बाकाठमाडौं । नेपालमा मोटरधनीले तेश्रो पक्ष बीमा गर्नु अनिवार्य गरिएको छ। यसबाहेक सवारीधनीले बैंक कर्जा प्रयोजनका कारण बाध्य भएर होस् वा आफ्नै सुविधाका लागि समेत मोटरको सम्पूर्ण बीमा गरेका हुन्छन् । सम्पूर्ण बीमा अन्तर्गत मोटरको चोरी, तोडफोड आगजनी वा दुर्घटनाबाट हुने क्षति, दुर्घटनाका कारण मोटरमा सवार सबै र तेश्रो पक्षलाई समेत पुग्न जाने नोक्सानीवापत आइपर्न सक्ने वित्तीय दायीत्व बीमा कम्पनीले नै व्यहोर्ने प्रावधान समेटिएको हुन्छ।
अचेल केही बीमा कम्पनीले दुर्घटनामा परेर क्षतिग्रस्त भएको सवारी साधन ग्यारेजबाट मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन सकिने भएर मर्मत अवधिभरको बैंकको कर्जा किस्ता वा मर्मत गर्न नसकिने भए नयाँ सवारी खरिद गर्नका लागि पुरै रकम उपलब्ध गराउने सुविधा समेतको मोटर बीमालेख पनि बिक्री गरिरहेका छन् । यस्तो सुविधा भएको बीमालेखको बीमाशुल्क सामान्य मोटर बीमाको भन्दा केही महँगो हुन्छ।
सडकमा मोटर गुडाउने क्रममा आफूले जतिसुकै सावधानीपूर्वक हाँक्दा पनि तेश्रो पक्षको लापरवाही वा कुनै भवितव्यले मोटरमा कुनै क्षति पुग्ने संभावनालाई नकार्न सकिन्न । मोटरको बीमा दुरुस्त र अध्यावधिक अवस्थामा छ भने बीमाको दाबी गरि हाल्नेतर्फ सोच आउनु पनि स्वाभाविक नै हो । मोटरमा क्षति पुगेलगत्तै बीमा दाबी गर्दा मर्मत संभारका लागि क्षतिपूर्ती पाइने भएकाले बीमा दाबी गर्नु लाभदायक नै हुन्छ । शायद आम उपभोक्ताले यसलाई नाफा नै भएको ठान्छन् । तर एउटा तथ्य तपाईलाई थाहा नहुनसक्छ, कहिलेकाली तपाईले बीमा दाबी गर्नुभन्दा नगर्नु नै बुद्धिमानी र आर्थिक हिसाबले फाइदाजनक हुनसक्छ । त्यो कसरी भन्ने जिज्ञासा तपाईको मनमा हुनसक्छ, आउनुहोस् हामी यहाँ एउटा साधारण उदाहरणमार्फत् यसबारे बुझ्ने प्रयास गर्नेछाैंः
मानाैं सन् २०२१ मा निर्मित एउटा मोटर कारको खरिद मूल्य ५० लाख रुपैयाँ छ। बीमा गर्दा शुरु वर्षमा यही रकम घोषणा गरेर बीमा गरिएको छ। दोश्रो वर्षमा बीमा नविकरण गरेपछि दुर्भाग्यवश तेश्रो पक्षको मोटरसाइकलको ह्याण्डल र लेगगार्डले कारको ढोकामा नराम्ररी कोतरियो । कोतरिएलगत्तै तपाईले त्यसको फोटो खिंचेर बीमकको एप्स वा कुनै सम्पर्क माध्यमबाट जानकारी गराउनुभयो । कारलाई वर्कशपमा लैजाँदा मर्मतका लागि १० हजार रुपैयाँ खर्च लाग्ने जानकारी सहित कोटेशन दिएको छ। तपाईले कोटेशन हात परी सकेपछि तपाईले बीमकलाई जानकारी गराउनुहुन्छ।
बीमा कम्पनीमा दाबीको बाँकी प्रकृया गर्नु अघि तपाईले बाहेक सवारीमै रहेको मोटर बीमालेखको कागज पनि एक पटक पल्टाएर ध्यानपूर्वक पढ्नु होला । त्यहाँ व्यक्तिगत अधिक(एक्सेसन अन ओन ड्यामेज) शिर्षक अन्तर्गत कुनै रकम उल्लेख छ भने कोटेशनमा उल्लेखित कर बाहेकको रकमबाट त्यो रकम घटाउनुहोस् । सामान्यतया यस्तो रकम १ हजार रुपैयाँ देखि १० हजार रुपैयाँसम्म कायम गरिएको हुन्छ। बीमितको सहमतिमा यस्तो रकम निर्धारण गर्दा बीमकले बीमित स्वयमले व्यहोर्ने रकमको आधारमा पनि बीमाशुल्क गणना गरेको हुन्छ। स्वयम् व्यहोर्ने रकम कट्टा गरि सकेपछि बाँकी रहने कर बाहेकको रकम कति हुन आउँछ गणना गर्नुहोस् । यति गरि सकेपछि बीमा कम्पनीको दाबी विभागका कर्मचारीलाई सम्पर्क गरेर तपाईले बीमा दाबीवापत अधिकत्तम कति रकम क्षतिपूर्तीवापत प्राप्त गर्न सक्नुहुन्छ भन्ने जानकारी माग्नुहोस् । साथै बीमा दाबी नगरेको अवस्थामा बीमाशुल्कमा कति रकम छुट पाउनुहुनेछ भन्ने जिज्ञासा समेत राख्नुहोस् । यदी तपाईले बीमा दाबी गर्दा प्राप्त गर्ने क्षतिपूर्तीवापतको रकमभन्दा बीमा दाबी नगर्दा पाउने बीमाशुल्क छुटको रकम अधिक छ भने दाबी नगर्नु नै बेश हुनेछ। किनकी तपाईले बीमालेख नविकरण गर्ने समयमा प्राप्त गर्ने छुट दाबी रकमवापतको क्षतिपूर्तीभन्दा बढी हुनेछ ।
अर्को चाहिँ तपाई यदी दुर्घटनामा परेको मोटर कारको बीमालेख नविकरण गर्ने समय शुरु हुनु अगावै बिक्री गर्ने मनशाय छ वा बिक्री गर्ने निश्चित छ भने बीमा दाबीवापतको क्षतिपूर्ती रकम लिनु नै बुद्धिमानी हुनेछ किनकी तपाईले मोटर बिक्री गरेपछि त्यसको बीमालेखवापतको छुट वा भार दुबै खरिदकर्ताको काँधमा सर्नजान्छ।
मोटर बीमामा एक वर्ष नगर्दा २० प्रतिशत, लगातार २ वर्ष नगर्दा ३० प्रतिशत, ३ वर्ष नगर्दा ४० प्रतिशत, ४ वर्ष नगर्दा ४५ प्रतिशत र ६ वर्ष नगर्दा ५० प्रतिशत रकम बीमाशुल्कमा छुट प्राप्त हुन्छ । त्यसैले तपाईले प्रत्येक पटक मोटर बीमालेख अन्तर्गत क्षतिपूर्ती दाबी गर्नु अघि छुट रकम र क्षतिपूर्तीवापत प्राप्त हुने रकमको अन्तरलाई विचार गरेर मात्र निर्णय लिनुहोला ।