काठमाडौं । सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि बैंक तथा बीमा क्षेत्रमा ग्राहकको जोखिमको स्तरका आधारमा विभिन्न तहको ग्राहक पहिचान अनिवार्य हुन्छ। जीवन बीमाको माध्यमबाट सम्पत्ति शुद्धीकरणका घटना वृद्धि भएको तथ्यांकले पुष्टि गरिरहँदा ग्राहक पहिचानसम्बन्धी प्रावधानको पूर्ण पालनामा जीवन बीमक गम्भीर देखिएका छैनन्।
ग्राहक पहिचान फारम (केवाईसी)मा ग्राहकको नाम, ठेगाना, तीनपुस्ते विवरणबाहेकका अन्य महत्वपूर्ण विवरण समावेश गरिएका नै हुँदैनन्। केवाईसी फारममा ग्राहकको एकाघर परिवारका अन्य सदस्यको विवरण, ग्राहकले इच्छ्याएको व्यक्तिको तीनपुस्ते विवरण, ग्राहकबाहेकका अन्य व्यक्तिको नागरिकता नम्बर, बैंक खाता विवरण, मोबाइल नम्बर, ई–मेल ठेगाना, स्थायीसँगै हाल बसोबास गरिरहेको ठेगानालगायतका महत्वपूर्ण र संवेदनशील विवरण केवाईसीमा छुट्याइएको हुन्छ।
नेपाल बीमा प्राधिकरणले स्थलगत अनुगमनका क्रममा बीमकले नाममात्रको केवाईसी विवरण संकलन गरेको फेला परेको छ। प्रारम्भिकस्तरको ग्राहक पहिचानमै लापरबाही गरेका जीवन बीमकले बृहत ग्राहक पहिचान अधुरो र अपुरो अवस्थामा छ।
ग्राहकबाट सम्पत्ति शुद्धीकरण हुनसक्ने जोखिमको आंकलनका आधारमा सामान्य ग्राहक पहिचान, बृहद ग्राहक पहिचान र सघन ग्राहक पहिचान गर्नुपर्छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ सँग सम्बन्धित प्रावधानका कारण बैंक तथा वित्तीय संस्था (बीमकसमेत)ले अनिवार्य रुपमा ग्राहक पहिचान फारम भर्नुपर्छ। बीमा प्राधिकरणले समेत बीमकका लागि पुराना बीमितको हकमा २०७५ चैत मसान्तसम्ममा पहिचान फारम भरिसक्न र नयाँ बीमितको अनिवार्य पहिचान फारम भर्न निर्देशन दिएको थियो।
प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी निर्देशिका, २०७५ को निर्देशन ४(१) मा ग्राहक पहिचानसम्बन्धी प्रावधान छ। यसबाहेक निर्देशन ४(ट) मा कुनै संगठित संस्थाले आफ्ना कर्मचारीको बीमा गराउँदा त्यस्ता बीमितको व्यक्तिगत विवरण लिनुपर्ने प्रावधान छ।
यसैगरी निर्देशन ५(१) क मा उच्च पदस्थ व्यक्ति पहिचान हुने संयन्त्र निर्माण गर्नुपर्ने प्रावधानसमेत छ।
जीवन बीमकको तुलनामा निर्जीवन बीमकमा ग्राहक पहिचानसम्बन्धी कार्यान्वयन राम्रो छ। निर्जीवन बीमकको सीमित र अधिकांश संस्थागत ग्राहक हुने भएकाले पनि जीवन बीमकको तुलनामा ग्राहक पहिचानसम्बन्धी प्रक्रिया पूरा गर्न छरितो र सहज भने अवश्य पनि हुन्छ।
इच्छ्याइएको व्यक्ति बिनाको बीमा प्रस्तावले ल्याएको समस्या
यसबाहेक जीवन बीमालेखमा बीमितको शेषपछि लाभग्राहीको पहिचान गर्नका लागि इच्छ्याइएको व्यक्ति(नोमिनी) सम्बन्धित विवरण अनिवार्य हुनुपर्ने भए पनि अधिकांश बीमा प्रस्तावमा यसबारे केही उल्लेख हुँदैन। त्यसैले बीमालेखमा पनि इच्छ्याइएको व्यक्तिको विवरण उल्लेख गरिने खण्ड रित्तै हुन्छ। यस्तो व्यक्तिको कुनै विवरण उल्लेख नहुँदा बीमितको निधन भएको अवस्थामा लाभग्राहीको पहिचान सम्भव हुँदैन र उनीहरु बीमाको लाभबाट वञ्चित हुनुपर्छ।
जीवन बीमकले बीमालेख प्रस्तावमै यी विवरण समावेश गर्ने र बीमा सफ्टवेयरमा समेत सम्पूर्ण विवरण प्रविष्ट गर्ने अभ्यासलाई संस्थागत रुपमा अनिवार्य नगर्दासम्म बीमाको निहीत लाभबाट एउटा ठूलो हिस्सा वञ्चित हुनुपर्ने अवस्था हुन्छ।
१५ वर्षभन्दा पुराना जीवन बीमा कम्पनीमा बीमित वा लाभग्राहीको अद्यावधिक सम्पर्क नम्बर, ई–मेल ठेगाना वा बसोबासको ठेगाना नहुँदा भुक्तानी दिनुपर्ने अर्ब रुपैयाँभन्दा बढी रकम बीमकको खातामै थन्किएको छ। यसबाट बीमकले ब्याजवापतको लाभ लिए पनि वास्तविक लाभ प्राप्त गर्नुपर्ने लाभग्राही चाहिँ वञ्चित हुनुपरेको अवस्था छ।
बीमा प्राधिकरणका सूचना अधिकारी पूर्णबहादुर थापाले पछिल्लो समय बीमा कम्पनीमा केवाईसीको त्यति धेरै समस्या नरहेको बताए। ‘कम्पनीहरुले ग्राहकको विवरण पूर्ण रुपमै भरेर बीमालेख जारी गरिरहेका छन्’, उनले भने, ‘यदि प्राधिकरणले गरेको सुपरिवक्षेण र अनुगमनका क्रममा कतै समस्या देखिए तत्काल समाधान गर्न निर्देशन दिनेछ।’

















