सुजित प्रसाद शाह । नेपाल भौगौलिक, पुरातात्विक र धार्मिक सहिष्णुताको हिसाबले छुट्टै अस्तित्व बोकेको बहुआयामिक देश हो । धर्म, संस्कृति, रिति-रिवाज र रहन-सहनमा एउटा भिन्न परिवेश बनाएको छ। जात-जातिको कुरा गर्ने हो भने चार वर्ण र छतीस जातको फुलवारी भनेर चिन्निन्छ।
प्राकृतिक स्रोत सम्पदा, वनजंगल तथा खनिज पदार्थमा जतिसुकै धनि भए पनि यसको राम्रो संग सदुपयोग हुन् सकेको छैन । जलस्रोतको हिसाबले विश्वको दोस्रो धनि देश भए पनि देशको मुटु मानिने राजधानीमा नै खानेपानीको हाहाकार छ । विकासको गति जति सुकै लिन खोजे पनि देशले फडको मार्न सकेको छैन ।
शिक्षाको क्षेत्रमा जतिसुकै शिक्षित र दक्ष जनशक्ति भएपनि रोजगारीको अवसर छैन । देशको कर्णधार मानिने दक्ष जनशक्ति, निष्ठावान, कर्मठ, बलियो तथा शक्तिशाली कामदार सस्तो मुल्यमा आफ्नो परिश्रम विदेशको चर्को घाममा बेच्न बाध्य भएका छन्।
अहिले सामाजिक संजाल, पत्र-पत्रिका, टिभी- रेडियोमा भ्यु टावरको बिषय निकै नै चर्चित र भाईरल भएको छ । हुनु पनि स्वाभाविक हो, देशको अति विपन्न, गरिब तथा न्यून आय -स्तर भएका आम नागरिकले दुइ छाक खानको लागि पनि सरकारसंग कुनै राहत पाउन मुश्किल छ। तर, बिडम्बना हाम्रो देशको अरबौ – अरबको लगानीमा देशभरी नै च्याउ उम्रे झैँ जताततै भ्यु टावर बनेको छ। जसको न कुनै औचित्य देखिन्छ, न त कुनै उपयोगिता । विश्वको कुनै पनि देशको प्रमुख एजेन्डा भनेको आधारभूत आवश्यकता पुरा गर्नु हो अनि मात्रै अरु क्षेत्रतिर प्राथमिकताको आधारमा विकास गरिन्छ ।
अहिले पनि कतिपय नेपालीहरु सदरमुकामको दर्शन नै नगरी यो संसार बाट विदा भइसकेका हुन्छन । राम्रो शिक्षा र स्वास्थ्यको त कुरै नगरौ यसको प्रष्ट उदाहरण असंख्य मात्रामा जताततै निजि रुपमा संचालन भएका विद्यालय र अस्पताल हुन् । बिकटका कतिपय स्थानमा निमुखा जनताहरु राम्रो खाना र लुगाको लागि चाडबाड कुर्नु पर्ने प्रावधान कायमै छन्। बिजुलीको पहुच पनि धेरै ठाउमा पुर्याउन बाकी नै छ । राम्रो बाटोघाटोको अभावले बर्षेनी हजारौ-हजार नेपालीले अल्प -आयुमा नै ज्यान गुमाएको प्रसस्तै उदाहरणहरु छन् । कृषकले समयमा मल- खाद नपाएर खेतीमा लगाएको लगानी पनि उठाउन सकेका छैनन् । यतिसम्म मात्रै कहाँ हो र, प्रायजसो सरकारी निकायमा आफुलाई चाहिने आवश्यक सेवाको लागि त सोझा – साझा जनताले राम्रो सेवा पाउनु भनेको फलामको चिउरा चपाउनु जस्तो नै भएका छन् ।
बर्षौ- बर्षको आन्तरिक द्वन्द्ध र जन-आन्दोलनको पश्चात राजतन्त्रलाई अन्त्य गरि प्रत्येक बर्ष गणतन्त्र दिवस मनाउने अवसर नेपालीले त पाए। तर दुर्भाग्यवश प्रत्येक दिन आफ्नो स्वच्छ जीवन तथा तनावरहित जिन्दगीको लागि हरपल नै मुटुमा ढुंगा राखेर बाच्न बाध्य भएका छन् । दिनानुदिन बढ्दै गएको मह्गीले त निजको सन्ततिलाई कसरि पालनपोषण गर्ने पिरबाट अधिकांस नेपाली चिन्ताको सिकार भएका छन् ।
अहिले नेपालमा धेरै लगानीमा बनेको भ्यु टावरले त प्रायजसो नेपालीलाई करेन्टको झडका नै दिएका छन् । किनभने ति लगानीको कुनै औचित्य नै देखिदैन। धेरै जसो विद्यालयमा अहिले पनि चौरमा बसेर स-साना वालवालीकाहरु पढ्ने गरिन्छ । गर्भवती महिलालाई समयमा अस्पताल पुर्याउन नसकेर आफ्नो बच्चालाई जन्म नदिइ मृत्युको शिकार भएका हुन्छन । धेरैजसो ठाउमा त पिउने पानीको लागि पनि घन्टौ घन्टासम्म हिड्नुपर्ने बाध्यता छ ।
तर त्यहि लगानी शिक्षा र स्वास्थ्यको क्षेत्रतिर लगाएको भए लाखौ लाख नेपाली लाभान्वित हुने थिए। यतिसम्म मात्रै नभई अबको केहि समय पश्चात प्रायजसो भ्यु टावर जिर्ण अवस्थामा पुगेको हामीले देखिने छौ । किनभने समयमा मर्मत हुँदैन भने अर्कोतिर कमसल गुणस्तरमा बजेटको हिसाब मिलाउनको लागि बनेको देखिन्छ ।साथै ति लगानी कुनै उत्पादकत्व वा कलकारखानातिर लगाएको भए हजारौ हजार मानिस रोजगारीको अवसर पाउने थियो भने उत्पादित वस्तु नेपाली बजारमा सजिलै पुर्याउन सकिन्थ्यो । फलस्वरूप व्यापार घाटापनि केहि हदसम्म कम गर्न सक्थ्यो ।
अर्कोतिर विदेशी पर्यटकलाइ आकर्षित गर्नको लागि नदीको किनारमा सुविधा सम्पन्न होटेल र प्राकृतिक सौन्दर्य देखिने होलिडे रिसोर्टमा लगानी गरेको भए पनि यसले देशको आम्दानीमा सहयोग पुर्याउन सक्दथ्यो। अथवा मेडिकल कलेजको लागि ति बजेट बिनियोजन गरेको भए पनि भविष्यका कर्णधारले डाक्टर बन्ने सपना पुरा गर्न सक्थ्यो होला।
भ्यु टावरको विचार कहाँ बाट आयो र कसरि देशभरी एकैसाथ परिचालन भयो भने प्रश्न चिन्ह खडा भएको छ । सम्बधित निकायबाट बजेटको दुरुपयोग भएको देखिन्छ । यो भन्दा अति आवश्यक क्षेत्रमा लगानी गर्ने थुप्रै ठाउँहरु छन् जुन बढी उपयोगी हुने थियो । किसानले एउटा बिउ लगाउदा त थुप्रै आशा र प्रतिफल बोकेको हुन्छ तर देश चलाउने धरोहरले बिना योजना र उपलब्धिले अरबौ अरबको रकम लगानी गर्नु दुर्भाग्य नै हो । यस्ता थुप्रै कुरा र कामहरु छन् जुन देशको हितमा छैनन्।
अन्त्यमा, विश्वको धेरैजसो अविकसित देशहरु विकासको गतिमा धेरै अघि बढिसकेको छ । तर नेपालीहरु गरिबीको रेखामुनी बाच्न बाध्य छन् । दुइ ठुला देश र अर्थतन्त्रमा बलियो देशको बिचमा हाम्रो देश अवस्थित भएपनि देशको अर्थतन्त्र दिनानुदिन कमजोर हुदै गएको छ। धेरैजसो खाद्दान्न तथा दैनिकी उपभोगको वस्तुको लागि अरु देशमा नै हाम्रो देश निर्भर छन्। देशमा थुप्रै नेताहरुको रहन-सहनमा फडको मारे पनि देशले फडको मार्ने कुनै संकेत देखिदैन।
नेपाली जनताहरुको भोट अहिलेसम्म पनि, न त देशको बलियो अर्थतन्त्रको लागि काम लागेको छ न त व्यक्तिगत विकासमा – काम लागेको छ भने खालि नेताको निजि विकास तथा सेवा सुविधामा। अरु देशका नेताहरु देश बिकासको लागि राजनीतिक गरिन्छ भने हाम्रो देशको नेताहरु व्यक्तिगत स्वार्थको लागि राजनीतिक गरेको देखिन्छ । नत्र भने हाम्रो देशको आर्थिक अवस्था पक्कै पनि वलियो हुने थियो ।
कुनै पनि राम्रो कामको सुरुवातको लागि कहिले पनि ढिलो हुदैन त्यहि भएर अहिले पनि एक निस्पक्ष, इमान्दार र देशप्रति प्रतिबद्ध भइ काम गर्ने जरुरि देखिन्छ देशको सन्ततिको लागि सोच्नु एक सच्चा नेपालीको दायित्व र कर्तव्य दुवै हुन्।
(शाह राष्ट्रिय बीमा संस्थानका सहायक व्यवस्थापक हुन् । यो उनको निजी विचार हो)