काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्, कवि फुयाँल। करिब ४ वर्षदेखि फुयाँलले कम्पनीको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन्। फुयाँलकै व्यवस्थापकीय नेतृत्वमा कम्पनीले व्यापार वृद्धि लगायत अधिकांश वित्तीय सूचकमा प्रगति हासिल गरेको छ। लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय फुयाँल एक कुशल व्यवस्थापकका रुपमा परिचित छन्। उनै सीईओ फुयाँलसँग जीवन बीमा क्षेत्रमा रहेका चुनौती र अवसरका विषयमा ‘इन्स्योरेन्स टक’मा भएको कुराकानीको सार संक्षेपः
एक नागरिक, जोसँग ५०–६० हजार रुपैयाँ छ। ऊ त्यो पैसा के गरौँ के गरौँ भनेर सोचिरहेको छ। ऊसँग नियमित रुपमा तिर्ने क्षमता पनि छ। यस्तो अवस्थामा उसले बीमा चाहिँ किन गर्ने ?
साधारणतया बीमाका बारेमा बुझ्नुपर्ने कुराहरु धेरै छ। बीमाले तपाइँको जीवनमा आउने तीनवटा सम्भावनाका लागि वित्तीय व्यवस्थापन गर्छ। तपाइँको जिन्दगीमा तीनवटा सम्भावना त हुन्छन् नै। जो कोही जन्मिसकेपछि लामो आयु बाँच्छौँ भन्ने पहिलो सम्भावना, बीचमा जीवनमा विभिन्न खालका जोखिम हुन सक्छन्। दुर्घटनाहरु हुन सक्छन्, जुन दोस्रो सम्भावना भयो।
अर्को भनेको तपाइँको मृत्युको सम्भावना हुन्छ, जुन अकालमै हुन सक्छ। यस्ता तीन खालका सम्भावनालाई ख्याल गर्दै अगाडि बढ्ने औजार हो बीमा। बीमा किन गर्ने त ? भन्ने तपाइँको प्रश्न जुन छ, यस्ता सम्भावना वा जोखिमलाई कम गर्ने औजारका रुपमा बीमा गर्नुपर्ने हुन्छ। मानिसका आवश्यकता पनि हुन सक्छन्। मानिस जन्मिने हुर्कने, पढ्ने, बिहेबारी गर्ने, बालबच्चा जन्माउने हुर्काउनेजस्ता प्राथमिकतामा सहजीकरण गर्ने औजारको रुपमा बीमालाई लिनुपर्छ।
मानौँ कि एउटा परिवारमा नवजात शिशुको जन्म भयो। उसको भविष्य सुरक्षित होस् भनेर सोच्ने अभिभावकले किन बीमा गर्ने ?
धेरैजसो मानिसलाई एउटा प्रश्न सोध्नुभयो भने त्यो घरमा सबैभन्दा ठूलो मुटुको टुक्रा नै बच्चा हुन्छ। नवजात शिशु सबैभन्दा महत्वको विषय हो। बच्चा जन्मिसकेपछि घरलाई स्वर्गजस्तै मान्ने हाम्रो संस्कार नै हो। नवजात शिशु छ भने उसको बा–आमाको पहिलो प्राथमिकता नै उसलाई कहाँ पढाउने, कस्तो करिअर अगाडि बढाउने भन्नेजस्ता कुरा सोचिरहेका हुन्छन्। हिजो हाम्रो देशमा बीमाका कुराहरु सचेतनाका कारण जीवन शैलीसँगै बीमालाई समेटिनुपर्छ भन्ने हुँदैन थियो। तर, आज भर्खर जन्मेको बच्चाको भविष्य सुरक्षित कसरी गर्ने भन्ने प्राथमिकता राखेका हुन्छन्। आफ्नो जीवनकालमा कमाएर बचाएको पैसाले उसको भविष्य कसरी सुरक्षित गर्ने भन्ने प्राथमिकता हुने हुन्छ।
अहिले धेरै विकल्प छन्। मर्चेन्ट बैंकरहरुले एसआईपी योजना ल्याइरहेका छन्। बैंकमा लगेर मुद्दति निक्षेपमा बचत गर्ने हो भने पनि १० प्रतिशत ब्याज आउँछ। त्यसतर्फ पनि आकर्षण छ। नवजात शिशुका लागि सुन तथा शेयर किनेर राखिदिने पनि संस्कृति छ। यी सबैलाई छाडेर बीमा चाहिँ किन गराउने ?
