– प्रेम वली
देशमा प्रजातन्त्र आएपछि सामान्य व्यक्तिले पनि आफ्नो कुरा व्यक्त गर्न पाउँछ। उसले पनि कमाउने मौका पाउन सक्छ। जनताले कमाएर सबै किसिमको सुख–सुविधा किन्न पाउनुपर्छ र भोग्न पाउनुपर्छ। गाडी किन्न सक्छ। महँगा मोबाइल किन्न सक्छ। तर, यस्तो कुरा दरबार र दरबारियालाई मन न पर्न सक्छ। यिनै कुरा आज शेयर बजारमा लागू भएको देखिन्छ। गएको बुलिसमा सर्वसाधारण, विद्यार्थी, गृहिणीदेखि व्यापारीहरुले राम्रो कमाइ गरेका थिए। उनीहरुले बजारमा कमाएर आफ्नो कमाइअनुसार गाडी, घर–जग्गा, महँगा मोबाइल किनेका थिए। बेरोजगार भएको देशमा धेरैले रोजगारी पाएका थिए। तर, यो कुरा शेयर बजारका राजा गभर्नरलाई चित्त बुझिराखेको थिएन। उनले पञ्चायती शैलीमा राजाले जनताको सबै अधिकार खोसेजस्तै लगानीकर्ताका सबै सुविधा खोसे। लगानीकर्तामाथि ४–१२ को नियम लादे। १०० प्रतिशतको जोखिमभारलाई १५० प्रतिशत पुर्याए। व्यक्तिले ऋण लिने कुरामा पञ्चायतीशैलीभन्दा कडा भए।
के शेयर बजार सतप्रतिशत जोखिम हो या यो नेपालमा मात्र जोखिम हो ? हिजो २५–३० हजार इन्डेक्स भएको भारतको शेयर बजारले आज ८० हजार कट्दा के त्यहाँ जोखिम नै नभएको हो ? कि भारतमा सर्वसाधारण नै आउँदैनन् शेयर बजारमा ? लगानी क्षेत्रमा कहाँ छैन जोखिम ? नेपालमा जग्गामा लगानी लगाउने अवस्था कस्तो भयो भनेर गभर्नरले नबुझेका हुन् ? उद्योगधन्दा चलाउने पनि टाट पल्टेको कुरा गभर्नरलाई अझै थाहा नभएको कुरा हो ? आज भारतमा १० रुपैयाँको शेयर दसौँ हजारमा किन्नेहरु पनि छन्। त्यो जोखिम हैन ?
सबै मान्छे सबै सेक्टरमा हुँदैनन्। कोही उद्योगतिर लाग्छन्। कोही रियल स्टेटतिर लाग्छन्। कोही यो शेयर बजारतिर लाग्छन्। हरेक क्षेत्रको लगानी जोखिम छन्। थुप्रै बैंकका १०० रुपैयाँको प्रमोटर शेयर २० रुपैयाँ पनि त बेच्नुपरेको नेपालमै इतिहास छ। थुप्रै बैंक र विकास बैंक नेपालमै बन्द भए। त्यसो भए बैंक खोल्नु नै भएन !
आज सरकारले सयौँ हाइड्रोमा लगानी गर्न लगाएको छ, लाइसेन्स दिएर। के हाइड्रोमा जोखिम नै छैन भनेर लगानी गर्न दिएको हो ? हाइड्रोमा खर्बौं रकम बैंकको लगानी छ। के त्यो सबै जोखिममुक्त छ ?
