काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिक साधारणसभा आज फागुन २० गते गर्दैछ । कम्पनी सञ्चालक समितिको माघ २६ गते बसेको बेठकले सभाको मिति तय गरेको हो। सभा काठमाडौंको पदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ४.२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड १० लाख ५२ हजार ६३१.५८ रुपैयाँबराबरको नगद लाभांश छन्।
सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको १०ः८ अर्थात १० शेयरबराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। यो भनेको चुक्तापुँजीको ८० प्रतिशत हो।
कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रको सम्बन्धित दफाहरु संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा थपघट गर्ने प्रस्ताव सभाले स्वीकृत गर्नेछ।
सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीतर्फको रिक्त रहेको १ जना सञ्चालक पदमा बाँकी कार्यकालका लागि तथा सर्वसाधारण शेयरधनी समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गर्नेछ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। आर्थिक वर्ष २०८०/८१ का लागि लेखा परीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते बुक क्लोज गरेको थियो । यसका आधारमा फागुन ६ गतेसम्म कायम शेयरधनीले सभामा भाग सलनुका साथै प्रस्तावित लाभांश पाउनेछन् ।