ती सबै योजनाका आ–आफ्ना महत्व छन्। त्यसकारण ती सबैको सम्मान गर्नुपर्छ। त्यसलाई नकार्न सकिँदैन। अब रह्यो बीमाको कुरा। मानिसको जीवनमा आउने जुन तीन सम्भावना छन्, प्राथमिकता छन्, त्यसलाई सम्बोधन गर्ने भएकाले ती योजनाभन्दा बीमा सर्वोत्कृष्ट योजना हो। जस्तै ३० वर्षको अभिभावकको कुरा गरौँ। उनीहरुको भर्खर नवजात शिशु जन्मिएको छ। अब त्यस्तो अवस्थामा शिशुको रू. १० लाखको योजनामा इन्स्योरेन्स गर्दा केही शर्तहरू हुन्छन्। त्यहाँ पनि माथि भनिएका तीन सम्भावना छन्।
आजको दिनमा शिशुको बीमा गर्दा स्वभावैले संरक्षक बुवा–आमा हुन्छन्। बुवा–आमाको जीवनमा हुन सक्ने कुनै पनि दुर्घटनाको असर बच्चाको लालनपालन, पढाइ हुँदै जीवनमै असर पर्छ। त्यसमा सम्बोधन गर्ने बीमाले मात्रै हो। अन्य योजनाले बचत त गर्छ तर सम्भावित जोखिममा उनीहरुले हेर्दैनन्।
नवजात शिशुका अभिभावकले यो मेरो सन्तानको भविष्यको आर्थिक जोखिमलाई सहजीकरण गर्न कम्पनी छान्दा के–के कुरामा ध्यान दिने ?
सबैभन्दा पहिलो त जीवन बीमा योजनाले कुन कुन जोखिम बहन गर्छ भन्ने हेर्नुपर्छ। अब विभिन्न कम्पनीमध्ये कुन कम्पनी राम्रो भनेर हेर्नका लागि त्यस कम्पनीको पूँजी, व्यवस्थापन, गुनासो, दाबी भुक्तानी, अर्को हेर्नुपर्ने पक्ष भनेको कस्तो अभिकर्ताबाट बीमा गराइएको छ, विगतमा भन्ने लगायतका कुरा ध्यान दिनुपर्छ। अहिले नेपालमा भन्डै ९९ प्रतिशत बीमा अभिकर्ताको माध्यमबाटै गरिन्छ। त्यसकारण उनीहरुको कुरा, बीमा नीतिलगायत सबै हेर्नुपर्छ।
अर्को पक्ष, कम्पनीले दिएको बीमालेखमा समावेश गरिएका जोखिमहरू पनि हेर्नुपर्छ। उसो त संसारभर बीमा प्रायः उस्तै हुन्छ। नेपालमा मात्र होइन । बच्चाहरुका लागि बीमालेख केही फरक हुन सक्छ। बीमा प्राधिकरणले बच्चाहरुको जीवन बीमाका लागि केही सीमाहरु निर्धारण गरिदिएको छ, यी कुरा हेर्नुपर्छ।
यस्तै कम्पनी छान्दा बीमा योजना खरिद गर्दा पछि कति सहजै रुपमा दाबी भुक्तानी पाउन सकिन्छ र त्यसका विधिलगायत पनि हेर्नुपर्छ।
यतिधेरै कम्पनीले बीमा पोलिसी बिक्री गरिरहँदा हामीले पनि उस्तै–उस्तै नै पाउँछौँ। अब ‘ए’ भन्ने कम्पनी वा ‘बी’ भन्ने कम्पनीमा जानुको तात्विक अन्तर बीमितका लागि हुँदैन ?
त्यसो पनि होइन। कम्पनीको अन्य छवि, कम्पनीले बीमितलाई दिने सेवाको गुणस्तर जस्ता पक्ष पनि हेर्नुपर्ने हुन्छ। भिन्नता त्यहीँ हुन्छ। जस्तो आइएमई लाइफ इन्स्योरेन्समा हेर्नुभयो भने बालकिरण भन्ने प्रडक्ट ल्याइएको छ। लामो समयपछि त्यसमा मनी ब्याक नेचरको हो। अर्थात् पैसा हात पर्ने किसिमको बीमा योजना हो, यो। तर, अभिभावकको एउटा समस्याका रुपमा रहेको स्कुल, उसलाई कहाँ पढाउने भन्ने हुन्छ। अब उहाँहरुले स्कुल रोज्नुहुन्छ तर त्यो रोज्दा शिक्षण शुल्कलगायत विभिन्न शुल्क तिर्नुपर्ने हुन्छ। अब हामीले बच्चाको त्यो उमेरमा गएर निश्चित रकम फिर्ता गर्ने भन्ने ल्याएका छौँ। भन्न खोजेको के हो भने कुनै पनि कम्पनीले केही न केही फ्लेभर ल्याएका हुन्छौँ।
घातक रोगको कुरा गरौँ। हामीले अहिले मानिसको मृत्यु हुँदा भन्नेभन्दा पनि दोस्रो खाले, जस्तै जीवनयापन गर्दै गर्दा कुनै पनि घातक रोगका कारणले परिवारमा आर्थिक अवस्थाको खाडल पर्न सक्छ भन्ने हिसाबले यो योजना ल्याएका छौँ।
बीमा साह्रै प्राविधिक हुन्छ है ? कम्पनीले आफू बुझेर प्राधिकरण, अभिकर्ता, नागरिक सबैलाई बुझाउन निकै गाह्रो हुन्छ है ?
प्राविधिक त छ नै। हामीले सबैका लागि वित्तीय सल्लाहकारको रूपमा काम गरिरहेका छौँ, यसका माध्यमबाट। भोलिका दिनमा अनिश्चितता छ। त्यसकारण यसरी व्यवस्थापन गरौँ भनेर भन्ने काम पनि यसमै हुन्छ। अर्को भनेको हामी बजारमा गएर धेरै चिज सहजै बिक्री गर्न पाइन्छ, तर बीमा यस्तो हो, जुन सहजै हुँदैन। धेरै पटक बीमितसम्म गएर बुझाएर मात्रै उनीहरुलाई विश्वासमा पार्न सकिन्छ।
यो एउटा जोखिम व्यवस्थापन गर्ने क्षेत्र भएकाले प्राविधिक त छँदैछ। तर, गर्दै जाँदा धेरै गाह्रो पनि हुँदैन। अब यसलाई कसरी सहज बनाउने भन्ने हेर्ने हो भने हामीसँग भएका अभिकर्तालाई उनीहरुको वृत्ति विकासमा सहयोग गर्न विभिन्न तालिम दिने गरेका छौँ। आइएमई लाइफकै कुरा गर्दा हामीले क्यालेन्डर बनाएर नै उनीहरुलाई तालिम दिने गरेका छौँ।
अभिकर्ताले एउटै कम्पनी छान्नुपर्ने व्यवस्थाले कम्पनीहरुलाई व्यवसाय अभिवृद्धिका लागि सहयोग गरेको छ कि असहयोग ?
नियामकले ल्याउनुभएको यस व्यवस्थालाई हामीले मान्नुपर्छ। सँगसँगै यो निकै राम्रो व्यवस्था पनि हो। किनभने बजारमा विभिन्न कम्पनी छन्। एकैजना मानिसले विभिन्न कुरा गर्दा बीमित धेरै नै अन्याैलमा पुग्छ। त्यसलाई रोक्न यस व्यवस्थाले धेरै ठूलो काम गरेको छ। कम्पनीलाई पनि त्यो अभिकर्तालाई विकास गर्न पनि सहज भएको छ।
अहिले त अभिकर्ताले एकाघरका परिवारका सदस्यलाई पोलिसी बेच्न पनि पाइँदैन भनिएको छ ?
यसमा चाहिँ नियमन, निर्देशिका आयो। हामीले हाम्रो नियामकसँग कुरा पनि गर्यौं। यसमा चाँडै संशोधन हुने आशा छ।
तपाइँहरुले नयाँ बीमालेख ल्याउँदा बीमालेख विभागमार्फत नियामक, अभिकर्ता हुँदै बीमितसँग पुग्दा लगानी, सुरक्षा र बचत कसरी प्राथमिकतामा पार्नुछ ?
कुनै पनि नयाँ बीमालेख बनाउँदा पहिले हामीले धेरै अध्ययन गरेका हुन्छौँ। योजना ल्याउँदा नियामकबाट परिक्षण भएर आइसक्दा बजारमा अभियान पनि गरेका हुन्छौँ। साथै, अभिकर्ताका माध्यमबाटै यो जाने भएकाले अभिकर्तासँग धेरै अन्तरकृया तथा तालिमबाट अभ्यस्त गराएका हुन्छौँ। आजकल त सामाजिक सञ्जालका माध्यमबाट पहिलेभन्दा अहिले छिटो नागरिक माझ पुगेको छ।
नेपालको बहुसंख्यक सक्रिय जनसंख्या तराई भेगमा छ। त्यता अझै पनि बीमा पोलिसी भारतीय कम्पनीले नै बेच्छन् भन्ने छ। अझै आफ्ना नागरिकलाई आफ्नो कम्पनीतिर ?
केही समयअघि हेर्दा यी–यी मानिसको बीमा भारतीय कम्पनीले गरेको भन्ने सुनिन्थ्यो। तर, पछिल्लो समय नियामक निकायले चलाखीपूर्ण तरिकाले जीवन बीमकमात्र होइन कि निर्जीवन बीमा कम्पनीलाई पनि सँगै राखेर विभिन्न अभियान गरेका छन्, यसलाई रोक्नका लागि। अहिले बृहत ग्राहक पहिचान (केवाईसी) अनिवार्य गर्नुपर्ने भएकाले पनि यसका लागि निरुत्साहन भएको छ। तर, पूर्ण रुपमा रोक्न सकिएको छैन।
तराई क्षेत्र र भारत नजिक रहेको र बिहेबारीसमेत चल्दै आएकाले पनि त्यसलाई रोक्न कठिन भएको हो। तर, समग्रमा हेर्दा नेपालमै बीमा गर्ने बानी बसेको भने पक्कै छ। विगतमा हाम्रा कतिपय रणनीतिले पनि काम नगरेको मलाई लाग्छ। अरुले लगि दियो भन्दा पनि हामीले तान्न सकेनौँ भन्ने मलाई लाग्छ। अहिले अब यसमा सुधार आइसकेको छ।
बीमा जागरण अभियान भनेर स्थानीय तहसम्म गइरहनुभएको छ। मुलुकमा तीन तहका सरकारहरु छन्, तल जाँदै गर्दा तल्लो तहका सरकारलाई कति विश्वासमा लिन सकियो ? बीमा बुझाउन सकियो भन्ने लाग्छ ?
तीन तहका सरकार छन्। अहिले यो प्रणालीले धेरै परिवर्तन भएका छन्। मधेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ भनेर कुनै बैंकसँग मिलेर यस्तो कार्यक्रम ल्यायो। यस्तै कर्णाली प्रदेशमा जन्मिएका नानीहरुको बीमा गरिदिने कार्यक्रम आउने कुरा चलेको थियो। यस्तै अर्को तिलागुफा भन्ने नगरपालिकाले म्यादी जीवन बीमा गराइदिनुभएको थियो, आफ्ना नागरिकको।
यसरी हेर्दा बीमाप्रति चासोमात्रै होइन सक्रियता पनि बढेको छ। विगत केही वर्षदेखि बीमा प्राधिकरणकै नेतृत्वमा कार्यक्रमहरु हुँदै आइरहेका छन्। विगतमा बजेटमा बीमाका कुराहरु कम हुन्थे तर अहिले धेरै आइरहेका छन्।
गाउँ–गाउँमा अभिकर्ता परिचालन गरेर नागरिकले सिरानीमुनि राखेको पैसालाई बीमामार्फत औपचारिक च्यानलमा ल्याउनुहुन्छ। उहाँहरुको जोखिम बोकिदिनुहुन्छ। यसमा करको सीमा बढाइदिनका लागि तपाइँहरूले कतिको नीतिगत तहमा पहल गर्नु भएको छ ?
कुरा राम्रो हो। यसका लागि बीमा कम्पनीहरुले हाम्रो छाता संगठन जीवन बीमक संघ मार्फत बजेटमा सुझाव दिएका नै हौँ। त्यसमा जहिले पनि प्रमुख विषय नै कर छुट नै हो। हाम्रो आजको दिनमा सरकार चल्ने नै कर आयबाट हो। उहाँहरुलाई छुट दिँदा समस्या आउने सोच आयो होला, त्यसैले दिन सक्नुभएन। प्राधिकरणले मात्रै नेतृत्व लिएर भन्दा पनि बजेट बन्दा प्रधानमन्त्री आफैँले बीमाले कुल गार्हस्थ उत्पादनमा ठूलो टेवा पुर्याउँछ भन्ने बुझेर त्यस्तो नीति लिनुपर्छ।
संघीय सरकारले दीर्घकालका लागि सोचेर बीमाप्रति नीति लिनुपर्छ। हाम्रो करिब ५१ खर्बको अर्थतन्त्रमा आधा अनौपचारिक नै छ। अब अहिले सम्पत्ति शुद्धीकरणलगायतले औपचारिकतर्फ त्यस्ता सम्पत्ति आउँदैछ। अनौपचारिक अर्थतन्त्रलाई औपचारिकमा ल्याउने, सिरानमुनीको पैसालाई औपचारिकतर्फ ल्याउनका लागि लघुबीमा जस्ता कार्यक्रममार्फत् काम भइरहेको छ। आइएमई लाइफकै कुरा गर्दा १४० ठाउँमा पुगिसकेका छौँ, ४० हजार अभिकर्ता परिचालित हुनुहुन्छ भने सचेतना पनि भइरहेको छ।
लघुबीमा आइसकेपछि तपाइँहरुलाई सहज भएको कि अप्ठ्यारो ?