शेयर बजार जति अन्य क्षेत्रतिर जोखिम छ, त्यो भन्दा पनि धेरै राम्रो पक्ष पनि छन्। आज हाइड्रोलगायत थुप्रै कम्पनीले आइपीओ र राइट शेयर जारी गरेर रकम संकलन गर्ने काम यही बजारले गरेको छ। कतिले यही शेयर बजारका कारण संस्थागत लगानी गर्ने गरेका छन्। के शेयर बजार नभएको त्यो कुरा सम्भव थियो ? यही शेयर बजारले गर्दा नै निजी कम्पनी पब्लिक कम्पनीमा गएका छन्। कैयौँ निजी कम्पनीमा सानो लगानी भए पनि सर्वसाधरणले लगानी गर्न पाएका छन्। त्यतिकै खर्च हुने पैसा लगानीका रुपमा प्रयोग भएको छ। बचत भएको छ। शेयर बजारबाहेक कहाँ छ १ हजार लगानी गर्न सकिने ठाउँ ? यसले मान्छेको पैसो जोगाउने काम गरेको छ। मान्छेलाई लगानी गर्ने अभ्यास सिकाएको छ।
मान्छेलाई सस्तोमा आर्थिक ज्ञान दिएको छ। साँच्चै लाखौँ तिरेर लिएको डिग्रीभन्दा ठूलो आर्थिक ज्ञान शेयर बजारले दिएको छ। सरकार काम यसबारे जनतालाई शिक्षा दिने हो। धेरैभन्दा धेरैलाई दक्ष बनाउने हो। फेरि जन्मनेबित्तिकै कसले सिकेको हुन्छ र ? पौडी खेल्न सिक्नलाई पोखरीमा त हाम फल्नै पर्छ नि। पौडी सिक्न चाहनेले २–४ घुट्का पानी त खान्छ नै। तर, पौडी खेल्नु नै गलत हो भन्नु त भएन नि।
आज हाइड्रोमा पैसा उठाएर कति हर्ताकर्ता व्यक्तिले जनताको पैसामा मोज गरिराखेका छन्। कैयौँ वर्ष बितिसक्दा पनि ती हाइड्रोपावर कहिले बन्ने पत्तो छैन तर जनताको लगानी भइसकेको अवस्था छ। त्यो लगानी चिन्ता गभर्नरलाई खोइ ? कसैलाई उसको क्षमता हुँदाहुँदै तैँले ऋण पाउँदैनस् भन्नु मानवअधिकार हनन हो भने त्यो पञ्चयतीशैली हो। त्यसकारण गभर्नरले जे–जे लगानीकर्ताको नासो लिएका थिए, त्यो सब तत्कालीन राजा ज्ञानेन्द्रले फिर्दा गरेको जस्तो लगानीकर्तालाई फिर्ता गर्नुपर्छ। यसलाई सरकारले विशेष चासोका साथ लिनुपर्छ।
अर्थमन्त्री बनेर विष्णु पौडेल आउँदा लगानीकर्ताको बजारप्रति विश्वास बढेको छ। अब सरकारले शेयर बजार र लगानीकर्ताको समस्याको सुनुवाइ गर्नुपर्छ। बजारलाई आफ्नो बाटो हिँड्न दिनुपर्छ। कसैको हातमा यसको रिमोट दिनु हुँदैन। बजार बिगार्नेको बजार सुधार्ने पनि जिम्मेवारी हुन्छ।
संसारका हरेक देशका शेयर बजारमा सर्वसाधारण हुन्छन्। त्यहाँ पनि कोही कमाउँछन् त कोही गुमाउँछन्। यहाँ गभर्नरले ठेक्का पाएका हुन् भने खेती–किसानीमा डुबेका लगानीको उद्धार खोइ गरेको ? खेतीपाती गर्नु पनि जोखिम हो। बाख्रापालनमा जोखिम छैन ? ऋण लिएर पशुपालन गर्नेको उठीबास भएको छ। के सरकारले त्यो जोखिम बोकिदिएको छ ? आज करोडौँ तिरेर कति ठूलो रिस्क लिएर कैयौँ नेपाली गैरकानुनी बाटो अमेरिका हिँडिराखेका छन्। के ती सबै पुगिरहेका छन्। पुगेर पनि त जोखिम होला नि। खोइ त गभर्नरज्यूको चासो ?
यहाँ सर्वसाधारणको नाममा गभर्नरले होस् वा सरकारले शेयर बजारमा भाजो हालेको जस्तो देखिन्छ ? आज थुप्रै वर्षदेखि सर्वसाधारण लगानीकर्ताले बजार सुधार तथा व्यवस्थापनका लागि माग राखेका छन् तर खोइ सुनुवाइ भएको ?
(लेखक वली लामो समयदेखि शेयर बजारमा सक्रिय लगानीकर्ताका रुपमा रहेका छन्। यो लेख उनको व्यक्तिगत विचार हो।)