IME Life
GBIME

बीमा व्यवसायको नियमन, निरीक्षण तथा अनुगमनमा नेपाल बीमा प्राधिकरणः दिनेशकुमार लालको लेख

SPIL
NIC ASIA new
NLIC

पृष्ठभूमि

बीमा व्यवसायलाई व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गर्ने उद्देश्यले विसं. २०२५ सालमा बीमा समितिको स्थापना भई बीमा ऐन, २०२६ प्रचलनमा ल्याइयो। बीमाको महत्व, क्षेत्र तथा आवश्यकता दिनानुदिन बढ्दै गएको परिप्रेक्ष्यमा देशले आर्थिक उदारीकरणको नीति अवलम्बन गर्दा बीमा बजारमा निजी बीमा कम्पनीको आगमन हुन थाल्यो। देशमा जनआन्दोलनबाट प्रजातन्त्र स्थापना भएपछि बीमा क्षेत्रलाई थप व्यवस्थित तथा नियमन गर्न बीमा ऐन, २०२६ लाई परिमार्जन गरी बीमा ऐन, २०४९ कार्यान्वयनमा आयो। बीमा व्यवसायलाई नियमित, व्यवस्थित, विकसित र नियन्त्रित गर्न बीमा समितिलाई बीमा ऐन, २०४९ ले नियमनकारी निकायका रुपमा स्थापित गरायो। ऐनबाट समिति एक स्वशासित र स्वायत्त सब्गठित संस्थाका रुपमा स्थापित भयो। बीमा कम्पनी, बीमा अभिकर्ता, बीमा सर्भेयर र बीमा दलालहरुको सब्ख्या बढ्दै जाँदा बीमा क्षेत्रमा नयाँ अभ्यास तथा प्रचलनहरु हुन थाले र बीमा क्षेत्रमा थप समस्या तथा चुनौतीहरु समेत देखिन थाले। बीमा प्रणाली तथा बीमा व्यवसायलाई थप व्यवस्थित, नियमित र प्रतिस्पर्धी तुल्याउँदै सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन एवम् बीमा व्यवसायको प्रभावकारीरुपमा नियमन गरी बीमितहरुको हित संरक्षण गर्न बीमा ऐन, २०७९ मिति २०७९ कात्तिक २२ गतेदेखि लागू भएको छ। सोही मितिदेखि बीमा समिति नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ।

Crest

बीमक, लघुबीमक र पुनर्बीमक

जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा तथा लघुबीमा व्यवसाय बीमकहरुबाट सञ्चालनमा छन्। एक–डेढ वर्ष अगाडिसम्म ४२ वटा बीमकले बीमा व्यवसाय गर्दै आएकोमा नेपाल बीमा प्राधिकरणबाट बीमकको चुक्तापूँजी वृद्धि गरिएसँगै बीमकहरुले मर्जर तथा एक्विजिसनको बाटो रोजेपछि बीमकको संख्या घट्न गयो। हाल जीवन बीमा कम्पनी १४ वटा, निर्जीवन बीमा कम्पनी १४ वटा, पुनर्बीमा कम्पनी २ वटा र लघुबीमा कम्पनी ७ वटा सञ्चालनमा रहेका छन्। सरकारी र निजी कम्पनी तथा विदेशी शाखा र संयुक्त लगानीका गरी ४ प्रकारका बीमा कम्पनी सञ्चालमा छन्। बीमा वित्तीय प्रणालीको एउटा महत्वपूर्ण आधारस्तम्भका रुपमा रहेको हुँदा बीमा कम्पनी स्वच्छ, पारदर्शी, उत्तरदायी र विधिसम्मत् रुपमा चल्नु पर्दछ। यस मान्यताअनुरुप नेपाल बीमा प्राधिकरणले बीमक, बीमा मध्यस्थकर्ता तथा अन्य सेवा प्रदायकहरुको नियमन, निरीक्षण तथा अनुगमन गरी बीमितको हित संरक्षणका साथै विश्वसनीय बीमा बजार स्थापित गर्न कार्य गर्दै आएको छ।

नियमन, निरीक्षण वा अनुगमनसम्बन्धी व्यवस्था

‘नेपाल बीमा प्राधिकरणले बीमक, बीमा मध्यस्थकर्ता र अन्य बीमा सेवा प्रदायक वा बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकसँग सम्बन्धित व्यक्ति वा संस्थाको काम कारबाहीका सम्बन्धमा जुनसुकै बखत नियमन, निरीक्षण वा अनुगमन गर्न सक्नेछ’ भन्ने व्यवस्थाबमोजिम बीमा ऐन, नियमावली, प्राधिकरणबाट जारी निर्देशिका, निर्देशन, मार्गदर्शन, आदेश तथा परिपत्रलगायत अन्तर्राष्ट्रियस्तरमा स्थापित सिद्धान्त, मान्यता, मापदण्ड तथा असल अभ्यास तथा प्रचलनलाई आधारका रुपमा लिने गर्दछ। प्राधिकरणले शंका लागेमा वा उजुरी परेमा बीमक वा बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको काम कारबाहीका सम्बन्धमा कुनै विशेषज्ञ वा प्राधिकरणका कर्मचारी खटाई बीमक वा बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको कार्यालय वा कारोबार स्थलमा नै गई स्थलगत निरीक्षण गर्न वा बीमकका सम्बन्धित कागजात, लेखा तथा वित्तीय विवरण, बीमालेख, सम्बन्धित प्रतिवेदन तथा विवरण प्राधिकरणमा झिकाई निरीक्षण गर्न वा अन्य तरिकाले जुनसुकै बखत नियमन, निरीक्षण वा अनुगमन गर्न सक्ने कानूनी व्यवस्थाको आधारमा कार्य गर्दछ।

निरीक्षण तथा अनुगमनमा खटिएको विशेषज्ञ वा कर्मचारीले सम्बन्धित पक्षसँग लगत, तथ्यांक, विवरण, सूचना, प्रतिवेदन, विद्युतीय माध्यमबाट सिर्जना गरिएका विवरण वा आवश्यक अन्य कुनै कागजात माग गर्न, हेर्न, जाँच्न, निरीक्षण एवम् अनुसन्धान गर्न, सोको सक्कल वा प्रतिलिपि माग गर्न सक्दछ। यसरी माग गरेका लगत, तथ्यांक, विवरण, सूचना वा आवश्यक अन्य कुनै कागजात तोकिएको समयमा उपलब्ध गराउनु, कुनै विवरण हेर्न, जाँच्न, निरीक्षण गर्न दिनु र सो सम्बन्धमा सोधेका प्रश्नहरुको सत्य तथ्य जवाफ दिनु सम्बन्धित बीमक, बीमा मध्यस्थकर्ता, अन्य बीमा सेवा प्रदायक, बीमित तथा बीमा व्यवसायसँग सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ। यसरी नियमन, निरीक्षण वा अनुगमन गर्न खटिएका कर्मचारी वा विशेषज्ञले बीमकले सम्पादन गरेका कार्य, त्यसका काम कारवाही वा लिखतका सम्बन्धमा कुनै त्रुटी वा कमजोरी देखिएमा, कुनै काम कारबाही वा लिखत शंकास्पद भएको देखिएमा वा बीमा ऐन, बीमा नियमावली वा प्राधिकरणले जारी गरेका निर्देशनबमोजिम नभएको पाइएमा सो सम्बन्धमा सम्बन्धित अधिकारीको बयान गराउनसक्ने कानुनी अधिकार नेपाल बीमा प्राधिकरणसँग रहेको छ। नियमन, निरीक्षण वा अनुगमन गर्ने क्रममा तत्काल कुनै निर्देशन वा आदेश दिनुपर्ने देखिएमा सो कार्यमा खटिएको विशेषज्ञ वा कर्मचारीले प्राधिकरणलाई जानकारी दिई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालना गर्नु सम्बन्धित बीमक वा सरोकारवाला व्यक्तिको कर्तव्य हुनेछ। निरीक्षण वा अनुगमनको प्रतिवेदन प्राधिकरणले निर्धारण गरेको अवधिभित्र प्राधिकरण समक्ष पेस गर्नुपर्नेछ।

नेपाल बीमा प्राधिकरणले बीमा ऐनबमोजिम भएका वा हुने नियमन, निरीक्षण वा अनुगमनको कार्यमा नेपाल सरकार, नेपाल सरकारका कुनै निकाय, प्रदेश वा स्थानीय तहको कुनै निकाय, अन्य नियमनकारी निकाय वा कुनै सब्गठित संस्थासँग सहयोग लिन सक्नेछ। प्राधिकरणले सुपरिवेक्षणका कार्यलाई प्रभावकारी बनाउन स्थलगत निरीक्षण कार्यविधि, गैरलगत निरीक्षण कार्यविधि र जोखिममा आधारित सुपरीवेक्षण कार्यविधि जारी गरेको छ।

प्राधिकरणले सुपरिवेक्षण गर्दा बीमकको जोखिमांकनको गुणस्तर तथा प्रभावकारिता, दाबी भुक्तानीको अवस्था, लगानी नीतिबमोजिम भएको लगानीको प्रतिफलको अवस्था तथा सुनिश्चितता, पुनर्बीमाको पर्याप्तता तथा हस्तान्तरण, बीमालेख, व्यवस्थापनको दक्षता, बीमकको पुँजी पर्याप्तता, जगेडा कोषको अवस्था, प्राविधिक रुपमा वित्तीय विवरणमा गर्नुपर्ने व्यवस्था, बीमांकीय मूल्यांकन, सम्पत्ति शुद्धीकरण, बैंक हिसाब विवरण, नगद फिर्ता, जोखिम व्यवस्थापन, परिपालनको अवस्था, जोखिमको अवस्था, व्यवस्थापन खर्च, उधारो बीमा, बीमादर, प्रचलित लेखामानबमोजिम वित्तीय विवरण, संस्थागत सुशासनको अवस्था, सोल्भेन्सीको अवस्था, सूचना प्रविधि, कारोबार, कारोबारको मासिक÷त्रैमासिक प्रतिवेदन, आन्तरिक लेखापरीक्षण, बीमकको निर्णय (माइन्युट), मानव संशाधनको व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, अनियमित तवरबाट भएका काम लगायत आवश्यक ठानेका अन्य विषयहरुमा अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन सम्बन्धी कार्य गर्दछ।

बीमकका सञ्चालक समितिको जिम्मेवारी

बीमकका सञ्चालक समितिले बीमा ऐन, बीमा नियमावली, प्रचलित कानून, नेपाल बीमा प्राधिकरणबाट समय समयमा जारी भएका निर्देशन,सञ्चालक समितिबाट बनाइएका नीति, नियम, निर्णय, निर्देशन, दिग्दर्शन (म्यानुअल), परिपत्र वा कार्यविधि पालना भए वा नभएको सम्बन्धमा आवश्यक कार्यविधि बनाई कम्तीमा तीन तीन महिनामा अनुगमन तथा सुपरीवेक्षण गर्नु पर्दछ। बीमकको सञ्चालक समितिको बैठकमा अनुगमन तथा सुपरीवेक्षणको प्रतिवेदनमाथि छलफल गरी सो प्रतिवेदनमा कुनै कैफियत उल्लेख गरेको भए सञ्चालक समितिले त्यसको सुधारका लागि कार्यकारी प्रमुखलाई निर्देशन दिनसक्छ। यसरी प्राधिकरणमा मात्रै होइन बीमकका सञ्चालक समिति आफैमा पनि नियमन तथा अनुगमनको जिम्मेवारी रहेको बुझिन्छ।

बीमकले आफ्नो बीमा व्यवसाय स्वच्छ तथा प्रतिस्पर्धी तवरले सञ्चालन गरी उचित मुनाफाको अपेक्षा राख्नु स्वभाविक हो। नियामकले बीमा व्यवसायबाट बीमितको हित संरक्षण गर्नु प्रमुख उद्देश्य राखेको हुन्छ। मुलुकभित्र कुनै व्यवसाय सञ्चालनमा सरकारले करको अपेक्षा राखेको हुन्छ भने शिक्षित जनशक्तिले रोजगारीको सुनिश्चितता तथा पारिश्रमिकको अपेक्षा राखेको हुन्छ। बीमा व्यवसायसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपले सरोकार राख्ने व्यक्ति वा संस्था समेतले आर्थिक अपेक्षा गरेको हुन्छ। बीमितले गुणस्तरीय बीमा सेवा, समयमा दाबी भुृक्तानी तथा बोनस हासिल गर्ने उद्देश्य राखेको हुन्छ। नेपाल बीमा प्राधिकरणले बीमक, बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकले गर्ने काम कारबाही, विधि तथा कानूनसम्मत् होस् भन्ने अपेक्षाले त्यस्ता सेवा प्रवाह गर्ने संस्थाहरुका लागि अन्तर्राष्ट्रिय अभ्यास तथा प्रचलनका आधारमा थुप्रै नियम, निर्देशन, मार्गदर्शन तथा कार्यविधि र परिपत्र जारी गरी नियमनको कार्य गर्दछ। यसरी यी संस्थाहरुबाट सम्पादन हुने कार्य कानुनसम्मत भए वा नभएका बारे नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्दछ, ता कि संस्थामा वित्तीय सबलता होस्, सुशासन कायम होस् र दायित्व समयमा पूरा गर्न सकून्। नियामकले स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा बीमा व्यवसायको शाख बढाउन र लगानीकर्ता, बीमित, कर्मचारी, सप्लायर्स तथा बजारलगायत सम्पूर्ण पक्षहरुको हित एवम् अधिकार रक्षाको उद्देश्यले नियमन तथा अनुगमनसम्बन्धी कार्य गर्दछ।

नियमनको विधि

नेपाल बीमा प्राधिकरणले बीमा प्रणालीको कुनै पनि नियमनका लागि निर्देशिका, कार्यविधि, मार्गदर्शन लगायतका निर्देशन जारी गर्दा इन्टरनेसनल एसोसिएसन अफ इन्स्योरेन्स सुपरभाइजर्स (आईएआईएस)ले प्रतिपादन गरेका मूलभूत सिद्धान्त, अन्तर्राष्ट्रियस्तरका असल अभ्यास र छिमेकी मुलुकहरुमा नियमनका लागि त्यस्ता प्रकारका निर्देशिका र मार्गदर्शन जारी भएका छन् कि छैनन् भन्ने विषयमा अध्ययन विश्लेषण गर्दछ। यस्ता निर्देशन जारी गर्दा बीमा बजारमा के कस्तो असर पर्दछ ? बीमा प्रणालीभित्र रहेका पक्षहरुलाई हित हुन्छ वा हुँदैन ? जस्ता विषयहरुमा विचार गरी बीमक लगायत सर्वसाधारणसँग पटक–पटक छलफल गरिन्छ। सरोकारवालाहरुको राय–सुझावसमेतका आधारमा नियमनका लागि विज्ञ व्यक्ति सहित प्राधिकरणबाट मस्यौदा गरिन्छ। मस्यौदामाथि प्राधिकरणका विभिन्न महाशाखा र शाखाहरुमा छलफल गरिन्छ। ततपश्चात् प्राधिकरणका सबै अधिकारीहरुको राय–सुझावसहित मस्यौदालाई अन्तिम रुप दिई प्राधिकरणबाट गठित कानुनी दस्तावेज उपसमितिमा पेश भई छलफल तथा थप संशोधनलगायत भाषागत परिमार्जन तथा कानूनी ढाँचामा तयार गरिन्छ। उक्त उपसमितिबाट स्वीकृत भएको मस्यौदालाई प्राधिकरणको सञ्चालक समितिमा पेस भई छलफलपश्चात् थप परिमार्जन गर्नुपर्ने भए परिमार्जन गरी वा नगर्नु पर्ने भएमा हुबहु स्वीकृत हुन्छ। यसरी निर्देशिका, निर्देशन, मार्गदर्शन स्वीकृतिपश्चात् माइन्युटमा सञ्चालकहरुको हस्ताक्षरपछि कानुनी रुपमा लागू हुन्छ।

सुपरिवेक्षण तथा निरीक्षण

नेपाल बीमा प्राधिकरणले आफ्नो संगठनात्मक संरचनाअन्तर्गत स्थलगत सुपरिवेक्षण, गैरस्थलगत सुपरिवेक्षण, आकस्मिक सुपरिवेक्षण र जोखिममा आधारित सुपरिवेक्षण गरी जम्मा ४ प्रकारले बीमक, मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकको अनुगमन तथा सुपरिवेक्षणसम्बन्धी कार्य गर्दै आइरहेको छ।

स्थलगत सुपरिवेक्षण

स्थलगत सुपरिवेक्षणमा खटिएको टोलीले बीमकको कार्यालयमा गई बीमकले बीमा ऐन, नियम, निर्देशिका, मार्गदर्शन, बीमादरको पालना, जोखिमांकन, दाबी भुक्तानी, पुनर्बीमा, व्यवस्था खर्च, उधारो बीमा, पुँजी बजार, लगानी, कुनै किसिमको अनियमितता तथा संसथागत सुशासन पालना भए नभएको बारेमा जानकारी लिन्छ। यसैगरी, सूचना प्रविधि, सम्पत्ति शुद्धीकरण, पुनर्बीमक तथा अन्यसँग लिन दिन बाँकी रकम, अभिकर्ता ऋण, सर्भे प्रतिवेदन तथा वित्तीय विवरणलगायतका बारेमा समेत टोलीले जानकारी लिन्छ। टोलीले ती सबै जानकारी लिइसकेपछि जाँचबुझ गरी सुझावसहित प्रतिवेदन पेस गर्दछ। सो कार्यका लागि ५ देखि ७ जनासम्मको निरीक्षण टोली गठन गरी बीमकको कार्यालयमा पठाइन्छ।

गैरस्थलगत सुपरिवेक्षण

गैरस्थलगत सुपरिवेक्षणअन्तर्गत प्राधिकरणले बीमकबाट प्राप्त तथ्यांक, विवरण, प्रतिवेदनलगायत बीमा बजारबाट प्राप्त जानकारी र अन्य सम्बन्धित सूचनाका आधारमा अध्ययन तथा विश्लेषण गरी निरीक्षणसम्बन्धी कार्य गर्दछ। गैरस्थलगत सुपरिवेक्षणअन्तर्गत मुख्य रुपमा बीमकहरुको वार्षिक वित्तीय विवरण अध्ययन तथा विश्लेषण गरी आवश्यक सर्तहरुसहित बीमकको वित्तीय विवरणसम्बन्धी निर्देशिका, २०८० बमोजिम स्वीकृत गर्दछ।

बीमकको त्रैमासिक लगानीको अध्ययन एवम् विश्लेषण लगानी सम्बन्धी निर्देशिका, २०८० को आधारमा गर्दछ। यसका साथै तोकेका क्षेत्र तथा बीमाबाहेकका क्षेत्रमा बीमकको मागबमोजिम स्वीकृत अथवा अस्वीकृत गर्दछ। यसैगरी, बीमकको त्रैमासिक वित्तीय परिणामको अध्ययन तथा विश्लेषण गर्दछ। जीवन तथा निर्जीवन बीमक, पुनर्बीमक र लघुबीमकको अन्तरिक लेखापरीक्षण प्रतिवेदनलाई बीमकको आन्तरिक लेखापरीक्षणसम्बन्धी निर्देशिका, २०८० बमोजिम अध्ययन तथा विश्लेषण गर्दछ।

आन्तरिक लेखापरीक्षणमा देखिएका कैफियतको गम्भीरतालाई हेरी बीमकका सञ्चालक समिति तथा व्यवस्थापनलाई पुनः कैफियत नदोहोरिने गरी कार्य गर्न निर्देशन दिइन्छ। यसका साथै बीमकको मासिक कारोबार, दाबीको सब्ख्या तथा भुक्तानी भएको रकमलगायतको विवरण विश्लेषण गरी प्राधिकरणबाट आवश्यक निर्देशन दिइन्छ। गैरस्थलगत सुपरिवेक्षणअन्तर्गत बीमकको व्यवस्थापन खर्च, जगेडा कोष, पुँजी, प्रिमियम, ल्याप्स, सरेन्डर, पुनर्बीमा, बीमा अभिकर्ता कमिशन खर्च, प्राधिकरणबाट जारी नीति निर्देशनको पालना, बोनस, जीवन बीमा कोष, दाबी भुक्तानी, सुशासनलगायतका अन्य विषयहरुमा आवश्यक अध्ययन विश्लेषण गरी बीमकको गैरस्थलगतसम्बन्धी निरीक्षणको कार्य गर्दछ।

जोखिममा आधारित सुपरिवेक्षण

नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित सुपरिवेक्षणका लागि जोखिममा आधारित सुपरिवेक्षणसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ। यो सुपरिवेक्षणको नयाँ विधि हो। यस विधिबमोजिम बीमकको जोखिम प्रोफाइलका आधारमा सुपरिवेक्षण कार्यको सुरुआत गरिएको छ।

आकस्मिक निरीक्षण

नेपाल बीमा प्राधिकरणमा प्राप्त सूचना, गुनासो तथा उजुरीका आधारमा निरीक्षणसम्बन्धी कार्य गरिन्छ। विभिन्न अनुसन्धानकारी निकायहरु जस्तैः अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतको आदेशमा निरीक्षण गरिन्छ। यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, वित्तीय जानकारी इकाइ तथा अन्य निकायको आवश्यकता तथा आदेशका आधारमा आकस्मिक निरीक्षण गरिन्छ। यसरी निरीक्षण गर्दा तोकेको विषयमा केन्द्रित भई निरीक्षण गरी निष्कर्षसहितको प्रतिवेदन तयार गरिन्छ। यस्तो प्रतिवेदन सम्बन्धित निकायमा प्राधिकरणले पेस गर्दछ। निरीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित पक्षलाई आवश्यक कारबाही गरिन्छ।

नेपाल बीमा प्राधिकरणबाट निरीक्षण तथा अनुगमनका लागि गठित टोलीले सुपरिवेक्षण गर्नुपर्ने विषयहरुको सूचना तथा जानकारी गैरस्थलगत शाखालगायत अन्य शाखाबाट प्राप्त गर्दछ। टोलीले सुपरीवेक्षणको योजना बनाउँछ, समस्या तथा गुनासो वा उजुरी विषयवस्तुमा छलफल गरी अन्य महाशाखा तथा शाखाहरुसँग जानकारी र सूचना आदान–प्रदान गर्दछ। बीमक तथा सम्बन्धित निकायमा पुगेर निरीक्षण गर्न गठित टोलीका प्रमुखले बीमकका प्रमुख कार्यकारी अधिकृतलगायत उच्च पदाधिकारीसँग निरीक्षणको विषयमा छलफल गरी आवश्यक सूचना, तथ्यांक, कागजात तथा विवरण, निर्णयहरुको परीक्षण तथा अध्ययन विश्लेषण गरी तोकिएको समयावधिभित्र प्रतिवेदन तयारी गरी प्राधिकरणमा दर्ता गराउँदछ। प्राधिकरणमा अध्यक्षको संयोजकत्वमा कार्यकारी निर्देशक, निर्देशक सहितको निरीक्षण प्रतिवेदन कार्यान्वयन समितिमा निरीक्षण प्रतिवेदनमाथि छलफलका लागि पेस हुन्छ। निरीक्षण प्रतिवेदनमाथि छलफलपश्चात् प्रतिवेदनमा उल्लेखित कैफियतसहित ७ दिनको समय दिई स्पष्ट धारणा बीमकसँग माग गरिन्छ। निरीक्षण प्रतिवेदनमा उल्लेखित कैफियतको विश्लेषण गरी त्यसको गम्भीरतालाई ध्यानमा राखी सुधारका लागि बीमकलाई समय सीमा तोकिन्छ भने कतिपय कैफियतका सन्दर्भमा पुनः नदोहोरिने गरी काम गर्न निर्देशन दिने गरिन्छ। आर्थिक दन्ड गर्नुपर्ने अवस्थामा प्राधिकरणको सञ्चालक समितिबाट निर्णय हुन्छ र बीमा ऐन, २०७९ बमोजिम आवश्यक दण्डात्मक कारबाही हुन्छ।

नियामकीय कारबाहीसम्बन्धी व्यवस्था

नेपाल बीमा प्राधिकरणले.बीमा नियमनकारी निकायका रुपमा बीमक, बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रयायकहरुलाई नियमन, निरीक्षण तथा अनुगमन गरी बीमा व्यवसायमा हुनसक्ने बदमासी एवम् जालसाजीलाई नियन्त्रण गर्नुका साथै बीमा व्यवसायमार्फत हुनसक्ने सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा हुने लगानीलाई नियन्त्रण गर्दछ। बीमक, मध्यस्थकर्ता र अन्य बीमा सेवा प्रदायकको नियमन, निरीक्षण तथा अनुगमन गरी बीमा व्यवसायलाई जिम्मेवार र जवाफदेही बनाउन र बीमा क्षेत्रको गुनासो सुनुवाई प्रक्रियालाई प्रभावकारी बनाई बीमा बजारमा विश्वसनीयता अभिवृद्धि गर्न नेपाल बीमा प्राधिकरण क्रियाशील रहेको छ। नियमन तथा अनुगमन प्रणालीलाई नवीनतम सूचना प्रणालीमा आधारित बनाउन प्राधिकरणले क्रमिक रुपमा थप जनशक्तिको व्यवस्था गर्दै आएको छ। साथै, आवश्यक कार्यक्रम तथा बजेटको पनि व्यवस्था गर्ने गरेको छ।

कुनै बीमकले बीमा ऐन, २०७९ वा यसअन्तर्गत बनेका नियम, विनियम वा निर्देशन वा आदेश उल्लंघन गरेको पाइएमा वा नेपाल बीमा प्राधिकरणमा गलत विवरण वा तथ्यांक पेस गरेको देखिएमा त्यस्तो बीमक वा निजको कुनै सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी वा बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकलाई लिखित रुपमा सचेत गराउने वा चेतावनी दिने, सुधारका लागि कबुलियत गराउने वा निश्चित अवधि तोकी कुनै सुधार गर्न आदेश दिने, बीमकको सम्पत्ति वा बहीखाता नियन्त्रणमा लिने, शेयरधनीलाई वितरण गर्ने लाभांश, बोनस शेयर वा हकप्रद शेयर वितरण वा जारी गर्न रोक लगाउने, बीमकको सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी तथा बीमा मध्यस्थकर्तालाई निलम्बन गर्ने वा निलम्बन गर्न बीमकलाई आदेश दिने, बीमा व्यवसाय सञ्चाल गर्न आंशिक वा पूर्ण रोक लगाउने, इजाजतपत्रप्राप्त बीमा कम्पनी खारेज गर्न सम्बन्धित उच्च अदालतसमक्ष निर्देशन दिने, जरिवाना तथा दण्ड सजाय गर्ने, समस्याग्रस्त बीमक घोषणा गर्ने तथा सुधारका लागि निर्देशन दिने, विशेष व्यवस्थापन समूह गठन गर्नेजस्ता नियामकीय कारबाही गर्नसक्ने कानुनी व्यवस्था रहेको छ।

नेपाल बीमा प्राधिकरणले नियामकीय कारबाही वा जरिवाना गर्नुअघि सम्बन्धित बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायक वा व्यक्तिलाई प्रस्ताव गरिएको कारबाही वा जरिवानाको सम्बन्धमा आफ्नो सफाइ पेस गर्न ७ दिनको म्याद दिई लिखित सूचना दिन्छ। लिखित सूचना प्राप्त गरेको मितिले ७ दिनभित्र सम्बन्धित बीमक, बीमा मध्यस्थकर्ता, अन्य बीमा सेवा प्रदायक वा अन्य कुनै व्यक्तिले आफ्नो सफाइ लिखित रुपमा प्राधिकरणसमक्ष पेस गर्दछ। पेस हुन आएको सफाइ चित्तबुझ्दो देखिएमा प्राधिकरणले त्यस्तो कारबाही वा जरिवानामा संशोधन गर्न वा खारेज गर्नसक्ने कानुनी व्यवस्था रहेको छ।

नियमन, निरीक्षण तथा अनुगमनलाई थप प्रभावकारी बनाउन अवलम्बन गर्नुपर्ने उपायहरु

  • एकीकृत र स्पष्ट नीति नियम बनाई लागू गर्ने।
  • निर्देशिका, निर्देशन, मार्गदर्शन र बीमादरमा समय–सापेक्ष सुधार गर्ने।
  • दण्डात्मक सजायलाई कडाइका साथ लागू गर्ने।
  • नियमन, निरीक्षणका लागि दक्ष जनशक्ति नियुक्त गर्ने।
  • निरीक्षण टोलीमा विज्ञ व्यक्ति समावेश गर्ने।
  • जोखिममा आधारित निरीक्षण पद्धतिको विकास गर्ने।
  • बीमकको तथ्यांक तथा सूचना नेपाल बीमा प्राधिकरणमा रियल टाइममा आधारित हुने गरी एपीआई इन्ट्रिग्रेसन गर्ने।
  • नियमित रुपमा अनुगमन तथा मूल्यांकन गर्ने।
  • आईएआईएसको कोर प्रिन्सिपलका आधारमा नियमन, निरीक्षण तथा अनुगमन गर्ने।
  • आईसीटी बेस्ड सूचना प्रविधिको पहुँच पुर्याउने।
  • उचित तालिमको व्यवस्था गर्ने।
  • नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय अभ्यास तथा प्रचलनलाई आत्मसात गरी कार्य अगाडि बढाउने।

निष्कर्ष

वित्तीय प्रणालीअन्तर्गत बीमा क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भका रुपमा रहेको छ। मानव जीवन, सम्पत्ति तथा दायित्वमा आउने जोखिमलाई बीमाले पूर्णरुपमा आर्थिक सुरक्षा प्रदान गर्दछ। बीमक, बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकबाट प्रवाह हुने बीमा सेवा गुणस्तरीय, भरपर्दो र विश्वसनीय हुनुपर्दछ। नेपाल बीमा प्राधिकरणबाट इजाजतप्राप्त यी संस्था विधिसम्मत, स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र उत्तरदायी तवरले चल्नुपर्दछ। यसका लागि नीति नियममा समय–सापेक्ष परिमार्जन गर्नुपर्दछ। प्राधिकरणबाट नियमित रुपमा गरिने निरीक्षण तथा अनुगमनबाट बीमकको पुँजी कोष, जगेडा कोष, सोल्भेन्सी, जोखिमांकन, दाबी भुक्तानी, वित्तीय अवस्था, परिपालनको अवस्था, आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनको अवस्थाबारे जानकारी प्राप्त हुन्छ। साथै, बीमकबाट सम्पादित कार्य बीमा ऐन, नियमबमोजिम भए नभएको एकीन गर्न सकिन्छ। यसका आधारमा आवश्यक नीति निर्धारण गर्न प्राधिकरणलाई सहयोग पुग्दछ। नेपाल बीमा प्राधिकरण बीमासम्बन्धी आवश्यक नीति निर्धारण गरी सुदृढ र गुणस्तरीय बीमा प्रणालीको विकासको सुनिश्चितता गर्दै आम नागरिकमा बीमा सेवाको पहुँच पुर्याउन र बीमितको हकहित संरक्षण गरी विश्वसनीय बीमा बजार स्थापित गर्न दृढ संकल्पि छ।

(लेखक दिनेशकुमार लाल नेपाली बीमा प्राधिकरणका निर्देशक हुन्। यो लेख बीमा प्राधिकरणको ५६ औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित विशेषांक–२०८१ बाट साभार गरिएको हो।)

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS