IME Life New

गलतबाटोबाट बालबालिकाको बीमा गरेपछि प्राधिकरणले दियो कारवाहीको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  केही जीवन बीमकहरुले गलतबाटोबाट बालबालिकाको बीमा गर्न थालेपछि नेपाल बीमा प्राधिकरणले कारवाहीको चेतावनी दिएको छ। प्राधिकरणले बालबालिका सम्बन्धी पुरानो बीमालेख बिक्रीमा रोक लगाइए पनि नेपाल लाइफ लगायत केही जीवन बीमकले सावधिक प्रकृतीको बीमालेख बिक्री गरेको फेला  परेपछि प्राधिकरणले कारवाहीको चेतावनी दिएको हो ।

केही जीवन बीमकले बीमितको प्रवेश उमेर १८ वर्षभन्दा मुनी रहेको बीमालेखहरुलाई बालबालिकाको बीमालेखको विकल्पकरुपमा बिक्री गरेका छन् ।  जीवन लक्ष्मी, जीवन उन्नती, नौलो जीवन समृद्धि, नौलो सदाबहार र धनवर्षा बीमालेखक प्रवेश उमेर १६ वर्ष मात्र भएकाले नेपाल लाइफले यी बीमालेखहरूलाई अस्थायी विकल्पकरुपमा बालबालिकाको बीमालेखको रुपमा प्रयोग गरेको छ।

Esewa
Crest

जीवन बीमालेख निर्देशिका २०७९ को  दफा ५(४) को प्रावधान विपरित १८ वर्ष मुनिका बालबालिका बीमित कायम हुने गरी बीमालेख बिक्री नगर्न प्राधिकरणले बिहीबार परिपत्रमार्फत् सचेत समेत गराएको छ।  दफा ५(४) बमोजिम स्वीकृत बीमालेख मात्र जारी गर्न सचेत गराउँदै निर्देशिकाको प्रावधान विपरित बीमालेख जारी गरेमा बीमा ऐन २०७९ को प्रावधान अन्तर्गत कारवाहि गर्ने चेतावनी दिएको छ।

जीवन बीमालेख निर्देशिकाको दफा ५(४) मा अनुसूची २ बमोजिम बालबालिकाको बीमा गर्नुपर्ने प्रावधान छ। निर्देशिकाको अनुसूची २ मा प्रस्तावकको समेत जोखिम बहन गर्ने गरी बीमालेख तयार गर्नुपर्ने, बीमा अवधि समाप्तीमा बीमाङ्क रकम र बोनश भुक्तानी गर्नुपर्ने, जोखिम प्रारम्भ अगावै बीमितको मृत्यु भएमा बीमाशुल्क फिर्ता गर्नुपर्ने, जोखिम प्रारम्भपछि निधन भएमा बीमाङ्कको २५ प्रतिशत वा बीमाशुल्कमध्ये जुन बढी हुन्छ सो रकम भुक्तानी गर्नुपर्ने प्रावधान छ। यसैगरी प्रस्तावकको बीमा अवधिभित्र जुनसुकै सयममा मृत्यु भएमा बाँकी अवधिको बीमाशुल्क मिनाहा गरी मासिक आय सुविधा प्रदान गर्नुपर्ने प्रावधान रहेको छ।

बालबालिकाको नाममा जारी बीमालेखका कारण बालबालिकाको जीवन नै असुरक्षित हुने अवस्था देखेपछि प्राधिकरणले बालबालिकाको जीवन सुरक्षित बनाउन कठोर निर्णयहरु लिएको छ। बीमालेख निर्देशिकामार्फत् प्राधिकरणले अभिभावकको निधन भएको अवस्थामा बालबालिकालाई आर्थिक राहत प्रदान गर्ने तर बालबालिकाको निधन भएको अवस्थामा अभिभावकले कुनै फाइदा उठाउन नपाउने गरी प्रावधान लागू गरेको छ।

प्राधिकरणले गत असोज १९ गते देखि नै बीमालेख निर्देशिका २०७९ को दफा ५(४)  बमोजिमको प्रावधान सहित स्वीकृत बीमालेख बिक्री गर्न निर्देशन दिएको छ। प्राधिकरणले निर्देशनको अवज्ञा गर्ने जीवन बीमकलाई कारवाही गर्ने चेतावनी दिएपछि केही बीमकले नयाँ प्रावधान अनुसारको बीमालेख स्वीकृति गराई जारी गरि सकेका छन् । नेपाल लाइफ लगायतका केही बीमकले अझैसम्म पनि बालबालिका सम्बन्धी जीवन बीमालेख प्राधिकरणबाट स्वीकृत गराउन सकेका छैनन् ।

बालबालिकाको बीमालेखको जोखिमाङ्कन गर्दा बीमाशुल्क आम्दानीको लोभमा केही अभिकर्ता र बीमक समेतले नैतिक जोखिम (मोरल हजार्ड) र प्रस्तावक अभिभावकको वास्तविक आर्थिक अवस्था र आयश्रोत समेतलाई वास्ता नगरी ठूलो बीमाङ्कको बीमालेख जारी गरेपछि तराईका केही जिल्लामा बीमित बालबालिकाको हत्या अभिभावकले नै गरेको घटना प्रकाशमा आएको थियो । यस्तो घटनाले बीमा नियामक प्राधिकरणका अधिकारीहरुलाई नराम्ररी झस्काएपछि जीवन बीमालाई भविष्यका कर्णधार मानिने बालबालिकाको असमयमै ज्यान गुमाउनुपर्ने कारण बन्न नदिनका लागि प्राधिकरणले कठोरतापूर्वक नयाँ प्रावधान ल्याएको हो ।

यसअघि जीवन बीमालेख निर्देशिका २०७८ मा बालबालिकाको बीमा गर्दा सबै सन्तानको बराबर बीमाङ्कको बीमा गराउनुपर्ने र आफ्नो समेत बीमा गरेको हुनपर्ने प्रावधान समेटेको थियो ।यस्तो प्रावधानले सीमित आम्दानीको श्रोत भएका अभिभावकलाई बीमालेख बिक्री गर्न कठिन भएको गुनासो सहित जीवन बीमक संघले प्रावधानहरुमा संशोधनका लागि प्राधिकरणलाई सुझाव दिएको थियो । प्राधिकरणले जीवन बीमकबाट प्राप्त प्रावधान र नियामकीय स्वविवेकलाई समेत प्रयोग गरेर २०७९ चैत्र १९ गते बालबालिकाको बीमालेख सम्बन्धी पुराना प्रावधानहरुमा परिमार्जन सहित नयाँ प्रावधान लागू गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

43%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS