काठमाण्डौं । स्वदेशी बीमकले शत प्रतिशत पूनर्बीमा स्वदेशी पूनर्बीमकसँग नै गर्नुपर्ने बाध्यकारी प्रावधान लागू हुनु दुई महिना पूर्व नै बीमा समितिले केही लचकता देखाएको छ । समितिले सबैखाले पूनर्बीमा शत प्रतिशत स्वदेशी पूनर्बीमकसँगै गराउनुपर्ने प्रावधानमा केही संशोधन गरेको हो ।
समितिले बुधबार जारी गरेको परिपत्र अनुसार नेपाल पूनर्बीमा कम्पनी(नेपाल रि) लाई बीमकबाट प्राप्त नेपाल सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा कुनै पनि अवस्थामा अस्वीकार नगर्न निर्देशन दिएको छ । कूल पूनर्बीमाको बीस प्रतिशत नेपाल रिसँगै सम्झौता गर्नुपर्ने बाध्यकारी प्रावधान रहेकोमा नेपाल रिले जोखिमको मूल्यांकनका आधारमा जोखिम स्वीकार्ने वा अस्वीकार्ने निर्णय गर्दै आएको थियो । तर यो परिपत्रले नेपाल रिलाई अनिवार्य पूनर्बीमा अन्तर्गतको हिस्सावापतको व्यापारमा जोखिमको मूल्यांकन गर्ने अवसरबाट वञ्चित गरिदिएको छ ।
ट्रिटी पूनर्बीमा अन्तर्गत नेपाल रिले २० प्रतिशत हिस्सा ग्रहण गरी सकेपछि बाँकी रहने ८० प्रतिशत हिस्साको १५–१५ प्रतिशत व्यवसाय पहिलो वर्ष र २०–२० प्रतिशत व्यवसाय दोश्रो वर्ष प्रत्येक पूनर्बीमक(नेपाल रि र हिमालय रि)लाई दिन समितिले बीमकलाई निर्देशन दिएको छ । यसको अर्थ आर्थिक वर्ष २०८०–८१ देखि ट्रिटी पूनर्बीमा अन्तर्गतको कूल व्यवसायको ७६ प्रतिशत हिस्सा अब स्वदेशी पूनर्बीमकलाई नै दिनुपर्नेछ । बीमकहरुका अनुसार ७६ प्रतिशत हिस्सा स्वदेशी पूनर्बीमकलाई नै दिने हो भने बाँकी रहने सानो अंशको जोखिम व्यहोर्न विदेशी पूनर्बीमक ईच्छुक हुनेछैनन् ।
तर ट्रिटी पूनर्बीमा अन्तर्गत विदेशी पूनर्बीमक रोज्नको लागी केही सहुलियत दिएजस्तो गरेपनि फ्याकल्टेटिभ पूनर्बीमा गर्दा सम्पूर्ण फ्याकल्टेटिभ पूनर्बीमा स्वदेशी पूनर्बीमकलाई नै गर्न प्रस्ताव गर्नुपर्ने बाध्यकारी प्रावधान राखेको छ ।
स्वदेशी पूनर्बीमकले प्राप्त फ्याकल्टेटिभ प्रस्ताव पूर्ण वा आंशिकरुपमा गर्न नसकेको खण्डमा त्यस्तो पूनर्बीमा कम्तीमा एम वेष्ट रेटिङ एजेन्सीको बि प्लस रेटिङ वा सो सरहको(एस एण्ड पि रेटिङ को हकमा ए, मुडीज रेटिङको हकमा एटु र फिच रेटिङको हकमा ए) रेटिङ भएको पूनर्बीमा कम्पनीलाई दिन सकिने समितिको परिपत्रमा उल्लेख छ । रेटिङ भन्नाले पूनर्बीमको वित्तीय सबलता रेटिङ(इन्सुरर्स फाइनान्सियल स्टेङथ रेटिङ) बुझ्नुपर्नेछ । तर दक्षिण एशियाली राष्ट्र(सार्क राष्ट्र) मा रहेको सरकारी स्वामित्वमा रहेका पूनर्बीमकको हकमा रेटिङ सम्बन्धी व्यवस्था लागू हुनेछैन ।
कुनै पनि बीमकले जारी गर्ने सबैखाले बीमाको जोखिम बहन गर्ने गरी जारी गरिएको पूनर्बीमा सम्झौतालाई ट्रिटी पूनर्बीमा भनिन्छ । यो पूनर्बीमा सम्झौता छाता पूनर्बीमा सम्झौता सरह नै लागू हुन्छ । पूर्व घोषित सीमाभित्र रहेर बीमकले जोखिमलाई पूनर्बीमकमा हस्तान्तरण गर्ने सुविधा उपलब्ध हुन्छ ।
फ्याकल्टेटिभ पूनर्बीमा अन्तर्गत बीमकले सबै प्रकारका बीमाको जोखिम हस्तान्तरण गर्ने नभई कुनै विशेष जोखिम वा पूर्व निर्धारित जोखिमहरुको समूहको मात्र पूनर्बीमा सम्झौता गरेको हुन्छ । यो पूनर्बीमा सम्झौता छोटो अवधि वा विशेष जोखिमको लागी मात्र लागू हुन्छ ।
बीमा समितिले निर्जीवन बीमा व्यवसाय अन्तर्गतको यात्रा तथा स्वास्थ्य बीमा बाहेक मोटर बीमा, कृषि बीमा, लघु बीमा तथा विविध बीमालाई स्वदेशमा नै शत प्रतिशत पूनर्बीमा गर्नुपर्ने निर्देशन दिएको छ । तर यसमा हवाई बीमा, इन्जिनियरिङ बीमा, सम्पत्ति बीमा सम्बन्धमा निर्देशन मौन रहेको छ ।
निर्देशिका भन्दा परिपत्र प्रभावशाली?
नियामकीय भूमिका निर्वाह गर्ने क्रममा नयाँ प्रावधानहरु घोषणा गर्दा समय समयमा विवादास्पद निर्णयहरु गर्दै आएको बीमा समितिको नेतृत्वले पुनः यसपटक अर्को विवादास्पद निर्णय गरेको छ । बुधबार जारी पूनर्बीमा सम्बन्धि परिपत्रसँग पूनर्बीमा निर्देशिका २०७८ को कुनै दफा बाझिएमा परिपत्रमा उल्लेखित बुँदा नै मान्य हुने विवादास्पद निर्देशन जारी गरेको छ ।
बीमा ऐन, विनियमावली र निर्देशिकाको प्रावधानको सीमा भित्र रही परिपत्र जारी गरिने भएपनि बीमा समितिले परिपत्रलाई नै सर्वोपरी हुने निर्देशन जारी गरेको हो ।