हाल ललितपुर इमाडोल बँस्दै आएका राम बहादुर तामाङको पुर्खेउली घर काभ्रेपलाञ्चोक हो । राम बहादुर तामाङ पेशाले बीमा अभिकर्ता हुन् । एमए तह उत्तिर्ण गरेका तामाङले आफ्नो करिअर भने शिक्षण पेशाबाट सुरुवात गरे । तामाङ यो पेशामा आवद्ध हुनु अघि १३ वर्ष सम्म सरकारी विद्यालयमा अध्यापन गराउँदै आएका थिए ।
विस २०६८ साल देखि बीमा अभिकर्ता पेशामा लागेका राम बहादुर अहिले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । शिक्षण पेशामा रहँदा देखि नै उनी आफ्नो आम्दानी लाई कसरी वृद्धि गर्न सकिन्छ भन्ने कुरामा सजग थिए । “शहरको बसाई एउटा पेशाले मात्रै दैनिकी गुजार्नलाई त्यति धेरै सहँजता थिएन । यसै क्रममा मैले टिउसन पढाउन थाले । कताकता मलाई यो पेशा प्रति असन्तुष्टि लाग्न थाल्यो । अरु नै केही पेशा गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । यसै क्रममा मैले एक साथिको सल्लाह बमोजिम मार्केटिङ फिल्डमा लाग्न पुगे । यो क्षेत्रमा मैले धेरै उतारचढाव भोग्नु पर्यो । तर म अलि पछि सफल हुँदै गए,” उनले बताए ।
यसै क्रममा विसं २०६८ सालमा उनको एक जना बीमा अभिकर्ता सँग भेट भयो । उनै अभिकर्ता मार्फत राम बहादुर तामाङले जीवनमा इन्स्योरेन्सका बारेमा प्रस्ट भएका थिए ।
बीमा अभिकर्ताको लाइसेन्स प्राप्त गरे पछि उनले शुरुमा आफ्नै बीमा गरे । पहिलो बीमा गराउँदा खासै गारो नभएको तामाङ बताउँछन् । उनी भन्छन् “शिक्षण पेशामा लामो समयसम्म काम गरेको अनुभवले गर्दा पनि मलाई त्यत्ति धेरै गारो भएन ।”
बीमा एक किसिमको सामाजिक सेवा हो, बीमा सम्बन्धि ज्ञान बाट बीमितको सामाजिक ज्ञान, सद्भाव, हुनुका साथै अप्ठेरोपनलाई पनि सजिलैसँग पार गर्न सक्ने हिम्मत प्रदान गर्दछ । जसबाट आर्थिक सुरक्षा पनि हुने उनको दाबी छ ।
यो पेशामा लागेर एकदमै सन्तुष्टि प्राप्त गरेको उनी बताँउछन् । एकै ठाँउमा बसेर काम गर्नु पर्ने हुँदैन, नयाँ अनुभव, देशविदेश घुम्न पाईने, आम्दानीको हिसाबले पनि अन्य पेशा भन्दा राम्रो हुने जस्ता कुराहरुले गर्दा नै आगामी दिनहरुमा पनि यहि पेशामा लागि उनको दाबी छ ।
उनी भन्छन्, अध्ययन नगर्ने, पर्याप्त रुपमा तालिम नलिने, सजिलै बीमा आईदिओस भन्ने सोच, म चाडैँ नै मेहेनत नगरी कमाउन सकौँ भन्ने जस्ता चुनौतिहरु नेपाली बीमा अभिकर्ताहरुमा रहेको पाईन्छ ।
बजारमा नयाँ बीमा कम्पनीहरु आए सँगै अभिकर्ताहरुको पेशा अलि चुनौतीपूर्ण भएको छ । सबै बीमा कम्पनीहरुले योग्य अभिकर्ताहरु नियुक्त गर्छन भन्ने छैन् । सबैलाई राम्रोसँग तालिम दिन्छन् भन्ने पनि छैन् । यस्तै इन्स्योरेन्स व्यवसाय भित्र गलत तरिकाले मार्केटिङ गर्ने अभिकर्ताहरु पनि छन् । यो बीमा अभिकर्ता पेशाको अर्को चुनौति हो । यस्तै बीमा अभिकर्ताको अर्को चुनौती भनेको अर्बौ, खर्बौको व्यवसायलाई राज्यले वेवास्ता गरेर कहिले काँही अनावश्यक रुपमा दुख दिने गर्दछ । तर यी यावत चुनौतिहरुसँग सामना गर्न सक्यो भने पक्कै यो व्यवसायको भविष्य चाहिँ एकदमै उज्वल रहेको छ ।
तामाङ भन्छन् एउटा बीमा अभिकर्तामा धेरै गुणहरु हुनु पर्दछ । धर्यवान, नयाँ नयाँ कुराहरु निरन्तर सिकिरहने बानि, आफुले काम गर्ने कम्पनी कस्तो छ, अन्य कम्पनीहरुको पोलिसि कस्तो छ बुझ्ने जस्ता गुणहरु एउटा बीमा अभिकर्तामा हुनु पर्दछ । यसका साथै नम्र बोलि, हसिलो व्यवहार जस्ता गुणहरु हुनु आवश्यक पर्दछ ।
बीमा एक किसिमको आइडिया सेलिङ हो । एक बीमा अभिकर्तामा कम्पनीको प्रोडक्टको फाइदा लगायत विशेषता जस्ता सबै कुराहरुको ज्ञान हुनु जरुरी हुन्छ । कुनै ग्राहकका सामु बीमा प्रस्ताव गर्न जादाँ उसको पारिवारिक अवस्था उसको बानी, आर्थिक अवस्था, सामाजिक अवस्थाका आधारमा जानु पर्ने हुन्छ । उसको आवश्यकताको आधारमा बीमा प्रस्ताव लिएर जानु पर्ने हुन्छ ।
तामाङ भन्छन्, बीमा अभिकर्ता बीमा कम्पनी र बिमितको बीचमा पुलको रुपमा काम गर्ने व्यक्ति हो । कम्पनीको नीति अनुसार बजारमा बीमितहरु अथवा सम्भावित ग्राहकहरुलाई बीमाको प्रोडक्टको बारेमा जनचेतना जगाएर एउटा सम्झौता गराउँने व्यक्ति नै बीमा अभिकर्ता हो ।
“बीमा उत्कृष्ट बचत हो, बीमा मार्फत बीमितलाई थप आम्दानीको स्रोत हो साथै बीमा आर्थिक सुरक्षा हो,” उनले भने । बीमा एक किसिमको मानव सेवा हो, साथै आम्दानीको एक पाटो पनि ।
उनी भन्छन्, आम जनतालाई बीमाको पहुचमा ल्याउनका लागि बीमा समिति, बीमा कम्पनी र अभिकर्ताहरुको उत्तिकै महत्वपूर्ण भुमिका रहेको हुन्छ । जो दिन प्रतिदिन आफ्नो समाजमा, घर, दैलोमा पुगेर बीमाको जनचेतना फैलाँउदै हिड्छन्, तीनिहरुको लागि राज्यले उचित किसिमको नीति नियम बनाइदिएर र उनीहरुको आर्थिक तथा जीवनको सुरक्षाको ग्यारेण्टी राज्यले गर्नु पर्छ । साथै बीमा कम्पनीहरु पनि हचुवाको भरमा अभिकर्ताहरु नियुक्ति गरिदिने, २/४ वटा पोलिसि ल्याओस त्यस पछि काम गरे गरोस नगरे नगरोस् भन्ने मनसाय बाट माथि उठ्नु पर्ने हुन्छ ।
साथै बीमा अभिकर्ताहरुलाई कस्तो खालको तालिम वा रणनीतिमा जादाँ खेरि उनीहरुको व्यसायिक दक्षता हाँसिल गर्न सक्छ, त्यस्तो खालको तालिमहरु, कार्यक्रमहरु चाँहि बीमा कम्पनीहरुले सञ्चालन गर्नुपर्ने हुन्छ । ताकि एउटा बीमा अभिकर्ता व्यवसायिक रुपमा त्यहि पेशा मै स्थापित भएर समाजको एउटा उदाहरण बन्न सकोस् ।
बैंकास्योरेन्सले ग्राहकलाई प्रोडक्टको सही ज्ञान दिन सक्दैन् । त्यसैले बीमित चाँही दोधारमा पर्ने समस्या हुन्छ । बैंकास्योरेन्सले बीमितहरुलाई लोन दिने नाममा जर्वजस्ती पोलिसिहरु भिडाउने गर्छन् । तर हामी अभिकर्ताहरुले बीमितलाई सुहाउँदो खालको प्रोडक्टको बारेमा चिरफार गरेर बुझाउछौँ, जुन बैंकास्योरेन्समा सम्भव देखिदैन, उनले भने ।
उनी भन्छन्, कुनै पनि प्रोड्क्टको फिचरको बारेमा बुझ्ने अधिकार एउटा बीमितमा हुन्छ त्यो अधिकार बैंकास्योरेन्सले बञ्चित गरिदिन्छ । बैंक भनेको त निक्षेप संकलन गरेर, पूँजी संकलन गरेर र लगानी गरेर त्यसको व्याज खाने हो, जबकि अभिकर्ता बनेर पोलिसि सेल गरेर कमिशन खाने र नाफा खाने काम बैंकको होइन । बैंकास्योरेन्सले तमाम अभिकर्ताहरुको पेशामा एक किसिमको चुनौती देखा परेको छ । बीमा कम्पनीहरुले दुर्गम ठाँउमा जाने अभिकर्ताहरुलाई विशेष खालको प्राथमिकता दिनु पर्ने देखिन्छ ।