IME Life
GBIME

हेलो हजुर मेरो दाबी कहाँ पुग्यो ? नेपालमा बीमितले आफ्नो दावी ट्रयाकिङ गर्न समस्या, शेर बहादुर बुढाको लेख

SPIL
NIC ASIA new
NLIC

शेर बहादुर बुढा । घटनाका कारण आफुले बीमागरेको सम्पतिमा पुग्न गएको क्षतिको क्षतिपूर्ति पाउनका लागि बीमितले बीमादावी गर्छ र सर्भेयरबाट माग भएका कागजातहरु जुटाउछ | बीमितको दावी लाग्ने नलाग्ने र दावी लाग्ने भएमा कति क्षतिपूर्ति पाउने भनि एकिन गर्ने सर्भेयर र बीमाकम्पनीको अधिकार एकातर्फ़ छ भने अर्कोतर्फ आफ्नो दावीमा के भइ राखेको छ ? दावी प्रक्रिया कहाँ पुग्यो ? दावीको कहिले सम्म टुंगो लाग्ने हो ?  भन्ने जस्ता न्युनतम प्रक्रियागत जानकारीहरु सहजै र तुरुन्तै प्राप्त गर्न पाउनु  दाविकर्ता बीमितको अधिकार हो | प्रिमियम तिर्ने ग्राहकरुपी बीमितले उक्त जानकारीहरु सहज रुपमा पाएमा मात्र बीमितको बीमा दावी कार्यप्रक्रिया प्रति विस्वास बढ्दछ | जनमानसमा बीमा क्षेत्रको दावी कार्यप्रक्रिया प्रति विस्वास बढ्दै गएमा मात्र निर्जीवन बीमाक्षेत्रको दिगो विकास हुनेछ |

सर्भेयरबाट आफ्नो दावीको अवस्था बारे जानकारी पाउन लाग्ने गरेको बीमितको समय र शक्ति 

Crest

हाल नेपालका कुनै पनि वेवसाइटमा आफ्नो पोलिसि नम्बर इन्ट्री गरेर बीमादावीको स्ट्याटस हेर्न सकिने सिस्टम नभएकाले बीमाकम्पनीमा सर्भे रिपोर्ट दर्ता भयो कि भएन भन्ने सामान्य जानकारी पाउन समेत सर्भेयरलाइ बीमितले पटक पटक सोध्नु पर्ने अवस्था छ | त्यस माथि थप, कुनै सर्भेयरको फोन नउठ्ने वा फोन उठे पनि तत्काल/स्पस्ट जानकारी नपाइने आदि बीमितहरुको गुनासो समेत सुनिन्छ | फोनबाट आफ्नो दावीको अवस्था बारे जानकारी पाउन अप्ठारो भएमा कतिपय बीमितहरु सर्भेयरको अफिसमा पुग्ने गरेका छन | यसरि सामान्य जानकारीका लागि समेत बीमितले पटक पटक समय र शक्ति खर्च गरि सर्भेयरलाइ सोध्नु पर्ने अवस्था रहेकोछ l यसबाट बीमा दावी कार्य प्रक्रिया प्रति बीमित दिक्दार हुने अवस्था छ |

बीमाकम्पनिबाट आफ्नो दावीको अवस्था बारे जानकारी पाउन लाग्ने गरेको बीमितको समय र शक्ति

बीमाकम्पनीमा रिपोर्ट दर्ता भयो कि भएन, क्षतिपूर्ति रकम कहिले पाइने हो आदि जानकारीहरु बीमितले बीमाकम्पनीबाट लिन चाहन्छ | नेपालका कतिपय बीमाकम्पनीहरुले बीमितमैत्री कार्यप्रक्रियाहरु लागु गर्ने गरि रहेका भए पनि केहि बीमाकम्पनिबाट बीमितले उल्लेखित लगायत दावी सम्बन्धि न्युनतम प्रक्रियागत जानकारीहरु पाउन समेत एथेष्ट समय र शक्ति लगाउनु पर्ने अवस्था छ, जस्तै –

  • बीमाकम्पनिको दावी बिभागमा दर्जनै कर्मचारीहरु हुन्छन | त्यस मध्य दाविकर्ता बीमितलाइ जानकारी दिनैका लागि दावी बिभागको कुनै एक कर्मचारीको नाम र मोबाइल नम्बर “दावी फोकल पर्सन” को रुपमा तोकिएको हुदैन | त्यसकारण बीमाकम्पनीको ल्याण्डलाइन नम्बरहरु पत्ता लगाउनु बीमितको पहिलो काम हुन्छ | फिल्ड सर्भेका क्रममा सम्पर्कमा आएको सर्भेयरसंग नै अधिकांस बीमितहरुले बीमाकम्पनीको ल्याण्डलाइन नम्बरहरुको जानकारी माग गर्दछन | सर्भेयरसंग बीमाकम्पनीको ल्याण्डलाइन नम्बरहरु प्राप्त गरि सके पछी बीमितले बीमाकम्पनीमा आफ्नो दावीको अवस्था बुझ्न फोन गर्न सुरु गर्छन |
  • धेरै संख्यामा एक्सटेन्सन लाइन जोडिएका बीमाकम्पनीका ल्याण्डलाइनहरु प्राय व्यस्त नै रहेका हुन्छन | सो अवस्थामा बीमाकम्पनीका ल्याण्डलाइनहरुमा कल गर्दा एकपटकमा सम्पर्क भएको अवस्था बिरलै हुन्छ | बीमाकम्पनीका ल्याण्डलाइनहरुमा कल गर्दा गर्दा हैरान भएका बीमितहरु यथेष्ट भेटिन्छन |
  • कतिपय बीमाकम्पनीका फोन सिस्टममा फोन गर्नेले उक्त बीमाकम्पनिको प्रचारात्मक सन्देसहरु सुन्नु पर्ने पारिएको हुन्छ | नचाहदा नचाहादै बीमितले उक्त प्रचारहरू सुन्नु पर्ने हुन्छ | एकपटक मोबाइलमा रिंङ टोनको सट्टा कम्पनीहरुका प्रचार बज्ने लहर चलेको थियो | सम्भवत उपभोक्ताकर्मी संघ संगठनहरुको बिरोधका कारण त्यो रोकिएको हुनु पर्छ | आफ्नो दावी बारे सकभर छिटो बुझ्न फोन गरेको बीमितले बीमाकम्पनीका प्रचारात्मक सन्देसहरु सुन्न बाध्य हुनु परे पछी बीमितको बीमादावी कार्य प्रक्रिया प्रतिको वितृष्णा बढेर जान्छ |
  • फोनमा आफ्नो प्रचार नबजाउने कतिपय बीमाकम्पनीका फोन सिस्टममा उक्त बीमाकम्पनिको एक्सटेन्सन नम्बरहरुको पुरा लिष्ट फोन गर्नेले सुन्नु पर्ने पारिएको हुन्छ | आजको अति व्यस्त जमानामा दिउसो अफिस समयमा ३०-४० सेकेन्ड बोल्न नभ्याएर समेत कतिपयले आएका कम महत्वपूर्ण फोनहरु रिसिभ नै गर्दैनन | यसरि सेकेन्ड सेकेन्डको हतार भइरहेको अवस्थामा बीमाकम्पनीमा आफ्नो दावी बारे छिटोमा बुझन फोन गरेको बीमितले उक्त बीमाकम्पनीको अन्डरराइटिङ विभागको एक्सटेन्सन नम्बर, एकाउन्ट विभागको एक्सटेन्सन नम्बर, रि-इन्स्योरेन्स विभागको एक्सटेन्सन नम्बर, शेयर विभागको एक्सटेन्सन नम्बर आदि एक्सटेन्सन नम्बरहरु सुन्नु परे पछी बीमितले थप हैरानी महसुस गर्छ |
  • यसरि बीमाकम्पनीको प्रचार वा एक्सटेन्सन नम्बरहरुको लिष्ट सुनी सके पछी बीमाकम्पनीको रिसेप्सनले बीमितको फोन उठाउछ | रिसेप्सनले दावी फाइलको अवस्था बारे दाविकर्ता बीमितको जिज्ञासा सम्बोधन गर्न नसक्ने जान्दा जान्दै समेत रिसेप्सनको व्यक्तिलाई बीमितले फोन गर्नुको कारण बारे सुनाउन बाध्य हुन पर्छ | अर्थात बीमितले बीमाकम्पनीमा फोन गरे पछी सोझै एकै पटकमा आफुलाई रेस्पोन्स गर्ने दावी विभागको कर्मचारीसँग बोल्न समेत पाउदैन |
  • अब रिसेप्सनले दावी विभागमा गरेको कल ट्रान्सफर बीमितले धैर्यतापुर्वक पर्खिनु पर्ने हुन्छ | केहि बीमाकम्पनीमा एक्सटेन्सन बिजी भएका खण्डमा समेत उक्त बीमाकम्पनीको प्रचार फेरी एकपटक सुन्न पर्ने पारिएको हुन्छ | वास्तवमा दावि गरि सकेको बीमित फोनमा त्यस बीमाकम्पनिको प्रचार पटक पटक सुनेर त्यस कम्पनि प्रति प्रभावित हुदैन कि झन बढी इरिटेड हुन्छ | त्यसको सट्टा दावी प्रक्रियामा रहेको बीमितले आफुलाइ र आफुले गरेको दावीलाई बीमाकम्पनीले कसरि ह्यान्डल गरि रहेकोछ भनि मुल्यांकन गरि रहेको हुन्छ |
  • दावी विभागका दर्जनै कर्मचारी मध्ये ल्याण्डलाइनमा आएको फोन उठाउने कुनै एक कर्मचारीले बीमितको जिज्ञासा प्राय आफैले तत्काल सम्बोधन गर्न सक्दैन | उसले त्यो फाइल ह्यान्डल गरि रहेको अर्को कर्मचारी पत्ता लगाउन दावी बिभाग भित्र सोधपुछ गर्न थाल्छ | त्यस अवस्थामा फोन गर्ने दाविकर्ता बीमित चाहिँ दावी बिभाग भित्रको उक्त सोधपुछ सुनी रहेको हुन्छ | दावी बिभाग भित्र सोधपुछ चले पछी बीमितलाइ प्राय केहि जवाफ दिइन्छ |
  • यसरि यथेष्ट समय र शक्ति लगाए पछी आफुलाई रेस्पोन्स गर्न सक्ने दावी विभागको कर्मचारी वल्ल वल्ल भेटेको बीमितले पुन सहज सम्पर्क गर्नका लागि उक्त कर्मचारीको नाम र मोबाइल नम्बर माग्दछ | यस अवस्थामा नाम नम्बर बीमितलाइ दिनुको सट्टा दावी विभाग मै फोन गर्नुस भनि पुरानो जमानाको सरकारी कार्यालयको जस्तो जवाफ प्राय दिइन्छ |
  • सर्भेयरले रिपोर्ट दर्ता गरि सकेको अवस्थामा समेत उक्त फाइल नै भेटिएन, तपाइको फाइल हेर्ने कर्मचारी आज अनुपस्थित छ आदि कारणहरु देखाई बीमितलाइ फेरी फोन गर्नुस है भन्ने गरेको समेत यदाकदा देखिएकोछ |
  • प्रयास गर्दा गर्दै समेत फोनबाट आफ्नो फाइलको अवस्था थाहा पाउन नसके पछी कतिपय बीमित बीमाकम्पनि पुग्ने गरेको देखिएकोछ |

