GBIME
IME Life

वैदेशिक रोजगार बचतपत्र देखिएन आकर्षण, कुल निष्कासनको ५% मात्र बिक्री

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले जारी गर्ने वैदेशिक रोजगार बचतपत्र खासै आकर्षण नबढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै गरेको अध्ययनबाट यस्तो देखिएको हो।

राष्ट्र बैंकले आज जारी गरेको अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०६६।६७ देखि २०७९।८० सम्म २५ पटक गरी जम्मा रु. १५ अर्ब ५६ करोड वैदेशिक रोजगार बचतपत्र आह्वान भएकोमा जम्मा रु. ७६ करोड २३ लाख (४.९ प्रतिशत) मात्र बिक्री भएको छ। विगत १० वर्षमा कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको योगदान औसत ०.०६ प्रतिशतमात्र रहेको प्रतिवेदनमा उल्लेख छ।

SKYWELL
Crest

नेपाली नागरिकको वैदेशिक रोजगारीमा आकर्षण बढिरहेको सन्दर्भमा एकातर्फ विप्रेषण आय बैंकिङ प्रणालीबाट भित्र्याउन प्रोत्साहित गर्ने र अर्कोतर्फ सरकारको आन्तरिक ऋण परिचालनमा समेत योगदान पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०६६÷६७ देखि वैदेशिक रोजगार बचतपत्रको सुरुआत भएको हो। वैदेशिक रोजगार बचतपत्र आकर्षक बनाउन यसको ब्याजदर तुलनात्मक रुपमा उच्च हुने गरेको छ। यस्तो बचतपत्र आवश्यकताअनुसार तत्काल बिक्री गर्न वा बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखी कर्जा लिन सकिने व्यवस्था छ।

वैदेशिक रोजगार बचतपत्र अपेक्षित रुपमा परिचालन हुन नसकेको सन्दर्भमा प्रवर्द्धनका उपायहरु सुझाउनु अध्ययनको मूल उद्देश्य रहेको छ। अध्ययनमा वैदेशिक रोजगार बचतपत्र परिचालन स्थिति तथा योगदानको समग्र विश्लेषण गर्दै बचतपत्रबारे जानकारी, खरिद गर्ने तत्परता, खरिद गर्न चाहने नचाहने कारण र प्रवर्द्धनका उपायहरुको विश्लेषणका लागि तीन प्रकारका सर्वेक्षण सम्पन्न गरिएको राष्ट्र बैंकले जनाएको छ।

वैदेशिक रोजगारीबाट फर्किएका वा पुनः जान लागेका ३८५ नेपाली नागरिकसँग स्थलगत सर्वेक्षण, वैदेशिक रोजगारीमा पठाउने ७० म्यानपावर कम्पनीलाई टेलिफोन सर्वेक्षण र बचतपत्र बिक्री गर्न इजाजतपत्र प्राप्त १६ बिक्री एजेन्टहरुसँग ई–मेल सर्वेक्षणका आधारमा अध्ययन गरिएको केन्द्रीय बैंकले जनाएको छ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क, म्यानपावर कम्पनी र श्रम विभागमा तथा काठमाडौंबाहिरका झापा–काँकडभिट्टा, वीरगन्ज–रक्सौल, भैरहवा–सुनौली र धनगढी–गौरीफन्टाका नाकाहरुमा वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका ३८५ नेपाली नागरिकसँग सम्पन्न स्थलगत सर्वेक्षणमा करिब ३० प्रतिशत व्यक्ति पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका र १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रका बारेमा जानकारी रहेको पाइएको छ। तर, जानकारी भएकाले पनि यस्तो बचतपत्र खरिद गरेको देखिएन।

वैदेशिक रोजगार बचतपत्रका बारेमा जानकारी भएर पनि खरिद नगरेका व्यक्तिमध्ये ३९.५ प्रतिशतले पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झन्झटिलो भएको, १२.५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकमको अभाव रहेको र बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनुपर्ने कारण उल्लेख गरेको प्रतिवेदनमा जनाइएको छ।

वैदेशिक रोजगार बचतपत्रको बिक्री एजेन्टका १६ प्रतिनिधिसँग गरिएको ई–मेल सर्वेक्षणअनुसार ६२.५ प्रतिशतले रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार बचतपत्रका बारेमा सोधनी गरेको तर खरिदमा तत्परता नदेखाउने गरेको उल्लेख गरेका छन्। त्यसैगरी, काठमाडौंस्थित विभिन्न ७० म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधिसंँग सम्पन्न टेलिफोन सर्वेक्षणअनुसार २४.३ प्रतिशतले वैदेशिक रोजगार बचतपत्रका बारेमा जानकारी भएको र १२.८ प्रतिशतले सोधपुछ गर्ने गरेको बताएका छन्।

यस अध्ययनले वैदेशिक रोजगार बचतपत्र प्रवर्द्धनका लागि नीतिगत तथा प्रक्रियागत सुधार र प्रचार–प्रसारमा जोड दिनुपर्ने आवश्यकता औँल्याएको छ।

नीतिगत सुधार

  • वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण गर्नुका साथै परिपक्व भएको साँवा र ब्याज खरिदकर्ताको बैंक खातामा प्राप्त हुने व्यवस्था मिलाउने।
  • वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले विदेशस्थित विदेशी मुद्राको बैंक खाताबाट समेत खरिद गर्न पाउने व्यवस्था मिलाउने। यद्यपि, कतिपय मुलुकहरुको कानुनले यस्तो बन्देज लगाएको सन्दर्भमा श्रम सम्झौतामा समावेश गरी लगानी गर्न सक्ने व्यवस्था मिलाउन पहल गर्ने।
  • नेपाल सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचपतत्र छुट्टा छुट्टै निकाल्नुभन्दा एकै प्रकारको बचतपत्रको व्यवस्था गर्ने तर गैरआवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीलाई बचतपत्र खरिदमा विनिमयदरमार्फत सहुलियत दिने।
  • सरकारले बजेट घाटा परिपूर्तिका लागि बचतपत्र निष्कासन गर्ने प्रचलन रहेकोमा आगामी वर्षहरुमा मुलुकको सर्वाधिक महत्वका पूर्वाधार आयोजना लक्षित वित्तीय साधन जुटाउन बचतपत्र निष्काशन गर्ने।

प्रक्रियागत सुधार

  • बचतपत्रको आर्जित ब्याज र परिपक्व भएको साँवा बचतपत्र धनीको बैंक खातामा सोझै उपलब्ध हुने व्यवस्था मिलाउने।
  • बचतपत्रको प्रमाणपत्र तत्काल उपलब्ध हुने वा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाउने।
  • हाल बचतपत्र वर्षको एकपटक छोटो अवधिका लागिमात्र आव्हान हुने गरेकोमा आर्थिक वर्षको सुरुमा निष्कासन गर्ने र आह्वान रकम बिक्री नभएसम्म खुला रहने व्यवस्था मिलाउने।

प्रचार–प्रसारमा जोड दिने

  • सामाजिक सञ्जालको उपयोग गरी वैदेशिक रोजगार बचतपत्रको प्रचार–प्रसार व्यापक बनाउने।
  • नेपालबाट वैदेशिक रोजगारीका आकर्षक गन्तव्य रहेका मुलुकस्थित नेपालका कूटनीतिक नियोगमार्फत वैदेशिक रोजगार बचतपत्रको प्रचार–प्रसारमा तीव्रता दिने।
  • रोजगारीमा जाने व्यक्तिलाई श्रम विभाग, वैदेशिक रोजगार कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम डेस्कमार्फत वैदेशिक रोजगार बचतपत्रको फाइदाका सम्बन्धमा ब्रोसर वा पुस्तिकाका माध्यमबाट जानकारी गराई प्रचार–प्रसार गर्ने।
  • रोजगारीमा जाने व्यक्तिका लागि आयोजना गरिने अभिमुखीकरण तालिममा वैदेशिक रोजगार बचतपत्रको जानकारी अनिवार्य बनाउने।
  • REPORT-FINAL nrb

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS