काठमाडौं । नेपालको बीमा नियमनकारी निकाय बीमा समिति आज २०७८ साल जेठ १ गते आफ्नो स्थापनाको ५२ औं वर्ष पूरा गरी ५३ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा समितिको उद्देश्य र जिम्मेवारीलाई सशक्त ढंगले अघि बढाउन सहयोग गर्ने समितिका पदाधिकारी तथा कर्मचारीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै, समितिको काम कार्यवाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने नेपाल सरकारका विभिन्न निकायहरु, वित्तीय क्षेत्रका नियामक निकायहरु, बीमा कम्पनीहरु, बीमासंग सम्बन्धित सरोकारवालाहरु, अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरु तथा शुभेच्छुकहरु प्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा गर्दछु ।
बिश्व बीमा बजारः
विश्वभर महामारीको रूपमा फैलिएको कोभिड १९ को कारणबाट प्रभावित भई विश्व अर्थतन्त्र सन् २०१९ को तुलनामा सन् २०२० मा निकै कमजोर भएको देखिन्छ । आई.एम.एफ.ले प्रकासित गरेको प्रतिवेदनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सन् २०२० मा विश्वको अर्थतन्त्र ऋणात्मक अवस्थामा रहि ४.४० प्रतिशतमा कायम भएको देखिन्छ भने सन् २०२१ मा यसको बृद्धि सकारात्मक हुने प्रक्षेपण गरिएको छ ।
सन् २०१८ को तुलनामा सन् २०१९ मा विश्व बीमा बजार सकारात्मक भएको देखिएको छ । स्वीस रिले प्रकासित गरेको सिग्मा २०२० प्रतिवेदनका अनुसार सन् २०१९ मा विश्व बीमा बजारमा ६२ खर्व ९१ अर्व अमेरिकी डलर बरारबरको बीमाशुल्क संकलन भएको देखिन्छ र विश्वको कुल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान १७.२ प्रतिशत रहेको छ । सन् २०१८ को तुलनामा सन् २०१९ मा बीमा शुल्क संकलन लगभग ३ प्रतिशतले बृद्धि भएको देखिन्छ भने मुख्यतया कोरोना माहामारीका कारण सन् २०२० र २०२१ मा विश्व बीमा बजारमा बीमा शुल्क संकलन लगभग ३ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ ।
विश्व जीवन बीमा बजारतर्फ सन् २०१८ को तुलनामा सन् २०१९ मा बीमा शुल्क आर्जन १.९० प्रतिशतले बृद्धि भई २९ खर्व १६ अर्व अमेरिकी डलर बीमा शुल्क आर्जन भएको छ । सन् २०२० र २०२१ मा भने बीमा शुल्क आर्जन १.५ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।
विश्वको निर्जीवन बीमा बजारतर्फ सन् २०१८ को तुलनामा सन् २०१९ मा सकारात्मक रूपमा बृद्धि हुँदै गएको देखिन्छ । सन् २०१९ मा विश्व निर्जीवन बीमा बजारबाट ३३ खर्व ७५ अर्व अमेरिकी डलर बीमा शुल्क संकलन भएको देखिन्छ ।
सन् २०१९ मा पनि विश्व बीमा बजारमा पश्चिमी राष्ट्रहरुको वर्चश्व कायमै रहेको देखिन्छ । सन् २०१९ मा विश्व बीमा बजारमा अंशका अधारमा हेर्ने हो भने सबैभन्दा बढी बीमा बजारको अंश अमेरिकाको रहेको देखिन्छ जसले विश्व बीमाशुल्क आर्जनमा ३९ प्रतिशत अर्थात २४ खर्व ६२ अर्व अमेरिकी डलर को योगदान गरेको छ भने दोश्रो स्थानमा रहेको चिनले १० प्रतिशत अर्थात ६ खर्व १७ अर्व अमेरिकी डलर योगदान गरेको छ ।
