IME Life New

वैदेशिक म्यादी बीमामा पुल लागू भएपछि बीमकको झन्डै रु. ७० करोड बचत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमालेख एकद्वार प्रणालीमार्फत बिक्री गर्ने सहमतिसँगै जीवन बीमकले वार्षिक करिब ७० करोड रुपैयाँ बचत गर्ने भएका छन्। बीमालेख बिक्री गर्नका लागि अप्रत्यक्ष रुपमा वितरण गर्दै आएको कमिसन रकम र जनशक्तिबापतको खर्च रकम बचत हुने भएको हो।

बीमालेख बिक्रीका लागि वैदेशिक रोजगार कम्पनी र म्यानपावर दलाललाई प्रभावमा पार्न जीवन बीमकले प्रतिबीमालेख ६०० रुपैयाँदेखि १ हजार ३५० रुपैयाँसम्म कमिसन दिंदै आएका थिए। अन्य परम्परागत बीमालेख बिक्रीका लागि निक्कै मेहनत गर्नुपर्नेमा वैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्य गरिएकाले यसको व्यापार खर्चिलो भए पनि बीमकका लागि सहज व्यापार थियो। यसमा जीवन बीमकको व्यावसायिक ख्यातिभन्दा पनि म्यानपावर कम्पनीलाई जसले जति बढी कमिसन दियो, उति नै बढी व्यापार कुम्ल्याउन सक्ने अवस्था थियो।

Crest

‘वैदेशिक रोजगार बीमामा बीमकको साख वा व्यापार रणनीति गौण हुन्छ’, एक बीमकले भने, ‘यसमा म्यानपावर कम्पनीलाई जसले जति बढी पैसा फ्याँक्न सक्यो, उसले उति नै बढी व्यापार कुम्ल्याउने हो।’ वैदेशिक रोजगार बीमाको व्यापारमा अदृश्य खर्च उच्च हुने भएकाले नै केही जीवन बीमकले यो व्यापारबाट आफूलाई टाढा नै राखेका छन्।

म्यानपावर कम्पनीले सर्वाधिक कमिसन रकम दिने बीमकलाई नै व्यापार दिलाउने भएपछि बीमकले बोलकबोल गरेझैँ सुरुआतमा १०० रुपैयाँबाट सुरु गरेको कमिसन वितरण क्रमशः बढ्दै गएर पछिल्लो समयमा गत असार महिनामा १ हजार ३५० रुपैयाँसम्म पुगेको थियो।

म्यानपावर कम्पनीलाई हाबी हुन नदिन बढीमा ६०० रुपैयाँसम्म मात्र कमिसन उपलब्ध गराउनका लागि जीवन बीमकको प्रमुख कार्यकारी अधिकृतहरुबीच पटक–पटक सहमति भए पनि व्यवहारमा भने सबैले सहमतिभन्दा अधिक कमिसन बाँडेर म्यानपावर एजेन्सीलाई तान्ने प्रयास जारी राखेका थिए।

एउटा बीमकले गोप्य रुपमा उपलब्ध गराएको प्रोमो कोडलाई तत्कालै म्यानपावर कम्पनीले स्क्रिन सट वा मोबाइल स्क्रिनमा प्रत्यक्ष रुपमा देखाएरै मोलतोल गर्थे र भन्थे, ‘फलानोले यतिसम्म दिई रहेको छ, तपाइँले कति दिने ?’

४ हजार रुपैयाँ बीमाशुल्कबाट ५० प्रतिशतसम्म म्यानपावरले नै कमिसनबापत लैजाँदा बीमकलाई अनावश्यक आर्थिक भार पर्ने गरेको छ। अब पुनः पुल प्रणालीमार्फत बीमालेख बिक्री हुँदा म्यानवापर एजेन्सीको अवैध कमाई भने ठप्प हुनेछ। अर्कोतर्फ बीमाशुल्कबापतको सबै रकम आम्दानी हुने भएपछि वैदेशिक रोजगार बीमामा बीमकको जोखिम बहन लागत पनि ह्वात्तै घट्नेछ।

वैदेशिक रोजगार बीमामा नेपाल बीमा प्राधिकरणले बीमाशुल्क सस्तो बनाउन अभिकर्ताको कमिसन शून्य बनाएको छ। विद्युतीय माध्यमबाट बीमाशुल्क भुक्तानीका लागि प्रतिबीमालेख अधिकत्तम १० रुपैयाँसम्म सेवाशुल्क निर्धारण गरिएको छ। पुल प्रणालीमार्फत बीमालेख जारी हुने भएपछि प्राधिकरणले निर्धारण गरेको भन्दा अतिरिक्त खर्च कटौती हुनेछ।

गत आवमा १० वटा जीवन बीमा कम्पनीले वैदेशिक म्यादी बीमालेखको बिक्रीबापत ३ अर्ब १२ करोड ६८ लाख २४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। वैदेशिक रोजगार विभागले गत आवमा कुल ७ लाख ११ हजार श्रम स्वीकृति जारी गरेको थियो। श्रम स्वीकृति लिएर विदेशिने सबै श्रमिकले हवाईमार्गबाट विदेश प्रस्थान गर्नुअघि अनिवार्य रुपमा वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

20%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS