पुजन ढुङ्गेल अधिकारी
बिषय प्रवेश
बीमा भनेको बीमक र बीमित बीचको करार हो, जसमा बीमकले बीमितलाई बीमाशुल्क वापत जोखिम रक्षावरण गरिदिने गरि दुई पक्ष बीच सम्झौता गरिएको हुन्छ । बीमक र बीमित बीचको करारको कानूनी दस्तावेज नै बीमालेख हो । जीवन र निर्जीवन बीमालाई तुलना गर्ने हो भने जीवन बीमा धेरै संवेदनशील हुन्छ किनकी यो मानिसको जीवनको जोखिमसँग जोडिएको हुन्छ । बचत र बीमितको मृत्यु भए वापत बीमितको कानुनी हकदारले बीमकबाट क्षतिपुर्ति प्राप्त गर्ने प्रकृतिको हुन्छ ।
जीवन बीमालेख विभित्र किसिमका हुन्छन जसमध्ये सावधिक, म्यादी र आजीवन आदि । सावधिक जीवन बीमा अन्र्तगत मुनाफामा सरिक हुने वा नहुने, बाल सावधिक, परिमार्जित सावधिक आदि हुन्छन् । मुनाफामा सरिक हुने सावधिक जीवन बीमामा बीमकले बीमितलाई जोखिम रक्षावरणको साथ साथै नाफाको निर्धारित प्रतिशत रकम मुनाफाको रुपमा प्रदान गर्ने प्रावधान रहेको हुन्छ । बीमितको आवश्यकता र आम्दानीको श्रोतको आधारमा जीवन बीमालेख खरिद गरेमा बीमितलाई बीमालेखको प्रकार हेरी जोखिम रक्षावरणका साथै केही मुनाफा पनि प्राप्त हुने ब्यवस्था गरिएको हुन्छ । हाम्रो जस्तो बिकासोन्मुख देशमा ग्राहकले बीमालाई आफ्नो अमूल्य बचत लगानी गर्ने बैकल्पिक क्षेत्रको रुपमा हेरेको पाइन्छ । बीमा सम्बन्धी प्राप्त हुने जानकारी र सूचनाको आधारमा बीमा क्षेत्रमा लगानी गर्ने निर्णय गर्न सकिने भएकोले जीवन बीमा सम्बन्धी पर्याप्त सूचना र जानकारीको आवश्यकता पर्दछ ।
जीवन बीमालेख खरिद गर्दा आफ्नो आवश्यकता र आर्थिक क्षमता अनुसार खरिद गर्नुपर्दछ । जीवन बीमालेख खरिद गर्दा दुईवटा फाइदा हुन्छ । पहिलो जोखिम रक्षावरण हुन्छ भने दोश्रो बचत हुन्छ । हुनत बचत गर्ने अन्य उपायहरु पनि छन्, तर बचतको साथसाथै बीमितको मृत्यु भएमा परिवारलाई आर्थिक रुपमा बिछिप्त हुनबाट रोक्न र केहि राहत प्रदान गर्ने जीवन बीमाको उद्देश्य हुन्छ ।
नेपालमा उपलब्ध जीवन बीमाका प्रकारहरु
जीवन बीमाका बिभिन्न प्रकारहरु हुन्छन । बैंकका बिभिन्न बचत स्कीमहरु भनेजस्तै बीमा कम्पनीहरुले बेच्ने बिभिन्न प्रडक्टहरु हुन्छन् जसलाई बीमा पोलिसी वा बीमालेख भनिन्छ । हरेक प्रडक्ट वा बीमालेखका शर्त, सुविधा र अपवादहरु फरक–फरक हुन्छन् । कुनै बीमालेख जोखिमको रक्षावरण मात्र गर्ने प्रकृतिको हुन्छ भने कुनैमा बचतको सुविधा पनि रहेको हुन्छ । बीमाले प्रदान गर्ने नगर्ने सबै सुविधाहरु बीमालेखमा उल्लेख भएको हुन्छ । नेपालमा उपलब्ध बीमा योजनाहरुलाई निम्न बमोजिम विभाजन गर्न सकिन्छः
मूनाफमा सरिक हुन सकिने बीमालेख : नेपालमा प्रचलित जीवन बीमालेखहरु मध्ये सबैभन्दा प्रचलनमा रहेका बीमालेखहरु मूनाफामा सरिक हुनसक्ने प्रावधान भएका बीमालेखहरु छन् । यस्ता बीमालेखहरुमा सावधिक जीवन बीमालेख पर्दछन् । सावधिक बीमालेख मध्ये बाल सावधिक, अग्रीम भूक्तानी सावधिक, एकल बीमाशुल्क भुक्तानी बीमालेखहरु पर्छन् ।
साधारण सावधिक जीवन बीमा अन्तर्गत बीमित जीवित रहेमा बीमालेखको अनुसूचीमा लेखिएको बीमाङ्क रकम प्राप्त गर्दछ । बीमालेख लिने व्यक्ति वा बीमितको मृत्यु भएमा कानूनी हकदारले बीमाङ्क रकम र आर्जित बोनस प्राप्त गर्दछ । अग्रीम भूक्तानी सावधिक बीमामा भने बीमित जीवित रहेमा बीमालेखमा तोकिएको बीमाङ्क रकमको बिभिन्न किस्तमा बीमा योजनाको अवधि समाप्त नभईकन प्राप्त गर्दछ र बीमा योजनाको अवधि समाप्त भएमा बाँकी बीमाङ्क रकम र आर्जित बोनस समेत प्राप्त गर्दछन् । तर बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमकको कानूनी हकदारले पहिले नै प्राप्त गरिसकेको किस्ता नकटाइकन पुरैै बीमाङ्क रकम र आर्जित बोनस प्राप्त गर्दछ । साथै बालबच्चा सम्बन्धी सावधिक र अन्य सावधिक बीमामा पनि बीमितले बीमाङ्क रकमको साथै आर्जित मूनाफा रकम पनि प्राप्त गर्दछ ।
बीमा अवधि समाप्त नहुदै बीमाशुल्क तिर्न गाह्रो भएमा सावधिक जीवन बीमालेख साधारणतया बीमालेख प्रारम्भ भएको दुइ बर्ष भित्र समर्पण गर्न मिल्छ । सावधिक जीवन बीमालेख धितो राखि नियमानुसार ऋण समेत लिन सकिन्छ ।
मूनाफमा सरिक हुन नसकिने बीमालेख: नेपालमा प्रचलित जीवन बीमालेखहरु मूनाफामा सरिक हुन नसक्ने प्रावधान भएका बीमालेखहरु पनि रहेका छन् । बीमितले जोखिम रक्षावरणका लागि मात्र बीमा योजना खरिद गर्न चाहेमा यस्ता बीमालेखहरु खरिद गर्न उपयुक्त हुन्छ । यस्ता बीमा योजना सावधिक जीवन बीमा योजना भन्दा सस्तो हुन्छ ।
म्यादी जीवन बीमालेख र मूनाफामा सरिक नहुने सावधिक जीवन बीमा योजनाहरु मूनाफामा सरिक नहुने प्रकारमा पर्दछन् । म्यादी बीमालेख मध्ये साधारण म्यादी, बैदेशिक रोजगार म्यादि जीवन बीमा, आदि पर्दछन् । यस्तो प्रकारका बीमालेखको बीमाशुल्कबाट आर्जन भएको मुनाफा बीमितले पाउँदैनन् । यस्ता योजना अन्तर्गत बीमकको मृत्यु वा बीमालेखमा उल्लेखित अन्य घटना भएमा बीमितले वा कानुनी हकदारले बीमालेखमा उल्लेखित बीमा रकम प्राप्त गर्दछन् ।
पूरक करारहरुः जीवन बीमालेखहरु खरिद गर्दा अतिरिक्त बीमाशुल्क भुक्तानी गरी बैकल्पिक पूरक करारहरु खरिद गर्न सकिने व्यवस्था छ । पूरक करारहरुमा दुर्घटनाबाट मृत्यु भएमा थप रकम दिने पूरक करार सबैभन्दा बढि प्रचलनमा रहेको छ । अन्य पूरक करारहरुमा घातक रोग सम्बन्धी पूरक करार, स्थायी अशक्तता भएमा भुक्तानी दिने पूरक करार, बीमाशुल्क छुट सम्बन्धी पूरक करार, घातक रोग लागेमा भुक्तानी दिने पूरक करार आदि पर्छन् । पूरक करारहरु मात्र छुट्टै खरिद गर्न मिल्दैन । जीवन बीमालेख खरिद गरेमा मात्र पूरक करार किन्ने बिकल्प बीमितले पाउँछन् ।
बीमालेख खरिद गर्दा ध्यान दिनुपर्ने
कुनै पनि वित्तीय योजनाहरु जस्तै बीमालेख, बैकिङ्ग योजना, म्युचल फण्ड इत्यादीको सम्बन्धमा सही सूचना प्रवाह नगरी उक्त योजना अन्तर्गतका सुविधाहरुलाई ग्राहकहरु समक्ष बढाइचढाई पेश गर्ने समेत सम्भावना हुन्छ । विश्वभरी नै वित्तीय क्षेत्रमा यो समस्या रहेको हुन्छ भने समस्याको मात्रा तथा प्रभाव भने राष्ट्र तथा क्षेत्राधिकार अनुसार फरक फरक हुने गर्दछ । जीवन बीमामा यो समस्या अन्य क्षेत्रमा भन्दा बढी नै बिद्यमान रहेको पाइन्छ ।
बीमा ब्यवसायको प्रवद्र्घन र बृद्धिमा बीमा अभिकर्ताको उल्लेखनीय भूमिका रहेको हुन्छ । वास्तवमा भन्ने हो भने बीमा अभिकर्ता बीमा ब्यवसायका अभित्र अंग हुन । हाल नेपालमा १,२०,००० भन्दा बढि बीमा अभिकर्ता सक्रिय रुपमा कार्यरत रहेका छन् जस मध्ये करिब ६०० वटा संस्थागत अभिकर्ता रहेका छन् । अधिकांश रुपमा बीमाको प्रचार प्रसार बीमा अभिकर्ता मार्फत नै हुने गर्दछ । जीवन बीमा ब्यवसायको प्रवद्र्धनमा बीमा अभिकताहरुको ठूलो भूमिका हुन्छ । तर कहिले काहीँ बीमा अभिकर्ताहरुबाट प्राप्त जानकारी पर्याप्त नहुने वा अपूरो हुने भएकोले पनि बीमितहरुले आफ्नो आवश्यकता अनुुसारको बीमा योजना खरिद गर्न नसक्ने अवस्था हुन्छ ।
बीमा क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको बीमा समितिको मुख्य उद्देश्य बीमितको हित रक्षा गर्नुु हो । बीमितहरुले अनावश्यक बीमालेखमा पैसा खर्च गर्ने वा वास्तवमा पाइने भन्दा बढी भुक्तानी प्राप्त गर्ने प्रलोभनमा बीमालेख लिने समस्या देखिन्छ । बीमालेखको शर्त र सुविधा बारे जानकारी प्राप्त नगरी बीमालेख खरिद गरेमा बीमा दावी भ्ुक्तानीमा बिवाद, बढ्दो उजुरीको संख्या र बीमा क्षेत्रप्रतिको बिश्वसनियतामा कमी आउने जस्ता परिणाम हुनसक्छन् । बीमाप्रतिको बिश्वसनियतामा कमी हुनु बीमा क्षेत्रको बिकासमा बाधक बन्न सक्ने हुनाले बीमक र बीमा नियमनकारी निकायको लागि यो एक चुनौतिको रुपमा रहन सक्छ ।
बीमितले उपयुक्त बीमा योजना खरिद गर्न नसक्नुका कारणहरु
बीमालेख सम्बन्धी पर्याप्त जानकारी प्राप्त नगर्नु: बीमा क्षत्रको बिकास र प्रवद्र्धनमा बीमा अभिकर्ताहरुको महत्वपुर्ण भूमिका रहेको हुन्छ । वास्तवमा बीमितसँग प्रत्यक्ष सम्पर्क बीमा अभिकर्ताको नै हुन्छ । बीमा अभिकताको इजाजतपत्र प्राप्त गर्नको लागि अभिकर्ता तालिम अनिवार्य भएता पनि कतिपय बीमकहरुले स्तरीय तालिम प्रदान नगरेको र बीमालेखहरु सम्बन्धी पर्याप्त जानकारी प्रदान नगरेको कारणले अभिकर्ताहरुबाट प्रवाह हुने जानकारी बीमितसम्म पुग्दा अर्कै हुनजान्छ । बीमा कम्पनीबाट प्रवाह भएको जानकारी प्रवाह हुने माध्यम अभिकर्ताको दक्षताले प्रवाह पार्दछ । फलस्वरुप ग्राहकहरुले अधुरो जानकारीको आधारमा बीमालेखहरु खरिद गर्न पुग्दछन् । यसरी पूर्ण जानकारी बिना बीमालेख खरिद गर्दा आफ्नो आवश्यकता अनुसारको बीमालेख खरिद नगर्ने सम्भावना रहन्छ ।
वित्तीय साक्षरतामा कमी: वित्तीय क्षेत्रमा लगानी गर्नका लागि वित्तीय क्षेत्रका बिभिन्न आयामहरुको सम्बन्धमा सामान्य जानकारीको आवश्यक हुन्छ । तर नेपालको परिप्रेक्ष्यमा वित्तीय साक्षरताको कमी देखिन्छ । बीमा क्षेत्रमा वित्तीय साक्षरताको अभाव बैंकिङ्ग र धितोपत्रको क्षेत्रमा भन्दा निकै बढि देखिन्छ । वित्तीय साक्षरताको अभावको कारण आफ्नो आवश्यकता अनुसारको बीमालेख छनौट गर्न नसकिने र अभिकर्ताले वा बीमकले सुझाव गरे बमोजिमको बीमालेख खरिद गर्नुपर्ने बाध्यताले गर्दा बीमामा भ्रामक विक्री प्रमुख कारण बन्न गएको छ ।
बीमितले बीमालेख ध्यानपूर्वक नपढ्ने बानीः बीमालेख बीमाको कानुनी दस्तावेज हो जसमा बीमा सम्बन्धी शर्त सुविधा लगायत सबै जानकारी उल्लेख भएको हुन्छ । बीमाबाट प्राप्त हुने वा नहुने सुविधाहरुको बारेमा बीमलेखमा नै उल्लेख हुन्छ । बीमा गर्नु अगाडी बीमालेख पढ्ने बानी नभएको कारण बीमा कम्पनीको वा बीमा अभिकर्ताको भनाईलाई मात्र आधार मानि आवश्यकता भन्दा फरक किसिमको बीमालेख खरिद गर्ने अवस्था सिर्जना हुने गर्दछ ।
बीमाप्रति सचेतनाको अभावः बीमा भन्ने बित्तिकै एक आवश्यकताको रुपमा नभै करकापमा वा बैंकले मागेको खण्डमा मात्र गरिने प्रबृति देखिन्छ । जीवन बीमा मुनाफाको प्रतिशत हेरेर मात्र गरिन्छ तर जोखिम रक्षावरणको पक्षलाई धेरै ध्यान दिने गरिदैन । मुनाफा निर्धारण हुने तरिका र अन्य प्राविधिक पक्षहरुलाई आत्मसात गर्ने प्रचलन नहुनाले अभिकर्ताले वा बीमकले प्रतिबद्घता जनाए बमोजिमको मुनाफा प्राप्त गर्ने बिश्वासमा बीमालेख खरिद गर्ने प्रचलनका कारण भ्रामक विक्रीको सिकार बन्ने संभावना हुन्छ ।
बैकल्पिक बितरण प्रणालीको अभाव: नेपालको बीमा क्षेत्र अभिकर्तामा निर्भर रहेको छ । यसको कारण धेरै मानिसले रोजगारी प्राप्त गर्नुका साथै बीमाको दायरा पनि बढ्न सहयोग पुगेको छ । तर पूर्णरुपले अभिकर्तामूखी बजारका कारण केही अभिकर्ताहरुले झुठो जानकारी प्रदान गर्ने, भएको सुविधालाई बढाईचढाई भन्ने र आवश्यकता भन्दा फरक बीमालेख लिन बाध्य बनाउने गरेको देखिन्छ । अभिकर्ताका साथसाथै मोबाइल, खुद्रा पसलहरु, इत्यादिलाई बितरण प्रणालीको रुपमा प्रयोग गर्न सकेमा सम्भावना कम हुने देखिन्छ ।
बीमा क्षेत्रमा सूचना प्रविधिको कम प्रयोग: बीमा क्षेत्रमा प्रविधिको प्रयोग न्यून रुपमा मात्र भएको देखिन्छ । आजको बिकसित सूचना प्रविधिको युगमा पनि नेपालको बीमा क्षेत्रमा भने बीमितहरुले अपेक्षित रुपमा सुविधा प्राप्त गर्न सकेका छैनन् । अनलाइन बीमा सुविधा, बीमकको अद्यावधिक वेब साइट, उच्चस्तरीय सफ्टवेयरको अभावले गर्दा प्रभावकारी रुपमा सूचना र जानकारीको प्रवाह हुन नसक्नाले पनि भ्रामक विक्रीको मात्रा बढ्ने क्रममा रहेको छ ।
आवश्यकता र वास्तविकतामा फरक पर्दा हुन सक्ने परिणामहरु
बीमा क्षेत्रप्रतिको बिश्वसनीयतामा कमीः नेपालको बीमा क्षेत्रमा बीमाको पहुँच अपेक्षित रुपमा बढ्न नसक्नुको कारण मध्ये महत्वपूर्ण कारण बीमितले बीमाबाट आफूले अपेक्षा गरे बमोजिमको सुविधा र नाफा प्राप्त नगर्नु पनि हो । अभिकर्ता वा बीमकबाट सही सूचना प्राप्त गरी आफूले अपेक्षा गरे बमोजिमको सुविधा प्राप्त नगरेका बीमितहरुको फेरी बीमा गर्ने संभावना धेरै कम हुन्छ । साथै आफुले चिनेजानेकालाई बीमा गर्न प्रोत्साहित नगर्ने सम्भावना समेत रहन्छ । बीमितहरुको बीमा क्षेत्रप्रतिको बिश्वसनियतामा कमी आएमा सही रुपमा कार्य गर्ने बीमा अभिकर्ता र बीमकहरुप्रति पनि नकारात्मक प्रभाव पर्ने सम्भावना देखिन्छ । आफ्नो सेवा सुविधाको बारेमा सही र स्पष्ट जानकारी प्रवाह गर्ने बीमकहरुले पनि अन्य अभिकर्ता र बीमकहरुको कारणले मानिसहरुको बिश्वास जित्न निकै कठिन हुने अवस्था रहेको छ ।
बीमालेखको समर्पणमा बृद्धिः आवश्यकता भन्दा फरक किसिमका बीमा योजना खरिद गर्ने बीमितहरु सामान्यतया बीमा योजनालाई निरन्तरता दिन सक्दैनन् र चाहँदैनन् । परिणाम स्वरुप बीमालेख समर्पण गर्न बाध्य हुन्छन् । बीमालेख समर्पण गर्दा बीमक र बीमित लाईनै बेफाइदा हुन्छ । बीमितले आफूले तिरेको बीमाशुल्क बराबरको रकम पनि प्राप्त नगर्नाले नैराश्यता हुने गर्दछ र बीमकको पनि बीमाले निरन्तरता नपाँउदा बीमाशुल्क आर्जनमा नै असर पर्न जान्छ ।
ब्यतित बीमालेखको संख्यामा बृद्धिः बीमालेख अन्तर्गत बीमाशुल्क भूक्तानी गर्न मिल्ने म्यादभित्र बीमाशुल्क नतिरेमा बीमालेख ब्यतित हुने गर्दछ । ब्यतित बीमालेख अन्तर्गत बीमितले कुनै रकम भुक्तानी पाउँदैन । बीमालेखका प्रावधानहरुको बारेमा पर्याप्त जानकारी प्राप्त नभएको कारणले वा आम्दानीको श्रोतले नभ्याएमा बीमकहरुले बीमाशुल्क भूक्तानी नगर्ने र बीमालेख स्वतः ब्यतित हुने संभावना हुन्छ ।
दावीमा समस्या र बढ्दो उजुरीको संख्याः बीमालेखको बारेमा अधुरो वा गलत जानकारी प्राप्त गरेको बीमितले सोही बमोजिमको दावीको अपेक्षा गर्दछन् र दावी भुक्तानीमा बिवाद आउने गर्दछ । यसरी बिवाद आएमा बीमकको पनि विश्वसनीयता गुम्ने तथा बदनामीको संभावना रहन्छ भने अनावश्यक रुपमा आउने बिवादको कारण बीमक र बीमित पक्षलाई नै नकारात्मक रुपमा प्रभावित हुने गर्दछन् ।
बीमक र बीमित बीचमा दावी भुक्तानीको बिषयमा बिवाद उत्पन्न भएमा बीमा समितिले अर्धन्यायिक निकायको भूमिका निर्वाह गर्ने ब्यवस्था रहेको छ । दावी सम्बन्धमा बीमितलाई चित्त नबुझेमा बीमा समितिमा उजुरी गर्ने ब्यवस्था भए बमोजिम उजुरीको संख्या अनावश्यक रुपमा बढ्ने हुँदा बीमा समितिको उजुरी ब्यवस्थापनमा पनि चुनौती हुने देखिन्छ ।
बीमालेख खरिद गर्नु पूर्व ध्यान दिनुपर्ने
बीमा कम्पनी बीमा समितिबाट इजाजतपत्र प्राप्त हो कि होइन एकिन गर्ने: नेपालमा बीमा ब्यवसाय गर्न बीमा समितिबाट इजाजतपत्र प्राप्त हुनुपर्ने ब्यवस्था छ । बीमा समितिबाट इजाजतपत्र प्राप्त नगरी बीमा ब्यवसाय गरेमा गैरकानुनी हुने हुनाले इजाजतपत्र प्राप्त बीमा कम्पनीबाट मात्र बीमा सेव लिनु पर्दछ ।
आवश्यकताको पहिचान गर्नेः जीवन बीमालेख भित्र पनि बिभिन्न किसिमका बीमालेख हरु हुन्छन । यदि बचतको लागि बीमा गर्ने हो भने सावधिक जीवन बीमा जस्ता बीमालेख लिन उपयुक्त हुन्छ । यस्तो बीमालेखमा प्रत्येक बर्ष निर्धारित रकम तिर्दै जानुपर्छ र बीमा अवधि समाप्त भएपछि बीमाङ्क रकम र बोनस प्राप्त हुन्छ । यदि जोखिम रक्षावरण मात्र चाहिने हो भने म्यादि जीवन बीमा उपयुक्त हुन्छ जसमा मृत्यु भएमा कानुनी हकदारले बीमाङ्क रकम प्राप्त गर्छ ।
कोही पनि कानुनी हकदार नभएकालाई म्यादी बीमालेख वा आजीवन जीवन बीमालेख किन्न लगाउनु उत्तम हुन्छ । म्यादी बीमालेखको प्रकृति नै मृत्यु भएमा मात्र बीमाङ्क रकम प्राप्त हुने हुनाले कानुुनी हकदारहरु कोही नभएकालाई यस्तो बीमालेखहरु अर्थहिन हुन्छ ।
बीमालेख राम्रोसँग पढ्नेः बीमालेखमा उल्लेख भएको शर्त र सुविधाहरु बीमालेखमा नै उल्लेख भएको हुन्छ । बीमा गर्न चाहने ब्यक्तिले बीमालेखबाट पाइने सुविधा, नपाइने सुविधा र शर्तहरुको बारेमा जानकारी प्राप्त गर्न बीमालेख राम्रसँग पढ्नुपर्दछ । बीमालेखका प्रावधानहरु चित्त बुझेमा मात्र बीमा योजना खरिद गर्न उपयुक्त हुन्छ ।
बीमा कम्पनीको बित्तीय अवस्थाको जानकारी लिनेः बीमा कम्पनीले आफ्नो बित्तीय अवस्था सार्वजनिक गर्नुपर्ने नियमनकारी निकायहरुको प्रावधान हुन्छ । बीमा कम्पनीको बोनस दर कम्पनीको लगानी, नाफा नोक्सान आदिको अवस्था अनुसार प्रत्येक बर्ष परिवर्तन हुनसक्ने कुरा समेत बिचार गरी बीमा कम्पनीको बित्तीय अवस्थाको जानकारी प्राप्त गरी मात्र जीवन बीमा योजना खरिद गनु उपयुक्त हुन्छ ।
आम्दानीले भ्याउने गरी बीमा गर्नेः आम्दानीको श्रोत भन्दा बढी बीमाङ्क भएको जीवन बीमालेख खरिद गर्न उपयुक्त हुंदैन । ‘घाँटि हेरी हाड निल्नु’ भन्ने उखान बीमामा पनि लागू हुन्छ । आम्दानीले नभ्याउने बीमालेख खरिद गर्नाले बीमाशुल्क तिर्न नसक्ने र अन्तमा बीमालेख समर्पण हुने वा ब्यतित हुने संभावना बढी हुने हुन्छ । बीमालेख बीचैमा छोडी समर्पण गर्नु परेमा अपेक्षित रकम भन्दा कम रकम प्राप्त हुने हुनाले बीमितलाइ बेफाइदा हुन्छ ।
निश्कर्षः
बीमा आजको युगमा मानिसको आवश्यकता भैसकेकोछ । बैकल्पिक लगानीको माध्यमका साथै जोखिम रक्षावरणको लागि बीमा गर्नु अपरिहार्य छ । अन्य बित्तिय क्षेत्रमा जस्तै बीमा क्षेत्रमा पनि ग्राहकहरुलाइ गलत वा अधुरो जानकारी प्रवाह गरी बित्तिय कारोबार गर्न बाध्य तुल्याइन्छ । यस्तो किसिमको कारोबारको कारण बीमितको हित रक्षावरणमा असर पर्दछ र परिणाम स्वरुप बीतिको अधिकारको हनन् हुने गर्दछ । बीमितको हकहित रक्षावरणमा यस्ता किसिमका क्रियाकलापहरुले नयाँ चुनौति खडा गरेको छ । बीमा क्षेत्रमा बिद्यमान यो समस्याले बीमक र बीमा नियमनकारी निकायलाई समेत नकारात्मक असर पारेको छ । बीमकले आफ्ना कर्मचारी वा अभिकर्तामार्फत भैरहेका क्रियाकलापहरुलाई सुक्ष्म निगरानी गरी आफ्नो ख्यातिलाई नष्ट हुनबाट जोगाउनुपर्छ ।
अर्कोतर्फ, बीमा नियमनकारी निकायले प्रभावकारी निरिक्षण र निर्देशनको माध्यमबाट बजारमा भैरहेका क्रियाकलापहरुलाई निगरानी एवम् नियन्त्रण समेत गरी बीमितको हित रक्षावरण गर्नुपर्दछ । साथै हरेक व्यक्तिले कुनैपनि बीमालेख खरिद गर्दा अधिकांश लाभ उठाउनको लागि सचेत भै सतर्कतापूवक खरिद गर्नुपर्दछ । (लेखक बीमा समितिकी निर्देशक हुन् । प्रस्तुत लेखमा व्यक्त विचार लेखिकाको नीजि हो, संस्थागत प्रतिनिधित्व गर्दैन ।)