काठमाडौं । बीमितले बीमा गर्नुभन्दा अगाडि आफूलाई आवश्यक पर्ने बीमा यकीन गरी त्यससँग सम्बन्धित प्रस्ताव फारममा खुलाउनुपर्ने सम्पूर्ण विवरणहरू स्पष्टसँग खुलाई भर्नु पर्छ । बीमालेखमा उल्लेखित सम्पूर्ण शर्त एवम् सुविधाका बारेमा जानकारी लिएर मात्र बीमा गर्नु पर्दछ ।
बीमितले आफ्नो पेशा, व्यवसाय एवम् आर्थिकस्तर समेतलाई ध्यानमा राखेर बीमालेख खरीद गर्नु पर्दछ । बीमाशुल्क बुझाउने तथा बीमालेख नवीकरण गर्ने मिति, इच्छाइएको व्यक्तिको नाम, बीमालेख वापत रकम पाउने, नपाउने जस्ता विषयमा बीमालेख खरिद गर्नुभन्दा अगाडि नै राम्रोसँग बुझ्नु पर्दछ ।
बीमितले बीमाशुल्क बुझाएपछि त्यसको आधिकारिक भर्पाई वा रसिद लिनु पर्दछ । बीमा सम्बन्धी प्रस्ताव फारम बीमित स्वयम्ले भर्नु पर्दछ । यदि बीमित निरक्षर वा प्रस्ताव फारम भर्न असमर्थ भएमा निजले तोकेको व्यक्तिले प्रस्ताव फारम भर्नु पर्दछ ।
बीमितले आफूले बीमा गर्न लागेको बीमा कम्पनीका बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नु पर्दछ । बीमालेख नवीकरण गर्ने समय ख्याल गरी समयमा नै बीमालेख नवीकरण गर्नु पर्दछ । बीमा सम्बन्धी प्रचलित नीति नियमहरू तथा कानूनका बारेमा जानकारी राख्नु पर्दछ ।
बीमितले आफूले खरिद गरेको बीमालेखसँग सम्बन्धित सम्पूर्ण कागजातहरू सुरक्षित राख्नु पर्दछ । हाल प्रविधिको विकाससँगै विभिन्न बैकिङ्ग प्रणाली तथा डिजिटल भुक्तानी पोर्टल मार्फत घरबाट नै बीमाशुल्क बुझाउन सकिने भएकाले त्यस सम्बन्धमा राम्रोसँग जानकारी लिएर मात्र भुक्तानी गर्नु पर्दछ ।
बीमा भनेको मानव जीवनमा आइपर्ने विभिन्न किसिमका जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्ने उपकरणहरू मध्येको एक महत्वपूर्ण उपकरण हो । अर्थात् अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम बीमा हो ।
बीमा गर्दा बीमा गरिएको बस्तुमा हुने जोखिमको क्षतिपूर्तिको भाग बीमितवाट बीमा कम्पनीमा सार्ने काम गरिन्छ । बीमा गरिए पश्चात् बीमा गरिएको वस्तुमा तोकिएको जोखिमवाट हानी–नोक्सानी भएमा आफूले स्वीकार गरे अनुसारको मूल्याङ्क नबाट तोकिएको हदबाट नबढ्ने गरी बीमा कम्पनीले क्षती वापतको क्षतिपूर्ति रकम बीमितलाई व्यहोर्ने गर्दछन् ।
सामान्यतया बीमा तीन प्रकारका हुन्छन्, जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा । जीवन बीमा भनेको मानिसको जीवनसँग सम्बन्धित हुन्छ । जीवन बीमा गरेपछि बीमाको अवधि समाप्त भएपछि बोनस सहित एकमुष्ठ रकम पाइन्छ । बीमा अवधिमा कथम्कदाचित् बीमितिको मृत्यु भएमा निजको अधिकारप्राप्त हकवालाले बीमा रकम प्राप्त गर्दछन् । जीवन बीमा अन्तर्गत आजीवन बीमा, सावधिक जीवन बीमा र म्यादी जीवन बीमा पर्दछन् ।
त्यस्तै निर्जीवन बीमा भनेको सम्पत्तिमा हुने विभिन्न प्रकारको भवितव्य तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिको रक्षावरण गर्ने माध्यम हो । निर्जीवन बीमा अन्तर्गत अग्नी बीमा, मोटर बीमा, इञ्जिनीयरिब्ग बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा र विविध बीमा पर्दछन् ।
बीमाले जीवन तथा सम्पत्तिमा हुने क्षति तथा हानी नोक्सानी विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्दछ । जीवन बीमा गर्दा बीमालेखको अवधि समाप्त भएपछि बीमितिले बोनस सहित एकमुष्ठ रकम प्राप्त गर्दछ । यदि बीमालेखको अवधि समाप्त हुनुभन्दा अगाडि नै बीमितिको मृत्यु भएमा निजको कानूनी हकदारलाई बीमाको रकम प्राप्त हुन्छ ।
निर्जीवन बीमाले मानिसको स्वास्थ्यका साथै पालन गरिएका पशुपन्छी, बालीनाली, घर, भवन, व्यवसाय लगायतका सम्पत्तिमा भविष्यमा भूकम्प, हावाहुरी, बाढी पहिरो, अधिक वर्षा, चट्याब्ग लगायतका प्राकृतिक प्रकोपबाट हुने क्षतिका विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्दछ । भविष्यमा दुर्घटनाबाट निजी तथा व्यवसायिक सवारी साधनमा हुने क्षति विरूद्ध मोटर बीमाले आर्थिक रक्षावरण गर्दछ ।