काठमाडौं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सम्झौता भएको छ । शेयर प्रत्याभूतिका लागि कोष र उक्त कम्पनीबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण शेयरको प्रत्याभूति कोषले गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरेका हुन् ।
न्यादीले प्रतिकित्ता रु एक सयका दरले तीन करोड तीन लाख ६० हजार सात सय ८४ कित्ता शेयर निष्कासन गर्दैछ । उक्त शेयरको रु तीन अर्ब तीन करोड ६० लाख ७८ हजार चार सय बराबरको शेयर प्रत्याभूति कोषले गर्ने भएको हो ।