काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बाराको सिमरा स्थित होटेल इच्छामा सम्पन्न भएको हो ।
सभामा कम्पनीको हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ४२ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८ सय १८ रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित भएको छ ।
उक्त सभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत संचालक शैलेष संघई, र अनिता रायमाझी टण्डन निर्विरोध निर्वाचित भएका छन । सञ्चालकहरुलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएको कम्पनीले जनाएको छ ।
सभामा संस्थापक र सर्वसाधारण शेयरधनीको स्वामित्व अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित भएको छ । हाल कम्पनीमा संस्थापक शेयरधनीको स्वामित्व ६० प्रतिशत छ भने सर्वसाधारणको शेयर अनुपात ४० प्रतिशत छ ।