IME Life New

उच्च व्यवस्थापनकाे पेलाईपछि बीमा क्षेत्रबाट पलायन हुने पुराना कर्मचारीकाे संख्या बढ्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । जीवन बीमा व्यवसायको वृद्धिदर क्रमशः खुम्चिंदै जान थालेपछि थपिएको चुनौती थेग्न नसक्दा पेशाबाट पलायन हुन बाध्य कर्मचारीको संख्या दिनदिनै थपिंदै जान थालेको छ ।

जीवन बीमा कम्पनीहरुको बजार व्यवस्थापन विभाग र मानव संशाधन विभागमा कार्यरत अधिकारीहरुको अनुभवमा पहिलो पटक यति ठूलो संख्यामा पुराना कर्मचारी बाहिरिने र नयाँ नियुक्ति गर्ने क्रम बढेको हो । बीमा कम्पनीहरूबीच मर्जर सम्झाैताका कारण अवकाश लिने कर्मचारीकाे संख्या थपिए पनि मर्जरभन्दा पनि व्यवसायीक लक्ष्य पुरा गर्न नसकेर वा कामै गर्न नसकेर राजीनामा दिन बाध्य भएकाहरूकाे संख्या अधिक छ ।

Esewa
Crest

जीवन बीमाको मार्केटिङ चुनौतीपूर्ण काम हो,एकजना अनुभवी शाखा प्रबन्धकले जनशक्ति पलायनबारे जिज्ञासामा टिप्पणी गर्दै भने,अनुभवी जनशक्तिलाई टिकाउन गाह्राे र नयाँ नियुक्त भएकालाई सिकाउन गाह्राे ।

जीवन बीमा कम्पनीहरुबीच मर्जरका कारण उच्च व्यवस्थापन तह बीमा व्यवसाय बिस्तारका लागी चर्काे दबाबमा छ । अर्कोतर्फ मर्जर पछि अस्तित्वमा आउने ठूला कम्पनीसँग झन् सशक्तरुपमा प्रतिस्पर्धा गर्नुपर्ने चुनौतीका कारण उच्च व्यवस्थापनले संचालन लागत कटाैती गर्ने उपायकाे खाेजीमा माथिल्लाे तहका स्थायी कर्मचारी संख्या कटाैतीका गर्दै जाने रणनीति लिएका छन् ।

बजारमा अवस्था सामान्य हुँदा सयवटा यूनिटमध्ये पाँच दश यूनिटले संचालक खर्च समेत धान्न नसक्दा पनि उच्च व्यवस्थापनले आँखा चिम्लिन्थ्यो,तर अहिले प्रत्येक यूनिटलाई उसले गर्ने आम्दानी र खर्चको कसीमा जाँच्न थालिएको छ । कामै गर्न नसक्ने यूनिटका कर्मचारीविरुद्ध कारवाहीको लागी तलब रोक्का गर्ने र सुधार नदेखिए अपायक जिल्लामा सरुवा गरेर राजीनामा गर्न बाध्य पार्ने रणनीति अधिकांश जीवन बीमा कम्पनीले लिएका छन् ।

मानव संशाधन विभाग प्रमुखहरुका अनुसार व्यवसायीक लक्ष्य पुरा गर्ने शर्तमा नयाँ भर्ना गरिएकाहरु महिना दिन पनि टिक्न सकेका छैनन् । उनीहरुका अनुसार नवआगन्तुकहरु कति बेला आए र कति बेला बाहिरिए भन्ने स्मरण गर्न समेत कठिन हुन थालेको छ ।

कोरोना महामारीको समयमा समेत कर्मचारीलाई पदमुक्त गर्ने वा राजीनामा दिन बाध्य पार्ने प्रवृत्ति खासै थिएन,एकजना उच्च व्यवस्थापकले भने,अहिले संचालन खर्च समेत थेग्न नसक्ने अवस्था भएका सबै शाखा,उपशाखामा धमाधम सफाई अभियान चलिरहेको छ ।

आर्थिक मन्दी र बैंक तथा वित्तीय संस्थासँग लगानी योग्य पूँजी नहुनु र महँगी समेत वृद्धि हुँदा सर्वसाधारणसँग जीवन बीमाका लागी लगानी गर्न पर्याप्त नगद उपलब्ध छैन । बजारमा तरलता अभावसँगै मुद्दती बचतमा उच्च ब्याजदरका कारण सर्वसाधारणको प्राथमिकतामा जीवन बीमा पर्न छोडेको छ ।

अहिले वास्तवमै बीमा क्षेत्रमा हामीले पहिलो पटक यति कडा चुनौती व्यहोर्नु परेको छ, बीमा क्षेत्रमा डेढ दशक लामो अनुभवी एक महाप्रबन्धकले भने,यो अवस्था जति लम्बियो, यो क्षेत्रबाट पलायन हुनेको संख्या उत्ति नै थपिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

56%
sad

दु :खी

6%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS