काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको प्राथमिकतामा शेयर बजार, बीमा र वित्तीय क्षेत्रलाई राखेको छ।
संसदमा आज आगामी आवको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले शेयर बजारलाई पनि बजेटको प्राथमिकतामा राखिएको जानकारी गराएका हुन्। ‘वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण थप प्रभावकारी बनाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो वित्तीय क्षेत्र विकास गरिनेछ’, उनले भने, ‘बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा र पुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्नुका साथै पारदर्शिता र जबाफदेहिता सुदृढ बनाइनेछ।’
सहकारी क्षेत्रको नियमनका लागि आवश्यक कानुनी र संस्थागत व्यवस्था मिलाइने पनि अर्थमन्त्री महतले बताए। ‘लघु वित्त र सहकारीमा बचतकर्ताको लगानी सुरक्षाको व्यवस्था मिलाइनेछ’, उनले भने।