यसरि विमीतलाइ बीमाकम्पनीबाट आफ्नो दावीको अवस्था बारे जानकारी पाउन पटक पटक समय र शक्ति लगाउनु पर्ने पर्ने धरातलीय यथार्तता विद्धमान छ |

बीमाकम्पनीहरुका वेवसाइट बाट दावीको अवस्था बारे जानकारी पाउन नसकिने अवस्था

हाम्रा निर्जीवन बीमा कम्पनीका वेवसाइटहरुमा विभिन्न उधेश्यका लागी विभिन्न व्यवस्थाहरु तर्जुमा गरिएका देखिन्छन जस्तै – १. इमेल, भाइवर, व्हाट्स-एप आदि बाट सजिलै गर्न सकिने दावी प्रक्रियालाइ थप एक विकल्प दिई वेवसाइट बाट समेत अनलाइन दावी गर्ने प्रावधान २. त्यस्तै हालका दिनहरुमा “दावी फर्छ्योटका लागि सम्पर्कमा नआएमा दावी फाइल बन्द गरिने” सुचना ३. सुचनाको हक प्रावधान अनुसारका विवरणहरु ४. प्रिमियम भुक्तानी गर्ने उपकरणहरुबारे जानकारी; ५. ठाउँ-का-ठाउँ भुक्तानी, अन द स्पट भुक्तानी, क्यासलेस दावी फर्छ्योट जस्ता उक्त कम्पनीका नया नयाँ बीमाप्रोडक्टहरुका बिशेषताहरु ६. कम्पनीको वृद्धि देखाउने बिभिन्न समाचारहरु ७. नाम नम्बर फोटो सहित प्रवक्ता बारे जानकारी र ८. “म के सहयोग गर्न सक्छु” भन्ने आइकन आदि | यिनी लगायत वेवसाइटहरुमा गरिएका व्यावस्थाहरु दाविकर्ता बीमितलाइ “दावी फाइलको अवस्था” जानकारी दिनका लागि  तर्जुमा गरिएको होइन भन्ने स्पस्ट नै छ |

दावि प्रक्रिया पुरा गरेको दाविकर्ता बीमितको निर्जीवन बीमाक्षेत्र प्रति बदलिने धारणा

क्षति मुल्यांकनका आधार र कारणहरु बारे पुरा जानकारी नपाएको बीमितले क्षतिपूर्ति वापत आशातित भन्दा कम रकम पाएका कारण निर्जीवन बीमाक्षेत्र प्रति स्वाभाविक रुपमा केहि नकारात्मक धारणा बनाउछ |  क्षति मुल्यांकन कार्य तथ्यपरक हुन्छ भन्ने भावना दाविकर्ता बीमितमा जगाउन बीमासमिति, बीमाकम्पनीहरु र बीमासर्भेयरहरु सबैको निरन्तर प्रयासको खाचो छ |

तर हाम्रो बीमाक्षेत्रले दाविकर्ता बीमितलाइ र उसको दावीलाई ह्यान्डल गरेको तौरतरिका का कारण समेत धेरै दाविकर्ता बीमितहरुमा निर्जीवन बीमाक्षेत्र प्रति नकारात्मक भावना बढेको देखिन्छ |

नेपालमा निर्जीवन बीमा दावीका प्रचलित मुख्य कोशेढुंगा (माइल स्टोन) हरु

सामान्यतया निर्जीवन दावीमा निम्नानुसारका क्रमागत माइल स्टोन हरु प्रचलनमा रहेका छन

  • बीमितबाट बीमाकम्पनीमा दावी निवेदन दर्ता गर्ने कार्य
  • बीमाकम्पनीबाट सर्भेयरको नियुक्ति (सर्भे डेपुटेसन) गर्ने कार्य
  • सर्भेयरबाट बीमाकम्पनीको सर्भे डेपुटेसन स्वीकार गर्ने कार्य
  • सर्भेयरबाट फिल्ड सर्भे कार्य सम्पन्न गर्ने कार्य : फिल्ड सर्भे सम्पन्न भएको प्रमाणको रुपमा फिल्डमा बीमित प्रतिनिधिलाई दस्तखत गराई “पेस गर्नु पर्ने कागजातको लिष्ट” सर्भेयरले बीमितलाइ दिई सो को निस्सा आफुसंग राख्ने प्रचलन छ |
  • सर्भेयरबाट बीमाकम्पनीमा फिल्ड सर्भे रिपोर्ट पेस : अनुमानित क्षति रकम र २-४ वटा प्रतिनिधिमुलक फोटोहरु सहित सर्भेयरले बीमाकम्पनीमा इमेल मार्फत छोटो फिल्ड सर्भे रिपोर्ट पेस गर्ने गरेको
  • “पेस गर्नु पर्ने कागजातहरुको लिस्ट” अनुसार बीमितबाट कागजातहरु पेस गर्ने कार्य र सर्भेयरले सर्भे प्रतिवेदन तयार गर्ने कार्य : प्रायजसो दाविहरुमा यस चरण मा नै लामो समय लाग्ने गरेको यथार्तता
  • सर्भेयरबाट बीमाकम्पनीमा अन्तिम सर्भे प्रतिवेदन पेस गर्ने कार्य
  • बीमाकम्पनीमा सर्भेयरबाट पेस भएको सर्भे प्रतिवेदनमा अध्ययन गर्ने र स्वीकृति गराउने कार्य: बढी क्षतिपूर्ति रकम सिफारिस भएका फाइलहरुका हकमा यस चरणमा समेत बढी समय लाग्ने गरेको यथार्तता
  • बीमा कम्पनीबाट बीमितका नाममा “दावी भुक्तानी पुर्जा” जारि गर्ने कार्य
  • बीमित पक्षबाट “दावी भुक्तानी पुर्जा” स्वीकार वा अस्विकार गर्ने कार्य

उल्लेखित १० वटा माइल स्टोनहरु अनुसारका क्रियाकलापहरुमा दावी सम्बन्धित तिनै पक्ष निरन्तर जोडिएका छन | उल्लेखित १० वटा माइल स्टोनहरु का अवस्थाहरु दर्साउने अनलाइन इन्ट्री सिस्टमको अभावमा कुन पक्षको कमजोरी वा लापरवाहिका कारण दावी प्रक्रियाको कुन चैँ माइल स्टोनमा अनपेक्षित ढिलाई भएको हो भनि एकिन गर्न सक्ने अवस्था छैन | त्यसकारण दावी सम्बन्धित तिनै पक्षहरुले निम्नानुसारका तिन वटा गुनासोहरु संधै सुनाइ रहन्छन

  • सर्भेयरले समयमा अन्तिम सर्भे रिपोर्ट पेस नगरेका कारण नै कम्पनीको सम्पूर्ण दावी फर्छ्योट कार्यमा ढिलाई हुन पुगेको बीमाकम्पनीहरुको संधैको गुनासो
  • बीमितले समयमा कागजात पेस नगरेका कारण नै सर्भे रिपोर्ट पेस गर्न ढिलाई हुने गरेको सर्भेयर वर्गको संधैको गुनासो
  • कागजातहरु समय मै पेस गर्दा गर्दै पनि बीमाकम्पनि र सर्भेयरले क्षमता नपुगेर वा नियतवस ढिलाई गर्ने गरेको बीमित वर्गको संधैको गुनासो

उल्लेखित स्थायी गुनासाहरुको सम्बोधन हुने अनुमानका साथ बीमासमितिबाट दावी फर्छ्योट सम्बन्धि पटक पटक नया नया थरि थरिका निर्देसन जारि गर्ने  र निर्देसन परिमार्जन गर्ने क्रम बर्षौ देखि निरन्तर चलि रहेकोछ  |

एकीकृत अनलाइन दावी ट्रयाकिंङ सिस्टम को अभावमा नियामक बीमासमितिका अप्ठाराहरु

बीमाकम्पनीले आशातित भन्दा कम क्षतिपूर्ति रकम अफर गरेका कारण बीमितले गर्ने गरेको गुनासो/उजुरी सम्बोधन गर्नु  स्वाभाविक रुपमा बीमासमितिको नियमित कार्य हो | त्यस बाहेक कागजातहरु समयमा पेस गर्दा गर्दै पनि बीमाकम्पनि र सर्भेयरले क्षमता नपुगेर वा नियतवस ढिलाई गरि रहेका छन भनेर समेत बीमितहरुले बीमासमितिमा अनौपचारिक/औपचारिक गुनासो/उजुरी गरि नै रहेका हुन्छन | दावी प्रक्रियाका उल्लेखित १० माइलस्टोनहरु देखिने गरि बीमाकम्पनि र सर्भेयर दुबैले अनलाइन इन्ट्री गर्ने एकीकृत सिस्टमको अभावमा यस प्रकारका गुनासो/उजुरी मा सहज तरिकाले समितिले केहि गर्न सक्ने परिस्थिति हाल छैन |

साथै त्यस प्रकारका प्रत्येक गुनासोका लागि सम्बन्धित सर्भेयर वा बीमाकम्पनीलाई पत्र लेखेर वा फोन गरेर कुनै एउटा दावीको ट्र्याकिंङ गर्न समेत समितिलाई सम्भव छैन | कुनै सर्भेयर सम्पर्क विहिन भएको कारणले लामो समय कुनै बीमितको फाइल अलपत्र परेको हुन सक्छ वा बीमाकम्पनी भित्र सर्भेयरले पेस गरेको रिपोर्ट हराएको जानकारी दिइएको हुन् सक्छ | त्यस बीमितले समितिमा उजुरी गरेमा प्रारम्भिक न्युनतम जानकारी लिन समेत समितिले प्रत्येक निवेदन पिच्छे पत्र लेख्नु पर्ने अवस्था रहेको छ – जसका कारण समितिका अन्य महत्वपूर्ण कार्यहरु ओझेलमा पर्न सक्छन |

एकीकृत अनलाइन दावी ट्र्याकिंङको अभावमा बीमाकम्पनीहरुका असहजता

कुनै एक बीमाकम्पनिका कारण दावी फर्छ्योट ढिलाई सम्बन्धि बीमित पक्षबाट आएका गुनासो सम्बोधन गर्नका लागि बीमासमितिबाट दावी फर्छ्योट सम्बन्धि नयाँ नयाँ निर्देशनहरु जारि हुने गरेको अवस्था छ | तर सकभर छिटो नियमानुसारको क्षतिपूर्ति भुक्तानी गरेर नै आफ्नो व्यवसाय बिस्तार गर्ने नीति प्राय बीमाकम्पनीहरुको छ | दावी फर्छ्योट सम्बन्धि समितिका नयाँ नयाँ निर्देसनहरु कारण सहज प्रकारले चलि रहेका दावी फर्छ्योट कार्य प्रक्रियाहरूमा त्यस्ता कम्पनीहरुले अवरोध महसुस गर्ने गरेको अवस्था छ |

एकीकृत अनलाइन दावी ट्र्याकिंङको अभावमा सर्भेयरका असहजता

कुनै एक सर्भेयरका कारण सर्भे रिपोर्टमा ढिलाई सम्बन्धि बीमित पक्षबाट आएका गुनासो सम्बोधन गर्नका लागि बीमासमितिबाट दावी फर्छ्योट सम्बन्धि नयाँ नयाँ निर्देशनहरु जारि हुने गरेको अवस्था छ | तर समितिको आचारसहिता पालना गर्दै बीमासर्भेलाई नै आफ्नो करिअरको रुपमा अगाडी बढाएका सर्भेयरहरुको संख्या समेत ठुलो छ | दावी फर्छ्योट सम्बन्धि समितिका नयाँ नयाँ निर्देसनहरु ले गर्दा सहज प्रकारले चलि रहेका सर्भे कार्य प्रक्रियाहरूमा त्यस्ता सर्भेयरहरुले अवरोध महसुस गर्ने गरेको अवस्था छ |

भारतमा प्रचलित अनलाइन दावी ट्रयाकिङ कार्यप्रक्रियाहरु सुरुवात गर्नु पर्ने आजको आवश्यकता

कतिपय समान परिवेसहरु रहेको र बार्षिक निर्जीवन बीमाप्रिमियम कारोबार ३२०० अरब माथि रहेको भारतको निर्जीवन बीमाक्षेत्रका सफल कार्यप्रक्रियाहरु हामीले समेत लागु गर्नु उपयुक्त हुन्छ | भारतको बीमानियामक निकाय (IRDA) ले बीमित शिक्षा/चेतना का लागि मात्र संचालनमा ल्याएको वेवसाइट policybazaar.com मा आफ्नो दावीको अवस्था (स्ट्याटस) कसरि थाहा पाउने बारेमा उल्लेख गरिएको छ | उक्त विवरणले आफ्नो बीमाकम्पनीको वेवसाइटमा पुगी ४ वटा स्ट्याटस मध्य एकमा रहेको आफ्नो दावीको स्ट्याटस एकिन गर्न भनिएकोछ– १. स्वीकृत स्ट्याटस, २, अस्वीकृत स्ट्याटस, ३. प्रक्रियामा रहेको स्ट्याटस वा ४. थप जानकारी/कागजात माग गरिएको स्ट्याटस |

