काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको हकप्रद शेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १८ गतेदेखि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।
यस अनुसार कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।