काठमाडौं । सगरमाथा अक्सिजन नेपालको प्लान्टमा बिहीवार ग्यास भर्ने क्रममा लिक भइ पड्किदा ३० करोड रुपैयाँ भन्दा धेरैको क्षति भयो । तर विडम्बना कम्पनीले जम्मा तीन करोड रुपैयाँको मात्रै बीमा गरेको पाइएको छ । बैंकबाट कर्जा लिने क्रममा कर्जा प्रयोजनका लागि मात्रै कम्पनीले आइएमई जनरल इन्स्योरेन्स कम्पनीमा तीन करोड रुपैयाँको बीमा गरेको थियो ।
बीमा कम्पनीले आफ्ना सर्भेयरलाई क्षति मूल्याङ्कनका लागि घटना स्थलमा पठाइसकेको छ । तर पुर्ण रुपमा क्षति भएको हुँदा कम्पनीले जम्मा तीन करोड रुपैयाँको मात्रै राहत पाउने भएको छ ।
पाटन औद्योगिक क्षेत्रमा सञ्चालित प्लान्टमा बिहीबार बिहान १० बजेर ५ मिनेटमा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइ पड्किँएको हो । यस घटनामा २ जनाको मृत्यु भएको छ भने ६ जना घइते अवस्थामा छन् ।
कम्पनीकाले प्लान्ट भित्र रहेको सम्पत्तीको मूल्याङ्कन नै नगरी बैंकिङ कर्जाका लागि मात्रै बीमा गर्दा क्षतिपुर्ती पाउनबाट बन्चित भएको छ । विज्ञहरुका अनुसार बीमा कम्पनी तथा बीमा गराउने पक्षले बीमितलाई राम्रो सँग नबुझाउदा यस्तो अवस्था आएको हो ।
अर्को तर्फ बैंकका लागि मात्रै बीमा गर्न खोज्दा यस्तो अवस्था आएको हो । सम्पत्तीको मूल्याङ्कन नगरी थोरै प्रिमियम भुक्तानी गर्ने नियतले बीमा गर्दा परेको बेलामा क्षति पाइदो रहेनछ भन्ने यो सबैभन्दा राम्रो उदाहरण हो । यदि कम्पनीले ३० करोड रुपैयाँको बीमा शुल्क भुक्तानी गरेको भए कम्पनीले सजिलै प्लान्टलाई स्थापित गर्न सक्थ्यो । यसरी जिन्दगीभर कमाएको रकम एक दिनको विष्फोटले नष्ट भएको छ ।
दुर्घटनास्थलको निरीक्षणका लागि पुगेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताएका छन् । यसबाट कम्पनीलाई केहि राहत दिए पनि सञ्चालक ठुलो आर्थिक भारमा पर्ने भएका छन् । उनले बीमाबाट पाउने तीन करोड रुपैयाँ पनि बैंकले लैजाने हुँदा उनलाई नयाँ प्लान्ट खडा गर्न धेरै गाह्रो पर्नेछ ।
अर्को तर्फ अस्पतालमा ठुलो मात्रामा अक्सिजन सप्लाइ गर्दै आएको सगरमाथाको उत्पादन नहुँदा बजारमा अक्सिजनको अभाव देखिन थालिसकेको छ । यदि उनले प्लान्टको बास्तविक मूल्याङ्कन गरेर बीमा गरेको भए सञ्चालकले केहि महिना भित्रै उक्त प्लान तत्काल खडा गर्न सक्थे । विश्लेषकहरुका अनुसार नेपालमा बीमा गर्नु अगाडी मूल्याङ्कन गर्ने मेकानिजम छैन । सम्पत्तीको मूल्याङ्कन गरेर त्यस आधारमा बीमा गराउने अभ्यास नहुँदा बीमा समितिले सम्पत्तीको मूल्याङ्कन गर्ने भ्यालुएटरको व्यवस्था गर्नु पर्ने उनिहरुको राय छ । बीमितले चाहेरै कम प्रिमियम तिर्न खोजेमा त्यसमा स्वयं बीमित नै जिम्मेवार हुन्छ । तर थाहा नभएर वा कसैले जानकारी नगराएका कारण बीमा नहुने अवस्थामा यस्तो व्यवस्थाले वास्तविक मूल्यको बीमा हुन सक्थ्यो । अर्को तर्फ भ्यालुएटरले मूल्याङ्कन गरेर बीमा गराउदा बीमा योग्य हितको सिद्धान्तको पनि परिपालना हुन्थ्यो ।