क्लेम सेटलमेन्ट अनुपात ९५ प्रतिसत भन्दा बढी रहेका प्राय भारतीय निर्जीवन बीमाकम्पनीहरुले आफ्ना वेवसाइटहरुमा “ट्रयाक यूआर क्लेम” आइकन राखी दावीको अवस्था बारे बीमितलाइ सहज तरिकाले जानकारी उपलब्ध गराउने प्रबन्ध गरेका छन | जस्तै बार्षिक २ करोड भन्दा बढी पोलिसी जारि गर्ने भारतको एक नम्बर निर्जीवन बीमाकम्पनि आइसी आइ सीआइ लम्वर्ड ले पोलिसीमा उल्लेखित मोबाइल नम्बर इन्ट्री गर्ने वित्तिकै क्लेम स्ट्याटस बारे न्युनतम जानकारी दिने व्यवस्था गरेकोछ (https://www.icicilombard.com/motor-insurance-claims#/claimOptions) | त्यस्तै उत्कृष्ट ३ मा पर्ने  श्रीराम जनरल इन्स्योरेन्सले “क्लेम स्ट्याटस” ट्याबमा गइ पोलिसी नम्बर वा दावी नम्बर वा रजिस्ट्रेसन नम्बर मध्य कुनै एक इन्ट्री गरेमा क्लेम स्ट्याटस देखिने व्यावस्था गरेको छ | (https://www.shriramgi.com/insurance-claim-status-online.html ) |

दावी स्ट्याटस ट्रयाकिङ बारे जानकारी दिनका लागि तत्कालै गर्न सकिने सहज व्यवस्थाहरु

दाविकर्ता बीमितलाइ निजको दावीको अवस्था बारे तत्काल सहज तरिकाले जानकारी दिन खासै लागत नलाग्ने निम्नानुसारका व्यवस्थाहरु तत्कालै र सहजै गर्न सकिन्छ |

१. बीमाकम्पनिको सफ्टवेयरमा पहुच भएको दावी बिभागको एक कर्मचारीलाई दाविकर्ता बीमितलाइ नै रेस्पोन्स गर्नका लागि “दावी फोकल पर्सन” तोक्ने | दावी फोकल पर्सन को नाम र निजको मोबाइल नम्बर बीमाकम्पनीका वेवसाइटमा हाइलाइट गरि राख्ने | उक्त मोबाइल अफिस समयमा तत्काल रेस्पोन्स हुने र अन्य समयमा बीमितको बोलि रेकर्ड हुने व्यावस्था गर्ने | साथै दावी निवेदन दर्ता गर्दा बीमाकम्पनीले दाविकर्तालाइ आफ्नो “दावी फोकल पर्सन” को नाम र निजको मोबाइल नम्बर उपलब्ध गराउने सिस्टम बसाउने |

२. सबै बीमाकम्पनीहरुका दावी फोकल पर्सनहरुको कार्यमा एकरुपता ल्याउन, नियमन गर्न र यस कार्यमा थप सुधार गर्न आदि कार्यहरुका लागि बीमासमितिको एक कर्मचारीलाइ समितिको “दावी फोकल पर्सन” तोक्ने | बीमासमितिको वेवसाइटमा फोकल पर्सनको नाम र मोबाइल नम्बर समित हाइलाइट गरि राख्ने | उक्त मोबाइल समेत अफिस समयमा तत्काल रेस्पोन्स हुने र अन्य समयमा बीमितको बोलि रेकर्ड हुने व्यावस्था गर्ने |

