काठमाडौं । लाभांशको मौसम सुरु भएको छ। गत आर्थिक वर्ष ७९/८०सम्मको संचित मुनाफाबाट ४ वाणिज्य लाभांश प्रस्ताव गरेका छन् । ४ वाणिज्य बैंकमध्ये माछापुच्छ्रे बैंकले साधारणसभाको मिति पनि तय गरेको छ भने अन्य तीनले साधारणसभा र बुक क्लोजको मिति तय गर्न बाँकी छ ।
कम्पनीको बजार मूल्य र प्रस्तावित लाभांशलाई दाँजेर हेर्दा कुन कम्पनीको लाभांशमा आजको बजार मूल्यमा खरिद गर्दा धेरै प्रतिफल छ भन्नको लागि “डिभिडेण्ड इल्ड”बाट हेर्न सकिन्छ । उदाहरणको लागि कुनै कम्पनीको बजार मूल्य २०० रुपैयाँ छ र त्यो कम्पनीले १० प्रतिशत नगद लाभांश दिँदै छ भने सो मूल्यमा शेयर खरिद गरेर लाभांश खादा ५ प्रतिशतको इल्ड प्राप्त हुन्छ। (अंकित मूल्य एक सय भएको अवस्थामा)
माछापुच्छ्रे बैंकको संचालक समितिको बैठकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ८ गते बुक क्लोज गरेको छ। यसको अर्थ असोज ७ गतेसम्म कायम शेयरधनीले कम्पनीको लाभांश प्राप्त गर्ने योग्य हुनेछन् । त्यस्तै एभरेष्ट बैंकको संचालक समितिको बैठकले १० प्रतिशत बोनस र १० दशमलव ५३ प्रतिशत नगद लाभांश र सानिमा बैंकको संचालक समितिको बैठकले ९ प्रतिशत बोनस र ५ दशमलव ७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । दुई आर्थिक वर्ष पछि एनआईसी एशिया बैंकले २९ प्रतिशत बोनस शेयर र १ दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
भदौ २७ गतेको बजार मूल्यको आधारमा ४ बैंकमध्ये माछापुच्छ्रे बैंकको “डिभिडेण्ड इल्ड” सबै भन्दा धेरै छ । माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने कम्पनीको बजार मूल्य २६९ रुपैयाँ छ । पछिल्लो बजार मूल्यको आधारमा बैंकको “डिभिडेण्ड इल्ड” ५ दशमलव २० प्रतिशत छ ।
त्यस्तै सानिमा बैंकको पछिल्लो बजार मूल्यको अधारमा “डिभिडेण्ड इल्ड” ४ दशमलव ८७ प्रतिशत, एनआईसी एशिया बैंकको ३ दशमलव ७३ प्रतिशत र एभरेष्ट बैंकको ३ दशमलव २८ प्रतिशत रहेको छ ।
नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला !