काठमाडौं । बीमा समितिले पुनर्बीमा कम्पनीको नयाँ लाइसेन्सका लागि सार्वजिनक सूचना जारी गर्ने भएको छ । समितिले केहि दिन भित्रै लाइसेन्सका लागि सार्वजनिक सूचना आह्वान गर्ने अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए ।
समितिले केहि समय अगाडि नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन गराएको थियो । सिलवालले उक्त अध्ययनको निचोड तयार पारेर पेश गर्न अध्ययन समितिलाई पुनः निर्देशन दिएका छन् । अध्ययन समितिले प्रतिवेदनको सारांस पेश गरेको केहि दिन भित्रमै नयाँ लाइसेन्सका लागि सार्वजनिक सूचना जारी गर्ने अध्यक्ष सिलवालले जानकारी दिए । उनले भने ‘जे आउछ सार्वजनिक सूचनामा आउछ । सबैलाई एक महिनाको समय दिइनेछ ।’
एक महिनाको अवधिमा आवेदन दिने कम्पनीहरुको कन्सेप्ट हेरेर रेटिङ गर्ने र जसको राम्रो रेटिङ आउछ यसैलाई लाइसेन्स दिने सिलवालले जानकारी दिए । उनले भने ‘सम्पुर्ण कम्पनीको सवल तथा दुर्वल पक्ष हेरर कम्पनीको मूल्याङ्कन गरिन्छ ।’
समितिमा अहिलेसम्म नयाँ पुनर्बीमा कम्पनी स्थापनका लागि ५ वटा कम्पनी दर्ता भैसकेका छन् । समितिमा यस भन्दा अगाडि अन्नपुर्ण रि इन्स्योरेन्स, प्रुडेन्सियल रि इन्स्योरेन्स, जेन्युन रि इन्स्योरेन्स र काठमाडौं रि इन्स्योरेन्स दर्ता भएका थिए । यस बाहेक पछिल्लो समय अर्को एउटा कम्पनीले पनि दर्ता गरेको समितिले जनाएको छ ।
नयाँ कम्पनीको लाइसेन्सका लागि जति धेरै दर्ता हुन्छन् समितिलाई छनोट गर्न त्यति नै सजिलो हुने सिलवालको तर्क छ । दर्ता भएका सबै कम्पनीलाई लाइसेन्स नदिइने उनले प्रष्ट पारे। लाइसेन्स दिनु भन्दा अगाडि स्पष्ट आधारहरु तयार पारेर मात्रै अगाडी बढ्ने समितिको योजना छ ।
अध्ययन प्रतिवेदनलाई लिएर समितिको बोर्डले एक पटक छलफल गरिसकेको छ । बीमा समितिले उक्त अध्ययन समितिलाई अझै एक दुई पेजमा निचोड तयार पारेर बुझाउन निर्देशन दिएको छ । उक्त निचोडलाई लिएर अर्को बैंठक बस्ने र सार्वजनिक सूचना जारी गर्ने समितिको तयारी छ । अध्यक्षका अनुसार केहि दिन भित्रमै उक्त सूचना सार्वजनिक हुनेछ ।
हाल एक मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमा व्यवसाय गर्दै आएको छ । एउटा मात्रै पुनर्बीमा कम्पनी प्रयाप्त नभएको भन्दै सरकारले अर्को पुनर्बीमा कम्पनी आवस्यक रहेको संकेत दिए सँगै लगानीकर्ताहरु नयाँ पुनर्बीमा कम्पनी स्थापनाको दौडमा छन् ।
आवेदन दिए जति सबैलाई लाइसेन्स दियो भने पुनर्बीमा कम्पनी राज्यकै लागि घातक हुन सक्छ । खुला अर्थतन्त्रमा एउटा मात्रै कम्पनी हुँदा व्यवसायिक प्रतिस्पर्धा भएन भन्नु स्वभाविक हो तर मनलाग्दी लाइसेन्स दिने काम भयो भने बीमा क्षेत्रकै लागि राम्रो नहुने विज्ञहरुको सुझाव छ । पुनर्बीमा कम्पनीले स्वदेश तथा विदेशबाट व्यवसाय ल्याउने भएकाले यसको व्यवसायिक क्षेत्र जति ठुलो छ जोखिमको क्षेत्र पनि त्यहि अनुसार धेरै छ । लाइसेन्सका विषयमा समिति र अर्थमन्त्रालयका पदाधिकारीहरु विचमा धेरै पटक छलफल भैसकेको छ । समिति केहि समयमा यसको सम्पुर्ण प्रकृयाँ टुङ्गाउने हिसाले अगाडि बढिरहेको छ ।