काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको थियो। कम्पनीले सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो। शेयर खरिदका लागि आज पुस २९ गतेसम्म शिलबन्द बोलपत्र पेश गर्न सकिनेछ।
कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्रीमा ल्याएको हो।शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्। सो शेयर खरिद गर्न न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ भने अधिकतममा कुनै हद तोकिएको छैन।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नागरिक लगानी कोष तथा सनराइज क्यापिटलबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, लक्ष्मी सनराइज बैंकका विराटनगर, धरान, विरगंज, जनकपुर, हेटौँडा, नारायणघाट, पोखरा, बागलुङ्ग, बुटवल, नेपालगंज, सुर्खेत, धनगढी र चरिकोट शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।