमा बिहीबार ठूलो पहिरो गएको छ। नेप्से परिसूचक १६० अंकले घटेर २५०० को लाइनमा बन्द भएको छ। यो दिन सबै सूचक राताम्मे भएका छन्।

जेनजी आन्दोलनबाट भएको विध्वंश र अन्तरिम सरकारबाट लगानीमैत्री सम्बोधन नआउँदा लगानीकर्ता त्रसित हुँदा आज बजारमा बिक्रीचाप परेको जानकारहरु बताउँछन्। अधिकांश क्षेत्रमा संकट छाइरहेको अवस्थामा शेयर बजार पनि यसरी नै खस्ने हो भने बजारबाट पुँजी पलायन हुने र लगानीको वातावरण बिग्रिने उनीहरुको मत छ। शेयर बजारमा लगानीमैत्री वातावरण सिर्जना गर्न अन्तरिम सरकारले बजारलाई लिएर सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ।

Esewa
Crest

बजार विश्लेषक प्रेम ओली विध्वंशपछि गठित अन्तरिम सरकारले शेयर बजारअनुकूल सम्बोधन नगरेका कारण लगानीकर्ताको मनोबल गिरेको बताउँछन्। ‘अन्तरिम सरकारबाट पुँजीबजारलाई लिएर केही सम्बोधन हुने आशा लगानीकर्तामा थियो तर त्यो भएन’, ओली भन्छन्, ‘त्यही भएर बजारमा आज बिक्रीचाप आयो।’

आज अधिकांश ब्रोकरले लिमिट जिरो बनाइदिँदा पनि बजार लगानीकर्ताले किन्न नपाएको ओलीले बताए। ‘शेयर किन्न नपाएपछि लगानीकर्ताले आज बेचे’, उनले भने, ‘त्यही भएर पनि बजार यसरी घटेको हुन सक्छ।’

अर्कोतर्फ बजार घट्दा बीमा कम्पनी र म्युचुअल फन्डले थाम्ने गरेको ओलीको तर्क छ। ‘तर, बीमा कम्पनीले आफैँ थला परेको अवस्थामा उनीहरुले शेयर उठाएनन्’, उनले भने, ‘म्युचुअल फन्डले पनि बेचे। अनि बजार गिरावट कसरी थामिन्छ ?’

सरकारले १–२ दिनभित्रै लगानीकर्तालाई सम्बोधन गरेको खण्डमा बजारले युटर्न लिन सक्ने ओलीको भनाइ छ।

अर्का बजार जानकार प्रकाश न्यौपाने जेनजी आन्दोलनको प्रभाव शेयर बजारमा परेको बताउँछन्। ‘जेनजी आन्दोलनका क्रममा भएको विध्वंशले लगानीकर्ता आत्तिएका छन्’, उनले भने, ‘त्यही भएर उनीहरुले घाटामै भए पनि शेयर बेच्दा बजार खस्यो।’

अहिलेको चुनावी सरकारलाई लगानीकर्ता नपत्याएको अवस्था रहेको पनि न्यौपाने बताउँछन्। ‘यो सरकारले नीतिगत व्यवस्था कायम गर्नेभन्दा पनि चुनाव सम्पन्न गर्नेतिर ध्यान दिने भन्ने मत लगानीकर्ताको छ’, उनले भने, ‘त्यही भएर बजार केही दिन साइडवेजमै रहला।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

80%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS