IME Life New

बीमा सूचना केन्द्रको स्थापनाले समग्र बीमा क्षेत्रलाई फाइदा पुग्छः अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सूचना केन्द्रको स्थापनाले समग्र बीमा क्षेत्र फाइदा पुग्ने बताएका छन्। काठमाडौंमा आज भएको बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका सन्दर्भमा छलफल एवं अन्तर्क्रियामा अध्यक्ष सिलावलले यस्तो धारणा राखेका हुन्। सिलवालले बीमा सूचना केन्द्र स्थापनाका लागि प्रारम्भिक चरणको छलफल सुरु भएको र सुझाव संकलनलाई सघनताका साथ निरन्तर रुपमा अगाडि बढाइने बताए। ‘नागरिकको जीवन, सम्पत्ति र राष्ट्रिय सम्पत्तिको सुरक्षण गर्न आवश्यक सूचना प्राप्त गर्ने किसिमले बीमा सूचना केन्द्र स्थापनाका लागि सुझाव संकलन गर्न सुरु गरिएको छ’, उनले भने, ‘केन्द्रको स्थापनाबाट सरकारी निकाय, समग्र बीमा बजार र नागरिकलाई फाइदा पुग्नेछ।’

अध्यक्ष सिलवालले केन्द्रले सम्बोधन गर्नुपर्ने क्षेत्र, केन्द्रित हुनुपर्ने विषय र सरकारी निकायहरुसँगको आवद्धता लगायतका विषयमा कार्यक्रमबाट ठोस सुझाव प्राप्त हुने अपेक्षा पनि गरे। ‘यस्ता कार्यक्रमहरुबाट प्राप्त हुने सुझावका आधारमा केन्द्रको स्थापनाको कार्य अगाडि बढाइनेछ’, उनले भने, ‘विपद् व्यवस्थापनलाई समेत अंककै रुपमा लिइनेछ, स्वदेशी विज्ञलाई प्रोत्साहित गरिनेछ।’

Esewa
Crest

बीमा सूचना केन्द्रको सम्भावित स्वरुपका बारेमा सम्बन्धित मन्त्रालय, सरकारी निकाय, नेपालस्थित अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय, बीमक, पेसागत बीमा अभिकर्ता संघ र नेपाल बीमा सर्भेयर संघबाट रायसुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिका सदस्य कपिलदेव ओलीले बीमा सूचना केन्द्रको स्थापनाबाट बीमासम्बन्धी सूचनालाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन तथा बीमाका समग्र गतिविधिलाई सक्रियरूपले अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जोखिम र बीमा एउटै सिक्काका दुई पाटा भएकाले बीमा सूचना केन्द्र स्थापना गर्दा जोखिमको पाटोलाई पनि सँगसँगै लानुपर्ने र केन्द्र नेपाली मोडेलको हुनुपर्ने विचार व्यक्त गरे। बीमा प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मीले बीमा सूचना केन्द्रको स्थापनालाई सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राखे।

बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सूचना केन्द्रको प्रारम्भिक खाका प्रस्तुत गर्नुहुँदै बीमामा हुने बदमासी, जालसाजी, कीर्ते र दोहोपनालाई नियन्त्रण गर्न केन्द्रको स्थापना आवश्यक भएको बताए। बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै सरकारबाट बीमा नियमावली स्वीकृत भई कार्यान्वयनमा आएपछि बीमा सूचना केन्द्र स्थापनाको कार्य अगाडि बढाउन प्रारम्भिक खाका तयार गरी सुझाव संकलन गर्न सुरु गरिएको बताए।

कार्यक्रमका सहभागीले स्थापना हुनलागेको बीमा सूचना केन्द्रमा अनलाइन माध्यमबाट सूचना संकलन गर्ने र बीमकहरुका सूचनालाई एकीकृत गर्ने व्यवस्था हुनुपर्ने, सूचना प्रमाणीकरणका लागि प्राविधिक समितिको व्यवस्था गर्नुपर्ने, सरकारी सूचना प्रणालीसँग आबद्ध गर्नुपर्ने, मुलुकको संघीय संरचनाअनुरुपको हुनुपर्ने, सूचनाको दायरा निक्र्यौल गर्नुपर्ने, बीमामा सुशासन, ग्राहक पहिचान र सूचना प्रविधिको प्रयोगलाई समेट्नुपर्नेलगायतका सुझाव दिएका थिए।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय तथ्यांक कार्यालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय तथ्यांक विभाग र कर्जा सूचना केन्द्रका पदाधिकारी, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा पेशागत बीमा अभिकर्ता संघ र नेपाल बीमा सर्भेयर संघका प्रतिनिधिको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS