काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले बैशाख २२ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता शेयर जारी गर्न लागेको हो । आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला हाल सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
स्थानीयहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था छ । आइपीओमा छिटोमा जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ ।
आइपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
आवेदकले विक्री प्रबन्धकसँगै स्थानीयले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीले सोलुखुम्बु जिल्लामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।