काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका सीईओ हुन्, मनोज कुमार लाल कर्ण। साविक युनियन, प्राइम र गुराँस लाइफ मर्ज भएर बनेको हिमालयन लाइफको सीईओमा २०८० जेठ ५ गते कर्ण नियुक्त भएका हुन्। कर्ण जीवन र निर्जीवन दुवै बीमा क्षेत्रका विज्ञका रुपमा परिचित छन्। उनी विगत साढे २ दशकभन्दा बढी समयदेखि बीमा क्षेत्रमा सक्रिय छन्। एमबीए उपाधि हासिल गरेका कर्ण बीमा क्षेत्रमा सबल र सक्षम उच्च व्यवस्थापकका रुपमा पनि चिनिन्छन्। उनै सीईओ कर्णसँग इन्स्योरेन्स टकमा जीवन बीमा क्षेत्रका अवसर, चुनौती र भविष्यका विषयमा गरिएको कुराकानीको सारसंक्षेपः
व्यापार–व्यवसायले यसपालि कत्तिको शान्ति दियो ?
एकदमै राम्रो। जुन हिसाबले सोचेका थियौँ, त्यो हिसाबले राम्रो नतिजा दियो। मुख्य कुरा मर्ज थियो। यसको कारणले केही असर परेको थियो। सुरुमा जुन हिसाबले सोचेका थियौँ, पछि राम्रो भयो। त्यसकारण करिब १२ प्रतिशतको वृद्धि गर्न सफल भयौँ।
भनेपछि समग्र इन्डस्ट्री एभरेजभन्दा तपाइँहरुको कम्पनीको वृद्धि राम्रो भयो ?
हल्का। त्यो भनेको इन्डस्ट्री एभरेज ९–१० प्रतिशत हाराहारी छ। हाम्रो १२ प्रतिशत छ। यो राम्रै हो।
मर्जरपछि जुन सिनर्जीको अपेक्षा थियो, त्यो प्राप्त भयो कि ?
सुरु–सुरुमा त्यस्तो देखिएको थिएन। तर, विस्तारै–विस्तारै सिनर्जी राम्रो हुन थाल्यो। जेठ–असारबाट यो विस्तारै राम्रो देखिन थाल्यो। मलाई लाग्छ, साउनदेखि झनै राम्रो देखिन्छ।
इन्स्योरेन्स इन्डस्ट्रीले गज्जबै गर्यो है। सबैतिर नकारात्मक अवस्था सिर्जना हुँदा यस क्षेत्रको व्यापार भने झन्डै दोहोरो अंकले बढ्यो। कसरी सम्भव भयो यस्तो ?
अहिले यो बजार खाली छ। इन्स्योरेन्स सबैलाई चाहिन्छ। जसरी खाना, कपडा वा घर चाहियो, त्यसैगरी बीमा चाहियो। जसरी घर नहुँदा हामी अपुरो अधुरो हुन्छौँ, त्यसैगरी जीवनमा बीमा नहुँदा पनि हामी अँध्यारो र अँधुरो हुन्छौँ। त्यसैले बीमा हरेकको जीवनमा चाहिन्छ भन्ने सर्वसाधारणले बुझ्दै गएका छन्। त्यसैले यो बढिरहेको हो। अहिले बीमा आधारभूत आवश्यकतामा आइसकेको छ। अब कुनै रिसेसनले यसलाई प्रभाव पार्न सक्दैन। हामी रिसेसनमा पनि खाना त खान्छौँ नि।
बीमा आधारभूत आवश्यकतामा कसरी आयो ? अलिकति स्पष्ट पारिदिनुस् न।
तपाइँ जति पैसा कमाउनुहुन्छ, त्यसको सुरक्षाका लागि इन्स्योरेन्स चाहियो। बीमा पैसा नहुनेलाई पनि र हुनेलाई पनि चाहिन्छ।
नहुनेले चाहिँ बीमा कसरी गर्छ ?
बीमा पैसा नहुने हरेकले गर्न सक्छ। तपाइँ खाना त खाइरहनुभएको छ। काम गरिरहनुभएको छ। अब २९ दिनसम्म खर्च गरेर १ दिनको ५०० रुपैयाँमात्रै पनि बचाइदिनुभयो भने तपाइँले बीमा गर्न सक्नुहुन्छ। १५ वर्षको करिब १ लाख रुपैयाँ बचत हुन्छ। त्यसमा बोनससमेत जोडेर लिएपछि सामान्य पसल सञ्चालन गर्न सकिन्छ। यसबाट निर्वाह हुन सक्छ।
तर, तपाइँहरु पोलिसी नै ५–७ लाख रुपैयाँ घटीको बेच्नुहुँदैन नि ?
होइन, होइन। बीमा आफ्नो हैसियत हेरेर बीमा गर्ने हो। मानिसको आवश्यकताअनुसार बीमा गर्ने हो।
तपाइँहरुको कतिसम्मको पोलिसी छ त यसका लागि ?
स्वभाविक रुपमा एभरेजमा हाम्रो हिमालयन लाइफमा अलि उच्च नै छ, ७ लाख रुपैयाँ हाराहारीमा छ।
एकदमै न्यून आय गर्ने मानिसले म बीमा गर्छु भन्यो भने तपाइँले वर्षमा यति तिर्नुपर्छ कम्तीमा भन्ने पोलिसी होला नि त तपाइँहरुसँग ?
हरेकले बीमा गर्न सक्छ। तपाइँ एउटा अन्दाज गर्नुस् त, १ लाखको बीमा गर्दा करिब–करिब २० वर्षमा ५ हजार हुन्छ। जुन महिनाको ४०० रुपैयाँ हो। अब त्यसलाई दैनिक रुपमा हेर्नुस् त। करिब १५ रुपैयाँ त हरेकले बचत गर्न सक्छ।
तपाइँले आधारभूत आवश्यकताको कुरा गर्नुभयो। तर, तपाइँका अभिकर्ताहरु शिशु जन्मिन पाएको हुँदैन, विभिन्न दबाब वा प्रलोभन दिएर, फकाएर बीमा गराउन मरिहत्ते गर्छन्। आधारभूत आवश्यकता त कसरी भयो र ?
यो यदाकदा अभिकर्ताले टार्गेट मिट हुन्छ भनेर भन्छ। नत्र प्रायःले यस्तो भन्दैनन्। आफ्नो आफन्तलाई चाहिँ उसले त्यसो भन्छ। अरुलाई त्यस्तो भन्दा त बीमा नै गर्दैनन् नि। त्यसकारण उसले यस्तो भन्न सक्दैन।
कुरा आइहाल्यो, बीमा प्राधिकरणले आफ्नाहरुको बीमा गराउन त रोक लगाइहाल्यो है ?
एकाघर परिवारको बीमा गर्न प्राधिकरणले नदिएको हो। बाँकी आफ्ना भनेको मामा घर दिदीलगायतका परिवारलाई बीमा गराउन अभिकर्ताले पाउँछ। प्राधिकरणको यस निर्देशनले हामीलाई केही अप्ठ्यारो पारेको छ। कुनै संस्थाले ल्याउने नियम आफैँमा सही हुन्छ। तपाइँ हामी नै घरमा वा अफिसमा १० पटक सोचेर कुनै कुरा गर्छौं भने त्यो ९० प्रतिशत सही हुन्छ। केही विकृतिहरु हटाउनका लागि बीमा प्राधिकरणले यो नीति ल्याएको हो भने धेरै राम्रो हो। तर, अघि जुन टार्गेटको कुरा गर्नुभयो त्यो चाहिँ एकदमै कम हुन्छ। एकदमै नजिकको मान्छेलाई उसले भन्न सक्छ। सामान्यतयाः यस्तो कम हुन्छ। अभिकर्ताहरुले पनि यसलाई बुझाउनुपर्छ।
तपाइँहरु पोलिसी फाइनल गर्ने बेला के–के कुरा हेर्नुहुन्छ ?
बजारमा यो पोलिसी चल्छ कि चल्दैन, यो पोलिसीमा कतिसम्म खर्च गर्न सकिन्छ भन्ने कुरा हामी हेर्छौं।
खर्च त डेन्टिङ पेन्टिङ गरेर नि बढाइदिनु हुन्छ है ?
त्यो गर्यो भने कम्पनी बाँच्न सक्दैन। त्यसमा टेक्निकल नोट हुन्छ। जुन एक्चुरिअल भ्यालुएसन भएको हुन्छ। त्यसमा पूरै प्रस्ट लेखिएको हुन्छ कि तपाइँले यतिमात्रै खर्च गर्न सक्नुहुन्छ। यसभन्दा धेरै खर्च गर्नेबित्तिकै तपाइँलाई ठूलो असर पर्छ। हामीलाई खर्च गर्ने सिलिङ दिइएको हुन्छ। त्यही हिसाबले यसको दर निर्धारण गर्नुपर्ने हुन्छ।
आजका दिनमा तपाइँका कम्पनीसँग त घाटाका प्रडक्ट छैनन् ?
हामीसँग घाटाको प्रडक्ट छैन। मैले अहिले युनियन लाइफ भन्न त मिल्दैन। हामी मर्ज भएर हिमालयन लाइफ भइसकेका छौँ। तर, म युनियन लाइफमा हुँदा बीमा प्राधिकरणले ‘फ्युचर बोनस प्रोभिजन’ ५ वर्षमा ५० प्रतिशत गर्नु भन्यो। हामीले धेरै प्रडक्टमा १०० प्रतिशत र प्रायःजसो प्रडक्टमा ७५–८० प्रतिशत फ्युचर बोनस प्रोभिजन गरेका छाँै। किनकि कम्पनीलाई भविष्यमा कसरी बढाउने भन्ने पनि कुरा हो। पछि नयाँ सीईओ आउँदा उहाँलाई यो नलागोस् कि कम्पनी खराब छ। अहिले २५ गतेसम्मको भ्यालुएसन भएको छ। जसमा ५ वटा प्रडक्टमा ९८ देखि १०० प्रतिशतसम्म फ्युचर बोनस प्रोभिजन गरिएको छ।
फ्युचर बोनस प्रोभिजनको कुरा आइहाल्यो। तपाइँले गर्ने फ्युचर बोनस प्रोभिजनले बीमितको हितमा कहाँ छुन्छ ? तपाइँका लगानीकर्ता र कम्पनीको वित्तीय स्वास्थ्यलाई कहाँ–कहाँ छुन्छ ?
फ्युचर बोनस प्रोभिजन गर्दा गर्दै पनि १.७३ सल्भेन्सी छ। जब कि १.५ हुनुपर्नेमा त्योभन्दा बढी छ। यो प्रोभिजन गर्दा कम्पनी बलियो हुन्छ। कम्पनी बलियो हुँदा शेयरहोल्डर र बीमितलाई पनि फाइदा हुन्छ। कहिलेकाहीँ ठूलो दूर्घटना हुन सक्छ, त्यस्तो अवस्थामा कम्पनी बलियो हुनुपर्छ। त्यसका लागि नै फ्युचर बोनस प्रोभिजन ल्याइएको हो। कम्पनी बलियो हुँदा लगानीकर्तालाई फाइदा त हुने नै भयो।
तपाइँ एउटा कम्पनीको नेतृत्व गर्दै हुनुहुन्थ्यो। त्यत्रै–त्यत्रै आकारका अरु २ कम्पनी मिलेर ३ वटा बन्यो। ३ वटै कम्पनीको एकीकृत नाम हिमालयन लाइफ इन्स्योरेन्स भयो। ३ थरी लगानीकर्ता, ३ थरी अभिकर्ता, ३ थरी पोलिसी र ३ थरी कर्मचारी मिलाएर लैजान कत्तिको गाह्रो रहेछ ?
केही गाह्रो भएन। सबैभन्दा पहिले के बुझ्नुपर्छ भने सीईओ पानी हो भन्ने बुझ्नुपर्छ। जुन रङमा हालिदियो, त्यही रङ बन्न सक्नुपर्छ। मैले यहाँ बसेर सबैसँग घुलिन सक्नुपर्छ। कसैलाई काखा–पाखा गरियो भने त पानी बन्न सकिएन। पानीले काखा–पाखा गर्दैन। पफर्मेन्सलाई हेरेर विगतका कम्पनी हेर्नुहुँदैन। मैले साढे ४०० शाखालाई ३ महिनाभित्रै साढे २१७ मा झारेँ। कर्मचारी पनि मैले सहजै मिलाएँ। ३ वटै सीईओ मिलेर खाका बनायौँ। हामीले कर्मचारी पनि एकैदिनमा सेटअप गरेका थियौँ। हामीकहाँ बोर्डमा पनि र कर्मचारीमा पनि समस्या छैन।
तपाइँहरु बोनस दरमा बीमितलाई झुक्याउनुहुन्छ भन्ने आरोप छ नि ?
यो झुक्याउने, नझुक्याउने न तपाइँको हातमा न मेरो हातमा। तर, कुनै कुनै प्रडक्टमा त ९० सम्म छ। कुनै ६७, कुनै प्रडक्टा ५० पनि छ। कम्पनीको प्रगति, व्यवस्थापनलगायत सबै राम्रो छ।
एउटा नागरिकसँग अलि–अलि पैसा छ। ऊसँग त्यो पैसा कहाँ लगानी गर्ने भन्ने थुप्रै विकल्प छन्। विकल्प धेरै हुँदा पनि बीमा पोलिसी खरिद चाहिँ किन गर्ने ?
सबै काम गर्नुपर्छ। हरेकको आ–आफ्नो ठाउँमा महत्व छ। त्यस्तै इन्स्योरेन्सको पनि आफ्नै महत्व छ। तपाइँको आम्दानीबाट थोरै रकम निकालेर बीमा गर्नुपर्छ। तपाइँ खाना खानुहुन्छ, औषधि खानुहुन्छ, घरभाडा तिर्नुपर्छ। यी सबैको सुरक्षाका लागि तपाइँले १० प्रतिशत छुट्याउनै पर्छ। यही १० प्रतिशतले तपाइँको ९० प्रतिशतको सुरक्षा गर्छ।
प्रडक्ट चाहिँ कसरी छान्ने त ?
तपाइँको उमेर र आवश्यकताअनुसार प्रडक्ट छान्नुपर्छ। तपाइँ अलि बढी उमेरको हुनुहुन्छ भने इन्डोरमेन्ट र होल लाइफ मिश्रण भएको लिँदा राम्रो हुन्छ। किनकि ७० वर्षमा दुर्घटनाको कभर हुन्छ। त्यसपछि मृत्यु भयो भने आश्रितले पाउँछन्।
कम्पनी चाहिँ कसरी छान्ने ?
१४ वटा जीवन बीमा कम्पनीमध्ये जुनमा बीमा गराउँदा पनि हुन्छ। तपाइँले इमान्दार साथ दाबी गर्नुहुन्छ भने १४ वटै कम्पनीले दाबी भुक्तानी गर्छन्। नाता प्रमाणितलगायतका कागजात आवश्यक पर्ने हुँदामात्रै दाबी भुक्तानीमा समय लाग्ने हो।