काठमाडौं । विहीवार दोश्रो बजारमा ३ अर्ब ८६ करोडको कारोबार भएकोमा हाइड्रोपावर सेक्टरको २ अर्ब १३ करोड ८६ लाख बराबरको शेयर कारोबार भएको थियो । यो कुल कारोबारको ५५.२८ प्रतिशत हो ।
नेपाल स्टक एक्सेन्ज लिमिटेडमा सूचीकृत हाइड्रोपावर कम्पनीको संख्या दिन प्रतिदिन वृद्धि हुँदै छ । पछिल्लो तथ्याङ्क अनुसार हाइड्रोपावर कम्पनीको संख्या ९१ पुगेको छ । नेपाल धितोपत्र बोर्ड सेबोनमा परेको आवेदनको तथ्यांक अनुसार यो संख्या अझै बढ्ने देखिन्छ ।
नेपाल धितोपत्र बोर्डको आईपीओको अनुमति मागेर बसेका कम्पनीको सूची हेर्दा १६ कम्पनीहरु हाइड्रोपावर सेक्टरका छन् । पछिल्लो तथ्यांक अनुसार सबै सेक्टरको गरेर ३४ कम्पनीहरुले आईपीओ आवेदनको लागि नेपाल धितोपत्र बोर्ड सेबोनमा आवेदन दिएका छन् ।