लघुबीमाको आफ्नै परिधि छ, कामका लागि। बीमाको दायरा बढ्नका लागि लघुबीमा आइसकेपछि धेरै सहज भएको मैले बुझेको छु। उहाँहरुले बीमाकै कुराहरु गर्ने भएकाले दायरा झन् धेरै बढाएको छ।
उमेर समूह, आम्दानीजस्ता विषयमा बीमाको लागि लक्षित समूहको निर्धारण कसरी गर्नुहुन्छ ?
आइएमई लाइफमा विभिन्न खालका जीवन बीमा योजनाहरु छन्। ती योजनाअनुसार लक्षित ग्राहक फरक छन्। त्यो हाम्रो रणनीतिभित्र पर्छ। कस्तो खालको आम्दानी भएका मानिसलाई कुन बीमालेख लैजाने भन्ने अभिकर्तासम्म जाँदा पूरै निश्चित गरिएको हुन्छ। कहाँ पहुँच पुगेको छैन ? त्यसतर्फ लैजान पनि योजना हुन्छ।
सामान्यतया जीवन बीमा भइसकेपछि १०–१५ वा त्योभन्दा लामो समयसम्मका लागि योजना ल्याइएको छ भने अलि बुझाउन सक्ने, पाको, परिपक्व अभिकर्ता खोज्छौँ। म्यादी योजना छ भने भर्खरका युवाहरु खोज्छौँ।
तपाइँहरु कम्तीमा पनि ५ वर्षका लागि वित्तीय जोखिम उठाउनुपर्छ। त्यसपछि प्रतिफल दिनुपर्छ बोनसका रुपमा वा पहिलेको शर्तअनुसार थपेर पनि दिनुपर्छ। बीचमै तलमाथि हुँदा पनि दिनुपर्छ। थपेर दिनुपर्छ। उठाएको श्रोत परिचालन चाहिँ चुनौतीपूर्ण छ। कसरी व्यवस्थापन गर्नुहुन्छ यसको ?
बीमा प्राधिकरणले लगानी निर्देशिकामार्फत दायरा फराकिलो बनाइदिएको छ। पहिले दायरा संकुचित थियो तर अहिले उत्पादनमूलक क्षेत्र, घरजग्गा, संयुक्त पूँजी उपक्रम लगायतमा पनि जान सक्ने वातावरण छ। यसमा चुनौती मैले चाहिँ देखेको छैन।
नेपालमा बीमा क्षेत्रको झन्डै ६ खर्बको लगानी छ, जसको ७० प्रतिशत मुद्दति निक्षेपमा छ। अहिले ब्याज दर घट्दै जाँदा त्यसको मारमा हामी परेका छौँ अहिले। सामान्यता बीमा गर्ने मानिस १५ वर्षका लागि बीमा गर्ने मानिस धेरै हुन्छन्। अब त्यति लामो अवधिको बीमा बेच्ने अनि एक वर्षको लागि मात्र लगानी गर्दा त कुरा मिल्दैन। राष्ट्र बैंकले ऋण पत्र ल्याइ दिँदा ७–८ वर्षको एसेस्ट पाएका छौँ, यो राम्रो हो। तर, यसले मात्र पुग्दैन।
तपाइँहरुलाई अहिले राष्ट्र बैंकले बैंकहरुको अग्राधिकार शेयर खरिद गर्ने बाटो नि खोलिदिएको छ नि, हैन ?
त्यो छ। झन्डै एक महिना अगाडि उहाँहरुको निर्देशन पनि रहेछ। तर, त्यसको कार्यविधि नआएसम्म कसरी जाने भन्ने अन्यौल हुन्छ। कार्यविधि आइसकेपछि यो कसरी अगाडि बढ्छ, हेरौँला। तर, यसले मात्रै हुँदैन। सरकारले बीमालाई सहयोग गर्नका लागि १५–१० वर्ष अवधिको ऋण पत्र जारी गर्नुपर्ने आवश्यकता छ।