काठमाडौं । लगातार तीन दिनदेखि देशैभर भएको अविरल वर्षाका कारण बाढी पहिरो र चट्याङ लागेर २१ जनाको ज्यान गएको छ। पाँच जना अझै सम्म पनि बेपत्ता छन् । प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार, असोज ८ गतेदेखि देशका विभिन्न भागमा भएको अविरल वर्षा, बाढी, पहिरो, हावाहुरी, डुबान र चट्याङका कारण ठूलो जनधनको क्षति भएको छ। देशभर मनसुनजन्य ४३९ वटा घटना दर्ता भएका छन् ।
म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बाग्लुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेत लगायतका जिल्लाहरूमा मानवीय क्षति भएको छ। घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ भने बेपत्ताहरूको खोजी जारी छ। मनाङको हिमपहिरोमा परी मानिस बेपत्ता भएको र विवरण संकलन भइरहेको जनाइएको छ।
मौसम विज्ञान विभागको असोज ९ देखि १२ गतेसम्मको भारी वर्षाको पूर्वानुमानका आधारमा सरकारले पूर्वसावधानीका अपिल जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र ७७ वटै जिल्ला कमान्ड पोस्टलाई सक्रिय बनाएको थियो। रात्रिकालीन यातायात र विद्यालय बन्द गराउने निर्णयका साथै सुरक्षाकर्मीहरूले स्थलगत रूपमा माइकिङ गरी तटीय र जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना सम्प्रेषण गरेका थिए। सरकारको पूर्वसूचनाकै कारण हिमाली क्षेत्रमा गएका पदयात्रीहरू र विद्यार्थीहरू सुरक्षित रहन सफल भएका छन्।
प्रमुख राजमार्गहरू अवरुद्ध, कालीगण्डकीको पक्की पुल बग्यो
अविरल वर्षाका कारण उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकमार्ग लगायतका दर्जनभन्दा बढी सडकहरू पहिरो र भासिने समस्याका कारण प्रभावित भएका छन्। बाढीले नारायणी नदी किनारमा भरतपुरतर्फ सञ्चालन हुँदै अाएको दुइ तल्ले भवन भन्दा अग्लो पानी जहाज (क्रुजसिप) बगाएर पुलमा अड्किएपछि सावधानीका लागि पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ। कालीगण्डकीको पक्की पुल बाढीले बगाएको छ। सुदूरपश्चिमको महाकालीमा जलसतह उच्च भएपछि कञ्चनपुरको गड्डाचौकी नाका भएर हुने नेपाल भारत आवागमन रोकेर पुलको दुबैतर्फ सवारी सञ्चालन बन्द गरिएको छ। सेती, नारायणी, कमला र कुलेखानी क्षेत्रमा जलसतह बढेकाले उच्च सजगता अपनाउँदै यातायात नियन्त्रण गरिएको छ।
१,०१३ मेगावाट विद्युत् उत्पादन र आपूर्ति ठप्प
बाढीपहिरोका कारण कालीगण्डकी करिडोर, मर्स्याङ्दी र सेती(मादी करिडोरका प्रसारण लाइनहरू प्रभावित हुँदा कुल १,०१३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको छ।३१८ मेगावाट प्रसारण लाइनको टावर ढलेका कारण पूर्ण रूपमा ठप्प भएको छ भने ६९५.२ मेगावाट सम्भावित जोखिमलाई ध्यानमा राखी सुरक्षात्मक उपाय स्वरूप उत्पादन बन्द गरिएको जल श्रोत तथा उर्जा मन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिएका छन्। विद्युत् आपूर्ति यथाशीघ्र सञ्चालनमा ल्याउन प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिसकिएको उनले बताएका छन् । यसका साथै हुरीसहितको वर्षाले किसानहरूको धानबाली तथा तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ।
जोखिम अझै नसकिएकाले नदी तटीय तथा पहाडी क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न सरकारले अनुरोध गरेको छ। संकटमा परेका नागरिकले निःशुल्क टोलफ्री नम्बर १२३४ मा सम्पर्क गर्न सक्नेछन्।
प्रधानमन्त्री शाहले विपद्को घडीमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने वा कालोबजारीमा संलग्न हुनेहरूमाथि कडा निगरानी राखिएको र त्यस्ता गैरकानुनी कार्य गर्नेहरूविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएका छन् ।