कोरोना महामारीले विश्व अर्थतन्त्रमा पारेको नकारात्मक असरका कारण सन् २०२० मा विश्वका ३० सबै भन्दा ठुला अर्थतन्त्रहरुमा मन्दी आउने प्रक्षेपण गरिएको छ । बीमकहरुले लामो समयसम्म अति न्यून व्याजदरको सामना गर्नुपर्ने अवस्था सृजना भएको छ जस कारण बीमकहरुले लागनीको प्रतिफल न्युन हुने, सोलभेन्सी अनुपातमा नकारात्मक असर पर्ने तथा दायित्वको वर्तमान मुल्य बढ्ने जस्ता जटिल चुनौतिहरुको सामना गर्र्दै बीमा व्यवसाय सञ्चालन गर्नुपर्ने देखिन्छ ।
नेपाली बीमा बजारः
यस वर्ष नेपाली बीमा क्षेत्र पनि कोरेना महामारीको प्रकोपले संघर्षरत रहेको छ । यद्यपि बीमा क्षेत्रलाई थप व्यवस्थित तथा विकसित बनाउन विभिन्न संस्थागत तथा कानूनी सुधारहरु भएका छन् । फलस्वरुप बीमा क्षेत्र थप मयार्दित बन्दै गएको छ र आम जनताको बीमा प्रतिको विश्वसनीयता बढ्दै गएको छ भने यसको विस्तार पनि निकै उत्साहप्रद रहेको छ । यस वर्ष बीमा क्षेत्रमा भएका केही उपलब्धीहरुलाई यहाँ संक्षेपमा चर्चा गर्न आवश्यक ठान्दछु ।
१. बीमाको दायरामा रहेको जनसंख्याः
बि.सं. २०७७ को चैत्र मसान्तसम्ममा २४.०१ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको थियो । सोही अवधिमा वैदेशिक रोजगार म्यादी जीवन बीमा समेतलाई समावेश गर्दा २६.२३ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको देखिन्छ ।
२. कुल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रको योगदानः
बिगत लामो समयसम्म मुलुकको कुल गार्हस्थ उत्पादनमा बीमाको योगदान १ प्रतिशतको हाराहारीमा रहेकोमा आ.ब. २०७६/०७७ मा ३.२१ प्रतिशत रहेको छ । चालु आर्थिक बर्षको अन्त्य सम्ममा ३.७५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
३. जीवन बीमा व्यवसायः
नेपाली बीमा बजारमा १९ वटा जीवन बीमा कम्पनीहरूले जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका छन् । वि.सं. २०७७ साल चैत्र मसान्तसम्ममा सबै जीवन बीमा कम्पनीहरू मार्फत कुल ७६ लाख ६१ हजार ३५० बराबर बीमालेख बिक्री गरिएको छ । जुन गत बर्षको सोही अवधिको तुलनामा ५.६६ प्रतिशतले बृद्धि भएको देखिन्छ । बीमा कम्पनीहरुबाट बिक्री भएका कुल जीवन बीमालेखहरु मध्ये ६ लाख ७३ हजार १८४ वटा बैदेशिक रोजगार म्यादी जीवन बीमालेख रहेका छन् । यसै अवधिमा जीवन बीमा कम्पनीहरूले ९३ अर्व ८६ करोड बराबरको बीमाशुल्क संकलन गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ५१.२९ प्रतिशतले बृद्धि भएको देखिन्छ ।
४. निर्जीवन बीमा व्यवसाय
नेपाली बीमा बजारमा २० वटा निर्जीवन बीमा कम्पनीहरुले निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् । वि.सं. २०७७ साल चैत्र मसान्तसम्ममा सबै निर्जीवन बीमा कम्पनीहरू मार्फत कुल २२ लाख ४४ हजार ६ सय १६ वटा बीमालेख बिक्री गरिएको देखिन्छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २८.४० प्रतिशतले बृद्धि भएको देखिन्छ । त्यसैगरी, यसै अवधिमा सबै निर्जीवन बीमा कम्पनीहरु मार्फत २३ अर्व २ कारोड बराबर बीमाशुल्क संकलन भएको देखिन्छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १६.९७ प्रतिशतले बृद्धि भएको देखिन्छ ।
५. पुनर्वीमा व्यवसाय
आ.व.०७६/०७७ मा पुनर्बीमा व्यवसायको तथ्यांकलाई हेर्दा नेपालका बीमा कम्पनीहरूले कुल पुनर्बीमा शुल्क १५ अर्व ९ करोड रुपैयाँ बराबर भएको देखिन्छ । जसमा जीवन बीमा तर्फ १ अर्व १२ करोड रुपैयाँ पुनर्बीमा शुल्क रहेको छ भने निर्जीवन बीमा तर्फ १३ अर्व ९६ करोड रुपैयाँ बराबरको पुनर्बीमा शुल्क रहेको देखिन्छ । सोही अवधिमा नेपाल पुनर्बीमा कम्पनीमा गरिएको पुनर्बीमा बापतको रकम ७ अर्व २१ करोड रुपैयाँ बराबर रहेको देखिन्छ भने सोही अवधिमा पुनर्बीमा बापत बिदेशमा गरिएको भुक्तानी ७ अर्व ८८ करोड रुपैयाँ बराबर भएको देखिन्छ ।
६. बाली तथा पशुपन्छी बीमा
कृषि तथा पशुपन्छी बीमा चालु आ.व. ०७७/०७८ को फागुन मसान्त सम्ममा रू. २७ अर्व २४ करोड ८३ लाख बराबरको बीमाङ्क रकम कायम भएको र सो बापत रू.१ अर्व २३ करोड ७७ लाख बराबर बीमाशुल्क संकलन भएको देखिन्छ । सोही अवधिमा कृषि तथा पशुपन्छी बीमालेख संख्या १ लाख २४ हजार ६ सय ९८ रहेको छ भने नेपाल सरकारबाट प्राप्त हुने ७५ प्रतिशत अनुदान रकम रू.९२ करोड ५३ लाख ३४ हजार बराबर रहेको देखिन्छ । आ.व.०७७/७८ को चैत्र महिनासम्म कृषि तथा पशुपन्छी बीमाको दावी भुक्तानी संख्या जम्मा ६ हजार ४ सय ७९ रहेको छ भने सो बराबर जम्मा रु.२४ करोड २२ लाख २८ हजार रहेको देखिन्छ ।
७. लघुबीमा व्यवसाय
नेपाल सरकारबाट आ.व.२०७५/०७६ को वार्षिक बजेट वक्तव्यमा बीमा कम्पनीहरूले आगामी दुई वर्ष भित्र आफ्नो कुल बीमा व्यवसायको न्यूनतम दश प्रतिशत अंश लघु बीमामा हुनु पर्ने व्यवस्था गरेको छ । आ.व.०७७/०७८ चैत्र मसान्तसम्म जीवन तथा निर्जीवन बीमामा कुल जारी भएको १ करोड ५७ लाख ९ हजार एक सय पचास बीमालेखहरू मध्ये लघुबीमा अन्तर्गत ५ लाख ५ हजार ३ सय ६६ बीमालेख जारी भएका छन् र लघुबीमाको अंश ४.७८ प्रतिशत हुन आउँछ ।
८. बीमकको शाखा
समितिले बीमकको शाखा स्वीकृति प्रदान गर्दा संघीय संरचना अनुरुप स्थानीय तहमा शाखा विस्तारलाई प्राथमिकता दिने नीति अवलम्वन गरेको छ । वि.स. २०७७ साल चैत्र मसान्तसम्ममा सात प्रदेशमा गरी बीमकका २,९२२ शाखा संचालनमा रहेका छन् । साथै सोहि अवधिमा बीमा क्षेत्रले दश हजार भन्दा बढी कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आइरहेको छ । बीमा क्षेत्रमा कार्यरत अभिकर्ताको संख्या करीब ५ लाख मध्ये करीव १ लाख ७५ हजार अभिकर्ताहरु सक्रिय रुपमा रोजगारीमा सहभागि भएका छन् भने करीव ४०१ जना बीमा सर्भेयरको रुपमा कार्यरत रहेका छन् ।
९. बीमा बिधेयकको उपर छलफल
बीमा क्षेत्रको नियमनकारी निकायहरुको अन्तराष्ट्रिय संस्था International Association for Insurance Supervisor -IAIS) ले प्रतिपादन गरेका नविनतम् सिद्धान्तहरुलाई आत्मसाथ गरी बीमा नियमनकारी निकायको स्वायत्तता र अधिकारलाई स्पष्ट किटानी गर्नुका साथै बीमा कम्पनीहरु र बीमा मध्यस्थकर्ताहरुलाई नियमनको दायरामा ल्याउने स्पष्ट व्यवस्था गरिएको बीमा विधेयक उपर प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा छलफल भई विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको छ ।
१०. वित्तीय क्षेत्र विकास रणनीति अन्तर्गतका कार्यहरु सम्पन्न
नेपाल सरकारको बित्तीय क्षेत्र सुधार रणनीति (२०७३/२०७८) मा उल्लेख भएको समितिबाट सम्पादन गर्नुपर्ने लघु बीमा सम्बन्धी संरचना कार्यान्वयनमा ल्याउने, कृषि/बाली बीमा विधि तयार गरी कार्यान्वयन गर्ने, स्वास्थ्य बीमा विधि तयार गरी कार्यान्वयन गर्ने, बिद्यमान बीमा ऐन, नियम तथा निर्देशिकाको पुनरावलोकन तथा संसोधन गर्ने, जोखिममा आधारित पूँजी संरचना विकास गरी कार्यान्वयन गर्ने, गाभ्ने गाभिने तथा प्राप्त गर्ने सम्बन्धी ब्यवस्थामा पुनरावलोकन गरी लागु गर्ने, जोखिम ब्यवस्थापन मार्गदर्शन तयार गर्ने, जोखिममा आधारित सुपरीवेक्षण ब्यवस्था बिकास गर्ने, दाबी भुक्तानी मार्गदर्शन बनाउने, दाबी भुक्तानी मार्गदर्शन कार्यान्वयन गर्ने, बीमा उद्योगमा राख्नुपर्ने लेखालाई अन्तर्राष्ट्रिय वित्तीय रिपोर्टिङ प्रणाली/राष्ट्रिय वित्तीय रिपोर्टिङ प्रणाली बमोजिम सुदृढ तुल्याउने भनि तोकिएका दश (१०) वटै कार्यहरु सम्पन्न गरिएको छ ।
११. बीमा दाबी सम्बन्धी विवादको निरुपण
बीमा ऐन, २०४९ ले बीमा समितिलाई बीमित र बीमकको बीचमा उत्पन्न हुने बीमा सम्बन्धी विवादमा मध्यस्थता गर्ने एवम् बीमा दायित्व निर्धारणका सम्बन्धमा बीमकका बिरुद्ध बीमितले दिएको उजुरी उपर निर्णय गर्ने अर्धन्यायिक निकायको रूपमा स्थापना गरेको छ । बीमितले दिएका बीमा दावी सम्बन्धी उजुरीहरुलाई प्राथमिकताका साथ निर्णय प्रक्रियामा सामेल गरी किनारा लगाइएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म समितिमा दर्ता भइ फैसला हुन बाँकि कूल २५३ उजुरीहरुमध्ये फैसला तथा बीमा समितिको रोहवरमा बीमक र बीमित वीच आपसी सहमती तथा मेलमिलापबाट ५९ वटा उजुरीहरु किनारा लगाई सकिएको छ ।
१२. समितिबाट जारी भएका निर्देशिका, मापदण्ड तथा अध्ययन प्रतिवेदन
(क) कृषि बीमा निर्देशिका, २०७७ जारी
समितिले बि.सं.२०६९ सालमा बाली तथा पशुधन निर्देशन, २०६९ जारी गरेर नेपालमा कृषि तथा पशुपन्छी बीमाको औपचारिक सुरुवात गरेको थियो । समितिले उल्लेखित निर्देशिकालाई समय सापेक्ष संशोधन तथा परिमार्जन गरी नयाँ कृषि तथा पशुपन्छीं बीमा निर्देशिका, २०७७ जारी गरेको छ । यस निर्देशिकामा कृषि तथा पशुपन्छी बीमाका प्रकारहरु, कृषि तथा पशुपन्छी बीमा व्यवसाय सञ्चालन सम्बन्धी व्यवस्था, कृषि तथा पशुपन्छी बीमा मध्यस्थकर्ता सम्बन्धी व्यवस्था, मध्यस्थकर्ताको काम र कर्तव्यका साथै दावी भुक्तानी सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ ।
(ख) कोरोना बीमा मापदण्ड, २०७७ जारी
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न, बीमकले जारी गर्ने कोरोना बीमालाई ब्यवस्थित गर्न, नेपाल सरकारको आर्थिक बर्ष २०७७/०७८ को बजेट बक्तव्यको बुदाँ ५५ र २८५ को कोरोना बीमा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न समतिले नेपाल सरकार अर्थ मन्त्रालयको सहमतिमा बीमा ऐन, २०४९ को दफा ८(घ२) को अधिकार प्रयोग गरीे “कोरोना बीमा मापदण्ड, २०७७” जारी गरेको छ ।
हालसम्म कोरोना बीमा गर्नेको संख्या १७ लाख हाराहारीमा रहेको छ भने जारी कोरोना बीमालेख मध्ये केही २०७७ चैत्र मसान्तमा समाप्त भईसकेको छ । अन्य बीमालेखहरुको अवधि २०७८ असार मसान्त सम्म रहेको छ । मिति २०७८ बैशाख १५ गतेसम्म कोरोना बीमा गरेका बीमितहरुमध्ये करीब ९० हजारको दाबी परेको छ, जसमध्ये करीब ६० हजारले दाबी भुक्तानी पाईसकेका छन भने बाँकि दाबी भुक्तानीको प्रकृयामा रहेका छन ।
(ग) अध्ययन प्रतिवेदन तयार
बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालको जीवन, निर्जीवन तथा पुनर्बीमा क्षेत्रमा पारेको असर सम्बन्धमा समितिबाट A Study on the impact of COVID-19 in insurance sector of Nepal अध्ययन प्रतिवेदन तयार पारी प्रकाशन गरेको छ ।
यस प्रतिवेदनले नेपालको जिवन बीमा क्षेत्रको Laps rate, Revival rate तथा Surrender rate पत्ता लगाई यसको तुलनात्मक बिश्लेषण गरिनुका साथै यसले जिवन बीमा कम्पनीको नाफा र जिवन बीमा कोषमा के कस्तो असर पुर्याउछ भनी अध्ययन गरिएको छ । यस अध्ययन प्रतिवेदन दश आर्थिक वर्षको तथ्याङ्कको आधारमा नेपालको जिवन बीमा क्षेत्रको laps rate २३.९१% , revival rate ८८.८२% तथा surrender rate ३.८३% पाइएको छ । यसै क्रममा laps rate र जिबन बीमा कोष बीच नकारात्मक सम्बन्ध रहेको तथा laps rate/profitability बीच सकारात्मक सम्बध रहेको देखिएको छ भने revival rate र profitability बीच सकारात्मक सम्बन्ध पाइएको छ ।
(घ) बीमकहरुको NFRS मा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०७७ जारी
समितिबाट जीवन, निर्जीवन तथा पुनर्बीमा ब्यबसाय गर्ने बीमकहरुको लागि छुट्टा छुट्टै NFRS मा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका जारी भएको छ । बीमकहरुले आ.व. २०७६/७७ देखि वित्तीय विवरणहरु उक्त निर्देशिका बमोजिम तयार गर्नु पर्नेछ । बीमकहरुले NFRS मा आधारित वित्तीय विवरण आ.व. २०७४/७५ देखि नै तयार गर्दै आएकोमा समितिबाट निर्देशिका जारी भए पश्चात सबै बीमकहरु को वित्तीय विवरण एकै ढाँचामा तयार हुने छन् । यस संगै आगामी दिनमा बीमा बजारको विश्लेषण तथा अध्ययन गर्न सहज हुने अपेक्षा बीमा समितिले लिएको छ ।
(ङ) संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ जारी
बीमकको संस्थापक वा संस्थापक समूहको शेयर कारोबार खरिद बिक्री, नामसारी, हक हस्तान्तरण शेयर समुह परिवर्तन तथा धितोबन्धक जस्ता क्रियाकलापलाई ब्यबस्थित गर्न बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ जारी गरिएको छ । यस अघि समितिबाट यस बिषयमा जारी भएको निर्देशिका तथा सो सम्बन्धमा गरिएका परिपत्रहरु लाई एकीकृत गरी निर्देशिकामा समयानुकुल परिमार्जन गरी नयाँ निर्देशिका जारी गरिएको हो ।
(१३) समितिको क्षमता अभिवृद्धि
क) कर्मचारी नियुक्ती
बीमा व्यवसायमा भएको वृद्धिसँगै समितिको कार्यक्षेत्र समेत वृद्धि हुँदै गएको छ । बीमा व्यवसायलाई नियमित, विकसित, व्यवस्थित र नियन्त्रित गर्ने समितिको मुख्य कार्यलाई थप प्रभावकारी बनाउन, सेवा प्रवाहलाई छिटो, छरितो, चुस्त, दुरुस्त रुपमा सम्पन्न गर्न, बीमकको स्थलगत निरिक्षण र गैरस्थलगत सुपरीवेक्षण गर्न, समितको तथ्याङ्क व्यवस्थापन गर्न तथा समितिबाट प्रवाह हुने सेवालाई सूचना प्रविधिमैत्री बनाउनका लागि थप जनशक्ति आवश्यक भएकोले समितिले गत आर्थिक बर्षमा पदपूर्ति गर्न लोक सेवा आयोगमा पठाएकोमा कोभिड १९ महामारीको कारण अझै पदपुर्ति हुन सकेको छैन । साथै, समितिले यस आर्थिक बर्षमा दुई (२) जना चर्टर्ड एकाउन्टेन्ट, एक (१) जना तथ्याङ्कशास्त्री र एक (१) जना सूचना प्रविधि अधिकृत गरी ४ जना कर्मचारी करार सेवामा नियुक्ती गरेको छ ।
ख) तालिम कार्यक्रम सम्पन्न
समितिमा कार्यरत कर्मचारीहरुमा क्षमता अभिवृद्धि गर्ने उदेश्यले समितिले आफ्नो बार्षिक कार्यक्रममा नै कर्मचारी क्षमता अभिवृद्धि गर्ने भनी कार्यक्रम समावेश गरे अनुरुप समितिका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई जोखिममा आधारित सुपरीवेक्षण, एन.एफ.आर.एस. तथा बीमा र व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
ग) एकिकृत सफ्टवेयर
समितिमा हाल विभिन्न प्रकृतिका सफ्टवेयरहरु संचालनमा रहेको तर एकीकृत खालको सफ्टवेयर नभएको कारण समितिको आन्तरिक तथ्याङ्क व्यवस्थापनमा र बीमकहरुबाट प्राप्त हुने विविध प्रकृतिका तथ्याङ्कहरु व्यवस्थापन गर्न कठिनाई भएका कारण समितिले एकीकृत सफ्टवेयर निर्माणको कार्य अगाडी बढाएको छ । उक्त सफ्टवेयर हाल निर्माण तथा जडानको अन्तिम चरणमा पुगेको छ । यो सफ्टवेयर निर्माण कार्य सम्पन्न भए पश्चात समितिको काम कारबाहीमा सहजता हुनुका साथै बीमकहरुबाट प्राप्त हुने तथ्याङ्क एवं सूचनाहरु व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ ।
(१४) अन्तरक्रिया कार्यक्रम सम्पन्न
बीमा समितिले नेपालको समग्र बीमा क्षेत्रको विकास, विस्तार र जनचेतना अभिवृद्धि गर्ने अभिप्रायले बीमा सम्बन्धि चेतनामूलक तथा प्रवद्र्धन गर्ने उदेश्यसहित अन्तरक्रिया तथा छलफल कार्यक्रम संचालन गर्दे आईरहेको छ । यसै सन्दर्भमा समितिको आर्थिक वर्ष २०७७/०७८ को बार्षिक कार्यक्रममा उल्लेख भएको बीमा क्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया र छलफल गर्ने विषय बमोजिम समितिका श्रीमान् अध्यक्षज्यूको समुपस्थितिमा समितिका कार्यकारी निर्देशकज्यू, निर्देशकज्यूहरु लगायतका कर्मचारीहरुको सहभागितामा १९ वटै जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र अध्यक्षज्यूहरु को उपस्थितिमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणका कारण अपेक्षित रुपमा अन्तरक्रिया÷छलफल कार्यक्रमहरु संचालन गर्न कठिनाई भएको छ ।
(१५) AML/CFT बिशेष स्थलगत निरीक्षण म्यानुअल तयार
बीमकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ब्यबस्थाहरुको प्रभावकारी तरीकाले पालना गरे नगरेको यकीन गर्न बीमा समितिबाट गरिने बिशेष स्थलगत निरीक्षण कार्य लाई ब्यबस्थित गर्न स्थलगत निरीक्षण म्यानुअल बनाई लागू गरिएको छ । म्यानुअलले जोखिममा आधारित सुपरीवेक्षण प्रणालीलाई अवलम्बन गरेको छ ।
(१६) AML/CFT सम्बन्धी बिशेष स्थलगत निरीक्षण
बीमकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ब्यबस्थाहरुको प्रभावकारी तरीकाले पालना गरे नगरेको यकिन गर्न यस बर्ष ४ वटा बीमकको स्थलगत निरीक्षण गरी जोखिमका आधारमा उक्त बीमकहरु को प्रोफाइलिङ को काम सम्पन्न भएको छ । कोरोना महामारीबाट सिर्जित परिस्थितिका कारण यस बर्ष स्थलगत निरीक्षण कार्य अघि बढाउन कठिनाइ उत्पन्न भएकोले गैरस्थलगत सुपरीवेक्षणका कार्यलाई प्राथमिकता दिईएको छ ।
(१७) goAML लागू गरिको
बीमकले वित्तीय जानकारी इकाईमा गर्नु पर्ने सीमा कारोबार र शंकास्पद कारोबार तथा गतिविधिको प्रतिवेदन तथा सूचना समयमै प्रभावकारी तरिकाले प्रेषण गर्न सफ्टवेयर लागू गर्ने काम यस बर्ष अघि बढेको छ । वित्तीय जानकारी इकाई सँगको समन्वयमा, २०७७ असोजबाट केही बीमकमा लागू गरिएको goAML सफ्टवेयर हाल संचालनमा रहेका सम्पूर्ण बीमकमा परीक्षणको रुपमा लागू गरिएको छ । यसै आर्थिक बर्षको अन्त्य सम्ममा सो सफ्वेयर पूर्ण रूपमा लागू गर्ने तयारी गरिएको छ । बीमा क्षेत्रमा goAML लागू भई सके पश्चात आर्थिक अपराधको सूचना संकलन तथा अनुसन्धान कार्यमा सहयोग पुग्ने आशा गरिको छ ।
(१८) भवन निर्माण सम्झौताः
हाल समितिको लागि व्यवस्थित र आवश्यकता अनुरुपको भवन नभएकोले समितिले आफ्नो कुपण्डोल, ललितपुर स्थित जग्गामा अत्याधुनिक सुविधायुक्त अपाङ्गमैत्रि भवन निर्माण गर्नका लागि श्री नेपाल सरकार शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागसँग सम्झौता गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागसँग भएको सम्झौता बमोजिम निर्माण हुने भवनको लागि आवश्यक पशामर्श सेवा लगायत निर्माण कार्यको सम्पूर्ण जिम्मेवारी भवन निर्माण विभागको हुनेछ ।
(१९) बीमकको गैरस्थलगत र स्थलगत सुपरीवेक्षणः
बीमा कम्पनीहरु प्रचलित ऐन, नियम, बीमा समितिबाट जारी भएका नीति निर्देशन, मार्गदर्शन र पत्रिपत्रहरु लगायत आफ्नो संचालक समितिबाट जारी भएका नीति/नियमको परिधिभित्र रहेर कार्य गरे/नगरेको सुनिश्चितताको लागि बीमा समितिले बीमकको सुपरीवेक्षण गर्ने गर्दछ । समितिले गैरस्थलगत सुपरीवेक्षणका क्रममा बीमकहरुबाट प्राप्त सूचना, जानकारी एवं विवरणहरुको वित्तीय विश्लेषण गर्ने गर्दछ । त्यसै गरी समितिले यस आर्थिक बर्षको चैत्र मसान्त सम्ममा नियमित ८ वटा र आकास्मिक ८ वटा गरी जम्मा १६ वटा बीमकहरुको स्थलगत सुपरीवेक्षण सम्पन्न गरेकोमा कोभिड १९ को संक्रमण जोखिम बढेसँगै स्थलगत सुपरीवेक्षण कार्य प्रभावित भएको छ ।
अन्तमा, जोखिम व्यवस्थापनको महत्वुर्ण औजारको रुपमा रहेको बीमालाई आम नागरिकको दैनिकीसँग जोड्नुपर्ने हुन्छ । यसका लागि नेपाल सरकार अर्थ मन्त्रालय, वित्तिय क्षेत्रका नियामक निकायहरु, सञ्चालक समिति, बीमकहरु, सर्भेयर, अभिकर्ता लगायत सरोकारवालाहरु सबैसँग रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।
बीमा क्षेत्र बहुआयामिक प्रकृतिको भएको हुँदा बीमा क्षेत्रले आफ्नो क्षेत्रको साथै अर्थ व्यवस्थाका सबै क्षेत्रको जोखिम समेत बहन गनुपर्ने भएकोले विपद्/जोखिम व्यवस्थापनमा बीमा क्षेत्र बढी संवेदनशील हुनुपर्दछ । हाल विश्वव्यापि महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टको कोभिड –१९ संक्रमण बढेसँगै बीमा व्यवसायलाई नियमित एवं विकसित गर्न थप चुनौती बढ्दै गएको हुँदा समग्र बीमा क्षेत्रको विकास र विस्तारको कार्यसँगै बीमितको हक/हित संरक्षणलाई केन्द्रमा राखी बीमा सम्बन्धी प्रचारात्मक, प्रवर्द्धनात्मक र सचेतनामूलक कार्यहरु गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु । बीमा समितिको ५३ औँ बार्षिकोत्सवको अवसरमा म लगायत समितिलाई अमुल्य राय, सल्लाह एवं सुझाव दिनुहुने नेपाल सरकारका माननीय अर्थमन्त्रीज्यू, सञ्चालकज्यूहरु, नियमक निकायका प्रमुखज्यूहरु, बीमकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतहरु लगायत बीमा समितिका सम्पूर्ण शुभचिन्तक, शुभेच्छुकहरुलाई हार्दिक धन्यबाद व्यक्त गर्दछु ।