नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिङले एउटा आयोजनाको ८० प्रतिशत काम पुरा गरेको व्यवसायीलाई मात्रै अर्को आयोजनाको जिम्मा दिनुपर्ने बताए । अध्यक्ष सिङले विल्व सिस्टमलाई हटाएर क्षमताको आधारमा काम दिइनुपर्नेमा जोड दिए । उनले क्षमताको आधारमा तीन करोड रुपैयाँसम्मको ठेक्का साना व्यवसायीलाई दिनुपर्ने बताए । क्षमताको आधारमा व्यवसायीलाई योजना दिइए गुणस्तर समेत कायम हुने दाबी गरेका छन् ।
निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले पनि एउटा कम्पनीलाई निश्चित आयोजनाको जिम्मा दिने र त्यो पुरा भएपछि मात्रै अरू योजनाहरू दिनुपर्ने पक्षमा आफू पनि रहेको बताए । ‘कम्पनीको क्षमताको आधार कति योजना दिने हो टुङ्गो गर्नुपर्यो, ती योजना पुरा भएपछि मात्रै नयाँ योजना दिइनुपर्छ’, पाण्डेले भने ।
कार्यक्रमका उपाध्यक्ष आङदोजी लामा, महासचिव रोशन दाहाल लगायत पदाधिकारी सहभागी थिए । उनीहरूले समेत निर्माण एक जनाले सयौँ योजनाको जिम्मा लिने र अलपत्र पारेर छाड्ने प्रवृत्तिको अन्त्यको लागि नयाँ नियम आवश्यक रहेको औंल्याए ।
इलाम नगरपालिकाको प्रमुख महेश बस्नेतले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि निजी क्षेत्रको महत्त्वपूर्ण योगदान हुने भन्दै पुँजीगत खर्चको माध्यमबाटै राज्यको स्रोत नागरिकसम्म पुग्ने भए पनि त्यो सन्तोषजनक नभएको बताए । ‘पुँजीगत खर्च सन्तोषजनक छैन, खर्च सन्तोषजनक नहुँदा राज्यको स्रोत पनि सबै नागरिकसमक्ष पुगेको छैन’, उनले भने,‘सबै निर्माण व्यवसायीको मात्रै दोष होइन, सार्वजनिक खरिद ऐन र नियमावली नै समयानुकूल बनाउनुपर्छ ।’
निर्माण व्यवसायी संघले आफ्नो अधिवेशनको अवसरमा इलाममा मेडिकल कलेज स्थापनाको लागि जग्गा व्यवस्थापन गर्न तीन लाख रुपैयाँ सहयोग गरेको छ । मेडिकल कलेज स्थापना गर्नको लागि इलाम नगरपालिकाले प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले जग्गा व्यवस्थापनको लागि समिति नै बनाएर प्रक्रिया अघि बढाएको । संघका अध्यक्ष सुभाष चिपालुले इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
आइतबार सुरु भएको निर्माण व्यवसायी संघको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न हुनेछ । व्यवसायी संघको अध्यक्षको लागि चार जना आकांक्षी छन् । वर्तमान अध्यक्ष सुभाष चियालु, पूर्वध्यक्ष राजकुमार भक्तराज, सन्तोष कटुवाल र डिल्ली खनाल अध्यक्षको दौडमा छन् । निर्माण व्यवसायी संघमा २२० व्यवसायी आबद्ध छन् । न्युज कारखाना