दाविकर्तालाइ अनलाइन मार्फत जानकारी दिनका लागि www.dawi.gov.np मा दावीहरुका स्ट्याटस निरन्तर अपडेट हुनु पर्ने:

बर्षौ देखि प्राय सबै कुरिअर कम्पनीहरुले ग्राहकको साधारण पार्सल समेत कहा पुग्यो भनि रियल टाइम बेसिसमा ट्रयाक गर्न मिल्ने अनलाइन सुबिधा दिएका छन | तर बीमाक्षेत्रमा एक करोड क्षतिपूर्ति दावी गरेको बीमितले आफ्नो फाइल को अवस्था बारे जानकारी लिनका लागि समेत सर्भेयर र बीमाकम्पनीलाई पटक पटक फोन गर्नु पर्ने अवस्था छ । आजको आइटी जमानामा दावी ट्रयाक गर्न मिल्ने गरि सफ्टवेयर संचालनमा ल्याउनु न्युनतम र अपरिहार्य कार्य हो | भारतको जस्तो कम्पनि पिच्छेका  वेवसाइटहरुमा “ट्याक यूआर क्लेम” राखी संचालनमा ल्याउन नेपालमा उपयुक्त नहुन सक्छ | त्यस प्रकारको व्यवस्थाले बीमित र बीमासमितिलाइ असहज हुन्छ; जस्तै “दावीमा ढिलाई भइ रहेको” गुनासो मात्र आएको बखत कम्पनि पिच्छे वेवसाइटमा पुगी ट्रयाक गर्न समितिलाइ गाह्रो हुन सक्छ | साथै समितिले दावी स्ट्याटस सम्बन्धि एकीकृत डाटा पाउन समेत सक्दैन |

त्यसकारण समितिबाटै संचालित छुट्टै वेवसाइट (www.dawi.gov.np) मा नै सबै बीमाकम्पनिहरु र सबै सर्भेयरहरुले दावीका समितिबाट तोकिएका माइलस्टोन हरु निरन्तर इन्ट्री गर्दै जाने सिस्टम नेपालका लागि उपयुक्त हुनेछ | त्यसबाट बीमासमिति र दाविकर्ता बीमितले निर्जीवन बीमाकम्पनि पिच्छेका वेवसाइटहरुमा पुगी रहन पर्दैन | साथै समितिले दावी स्ट्याटस सम्बन्धि एकीकृत डाटा पाउन सक्छ | त्यस वेवसाइटमा भारतको policybazaar.com मा राखिएको जस्तो गरि बीमितहरु लाइ आवश्यक पर्ने जानकारीहरु समेत राख्नु पर्ने हुन्छ | समितिले उक्त वेवसाइटको यथेष्ट प्रचार प्रसार गरि नेपालका निर्जीवन बीमादाविकर्ता बिच उक्त वेवसाइट लाइ लोकप्रिय बनाउन सक्छ |

र अन्त्यमा संक्षेप

प्रिमियम तिर्ने बीमित, बीमाकम्पनीको ग्राहक हुनुका साथै बीमा क्षेत्रका क्रियाकलापहरुको केन्द्र पनि हो । बीमितको बीमापोलिसी तर्फको अल्पज्ञान र क्षतिपूर्ति रकम बढाउन कुनै बीमितले गरेको सोर्सफोर्स तथा जबर्जस्ती आदिलाई देखाएर बीमितलाइ थप सहजता दिने तर्फ अन्य स्टेकहोल्डरहरु पन्छिन मिल्दैन | हालका दिनहरुमा दावी प्रक्रियाहरु सम्पन्न गरेका कतिपय बीमितहरुमा निर्जीवन बीमा क्षेत्रप्रति नकारात्मक धारणा बढ्दै गएको देखिन्छ । www.dawi.gov.np को सुरुवात र प्रभावकारी प्रयोगले दाविकर्ता बीमितमा बीमाक्षेत्र प्रति नकारात्मक धारणा बढ्ने क्रम कम हुनेछ |

(लेखक बुढा- सी मेक कन्सल्टेन्सी प्रा. लिका बीमासर्भेयर हुन )

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS