काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारण समुहको शेयर बिक्रीको प्रकृयाँ अगाडी बढाइसकेको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको छ । अवको केहि समयमा सर्वसाधारणका लागि पनि बिक्री खुला गर्नेछ । लामो समय नेपाल बीमा प्राधिकरण जस्तो नियामकीय निकायमा काम गरेर सन नेपाल लाइफ इन्स्योरेन्सको नेतृत्व सम्हालेका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालसँग समग्र बीमा बजार र प्राथमिक शेयर निष्काशनको विषयमा केन्द्रित भइ इन्स्योरेन्स खवरका सम्पादक अरुण सापकोटाले लिएको अन्तर्वार्ताको सम्पादित अंशः
गएको वर्षमा समग्र आर्थिक मन्दीको ठुलो प्रभाव देखियो । जीवन बीमा कम्पनीमा आर्थिक मन्दीको प्रभाव कत्तीको पर्यो ?
विगतको आर्थिक वर्ष २०७९/८० लाई हामीले हेर्यौ भने, समग्र आर्थिक क्रियाकलाप तथा सूचकाङ्कहरुमा संकुचन आएको र त्यसले वित्तीय क्षेत्रमा विशेष गरी जीवन बीमाको क्षेत्रमा पनि संकुचन ल्याएको कुरा घाम जत्तीकै छर्लङ्ग छ । शिलशिलाबद्ध तरिकाले हेर्यौ भने कोभिड १९ ले जुन असर पर्यो त्यस पछि नै बीमा क्षेत्र भित्र बीमा व्यवसायमा केहि आरोह अवरोहहरु पनि देखिरहेको छ । कोभिडकै कारणले गर्दा प्रथम बीमा शुल्क आर्जनमा आएको कमि, नविकरणीय बीमा शुल्कमा आएको कमि जस्ता कारणले सिर्जना भएका र हाम्रो व्यवसायिक अभ्यासले गर्दा अन्य प्रभावहरु देखिएका छन् । जस्तो बीमालेखको समर्पण हुने प्रकृयाँको बढ्दो आकार छ । बीमालेख व्यतित हुने अवस्था आएको छ । यो सबै आर्थिक क्रियाकलापकै कारणले हुन सक्छ । बीमालेख धितोकर्जा लिएर बीमालेख समायोजन गर्ने ट्रेण्ड आएको छ । आशा गरौ सुधारोन्मुक नै देखिनेछ ।
सन नेपाल लाइफमा यस्तो असर कत्तीको देखियो ?
समग्र उद्योगमा असर पर्दाखेरी सन नेपाल लाइफमा असर परेन भन्ने कुरा मिल्दै मिल्दैन । निश्चयनै असर परेको छ । हरेक बीमा कम्पनीको व्यवसाय प्राप्तिमा आ-आफ्नै अवधारणा रहेको हुन्छ । कुनै कम्पनीमा आक्रामक व्यवसायिक फिलोसपी होला र आक्रामक रुपमा व्यवसाय प्राप्त गर्ने रणनीति अनुसार होला । कुनै कुनै कम्पनीमा व्यवसायिक, नैतिक र प्रचलित अभ्यासका आधारमा प्राप्त गर्ने प्रकृयाँ हुन्छ ।
हाम्रोमा चाँही नेपालमा भएका बीमा कम्पनीहरुको सञ्चालन प्रणाली र व्यवसाय प्राप्तिका हिसावले पछिल्लो क्याटागोरीमा पर्छौ । त्यसकारणले अन्य कम्पनीहरुमा बीमालेखको सरेण्डर, बीमालेख धितो कर्जा तथा प्रथम बीमा शुल्कमा असर परेता पनि हाम्रोमा त्यस्तो छैन । व्यवसायमा केहि प्रतिशत असर पर्नु भनेको व्यवसाय घट्नु हो । घटेको त छ । यस प्रकारको स्थिति हाम्रो नियन्त्रण भित्रै छ । हाम्रो व्यवस्थापकीय संरचनाले व्यवस्थापन गर्न सक्ने अवस्थामा छौ ।
नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिदै गर्दा सन नेपाल लाइफले कसरी पुर्याउदै छ ?
गत वर्ष नेपाल बीमा प्राधिकरणबाट निर्देशिका जारी भइसके पछि चुक्ता पूँजी २ अर्बबाट ५ अर्ब पुर्याउने भन्ने कुरा भयो । त्यो व्यवस्थालाई हामीले आत्मसाथ गर्दै पूँजी बृद्धि गर्ने र ५ अर्ब पुर्याउन हामी आफ्नै मान्यतामा अगाडी बढ्यौ । त्यतिवेलासम्म प्राथमिक शेयर निष्काशन नगरिसकेको अवस्था र सार्वजनिक आह्वान नगर्दासम्मको अवस्थामा कम्पनीको फुलफ्लेजमा स्थापित भइसकेको भन्ने अवस्था थिएन ।
हामीले पूँजी बृद्धि गरेरै अगाडी बढ्ने योजना मुनाविक नै संस्थापक शेयरधनीहरुबाट केहि पूँजी थप गर्यौ । अहिले चाँही सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेर पूँजी इन्जेक्ट गरिसके पछि हामी एउटा स्ट्याण्डर्डमा आइपुग्छौ । तत् पश्चात बीमा प्राधिकरणमा जुन पूँजी बृद्धि योजना पेश गरेका छौ त्यसलाई हुँबहु कार्यान्वयन गर्ने गरी नियामकीय पूँजी जुटाउने तयारीका साथ अगाडी बढेका छौ ।
प्राथमिक शेयर निष्काशन पछि पनि केहि पूँजी आवश्यक रहन्छ । त्यो पूँजी जुटाउन आगामी योजना के छ ?
प्राथमिक शेयर निष्काशन पछि ५ अर्ब पूँजी मध्ये ३ अर्ब २० करोड चुक्ता पूँजी कायम हुन्छ भन्ने कुरा हामीले सार्वजनिक नै गरिसकेका छौ । हामीले विवरणपत्रमा पनि त्यो कुरा उल्लेख गरेका छौ । बीमा प्राधिकरणमा पनि त्यो कुरा पेश गरेका छौ । तत् पश्चात के हुने कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा दुई तीन वटा कुराहरु छन् । एउटा पार्ट भनेको हामीसँग ५ अर्ब भन्दा बढि प्रि-रिजर्भ हुने अवस्थामा नियामकीय पूँजी हुने अथवा जोखिममा आधारित पूँजीको आधारमा जाने अर्को मोडालिटीलाई व्यवस्था गरेर जाने भन्नेसम्मको कुरा हुन बाँकी छ । हामीले नेपाल बीमा प्राधिकरणसँग यो विषयमा छलफल पनि गरिरहेका छौ । किनभने अहिले हामीसँग जगेडामा केहि रिटेन अर्निङ पनि छ । कम्पनी स्थापना भए पछि आजको दिनसम्म कम्पनीले जुन मुनाफा आर्जन गरेको छ त्यसलाई जगेडाकोषमा सञ्चित गरेर राखेका छौ ।
यो वर्षसम्मको आम्दानीबाट केहि रकम वितरण गर्न सक्ने अवस्थामा हुन्छौ । सँगसँगै हामीले लक्कीली प्रिमियममा आइपिओ निष्काशन गर्न पाएका छौ । यो प्रकृया सम्पन्न भएपछि हामीसँग ठुलो रकम जगेडामा सञ्चित हुनेछ । त्यो जगेडाका आधारमा हामीले नियमनकारी निकायमा पूँजी बृद्धि योजना पेश गरेका छौ । त्यसै आधारमा हामीले समयमै नियमनकारी पूँजी पुर्याउछौ ।
पूँजी पुर्याउने सन्दर्भमा जोखिममा आधारित पूँजीको मोडालिटी पनि आएको छ । त्यो पूँजी नै प्रयाप्त हो कि होइन भन्ने कुरा पनि छ । त्यो प्रयाप्त हो कि होइन अथवा त्यो अधिक हुने हो अथवा जगेडालाई पनि पूँजी मान्न सक्ने हो अथवा जारी पूँजीलाई मात्रै पूँजी मान्ने हो । यसमा धेरै कुराहरु छ ।
बीमा व्यवसायको सन्दर्भमा हामीलाई नियामकीय पूँजी र जगेडा कोष दुबैलाई मिलाएर अगाडी बढ्नु पर्ने हुन्छ । यसै आधारमा तयारीका साथ अगाडी बढेका छौ ।
कम्पनीले नियामकीय पूँजी जुटाइ सके पछि क्षमता बढ्नेछ । क्षमता बढिसके पछि त्यसै अनुसार व्यवसाय अगाडी बढाउनु पर्ने हुन्छ । यसका लागि हजुरले कस्तो कस्तो योजना अगाडी बढाउदै हुनुहुन्छ ?
यसमा के छ भने कोभिड १९ को जुन किसिमको असर पर्यो त्यसको प्रभावसँगै संसारभर बीमा व्यवसायमा जुन किसिमका आयामहरु थिए ति सबै सिफ्ट भएका छन् । बीमाको जुन भ्यालु क्रियटिङ पोजिसनिङ हो त्यो पोजिसनिङ परिवर्तन भएको छ । हिजोका दिनमा हामी आफैले व्यवसाय गर्थ्यौ भने अहिले कन्सल्टेन्ट अथवा मध्यस्थकर्तामा व्यवसाय सिफ्ट भएको छ । हामीले त्यो क्षेत्रमा काम पनि गरिरहेका छौ, यो एउटा भयो । अर्को भनेको निर्णय लिने प्रकृयाँ, अहिलेको हाम्रो समाजमा अझ संसारभर नै हामीले हेर्यौ भने युवाहरु निर्णयकर्ता हुन् । युवा जनसंख्या नै अहिलेको डिसिजनमेकर हो । उहाँहरुको ध्यान कहाँ, कसरी भ्यालु क्रियट गर्न सकिन्छ भन्ने पक्षमा पनि हामीले केहि काम गरिरहेका छौ । सँगसँगै हाम्रो सन्दर्भमा भन्दाखेरी हाम्रो ठुलो प्रोडक्टिभ समुदाय वैदेशिक रोजगारको रुपमा विदेशी मुलुकमा कार्यरत छ ।
जीवन बीमामा भ्यालु क्रियटिङ गर्ने ठुलो हिस्सा बाहिर रहेको छ । अवका दिनमा त्यो समुदायलाई कसरी जोड्न सकिन्छ र हाम्रो परिधिभित्र ल्याउन सकिन्छ भन्ने कुरा पनि धेरै महत्वपुर्ण छ । उहाँहरु रेमिट्यान्स मार्फत बैंकिङ प्रणालीमा राम्रोसँग जोडिनु भएको छ । बैंकिङ क्षेत्र विदेशमा बस्ने नेपालीहरुसँग एकदमै राम्रोसँग जोडिएको साथै मुलुकमा देखिनेगरी योगदान पुर्याउने समुदाय पनि त्यहिँ छ ।
आजको दिनसम्म त्यो समुदाय बीमाको परिधिभित्र आउन सकेको छैन । हामीले पनि उहाँहरुलाई जोडेर सेवा विस्तार गर्नु पर्छ भन्ने पक्षमा पनि हेरिरहेका छौ । अर्को प्रमुख कुरा के हो भन्दा खेरि हाम्रो जुन किसिमको परमपरागत बीमा बजार र जीवन बीमाको जुन किसिमको वातावरण रहेको छ त्यहाँ बीमा कम्पनीले ह्युमन भ्यालु क्रियट गर्ने, सेवा प्रवाह गर्ने पाटोमा नजाने हो भने जीवन बीमा चल्न सक्दैन ।
जीवन बीमालाई प्राथमिकता आवश्यकताको रुपमा विकास गर्नु पर्छ । जीवन बीमा प्राथमिकतामा भन्दा पनि कम प्राथमिकतामा जान्छ । यसमा पनि हामीले काम गर्नु पर्छ । समग्रमा क्यापिटल बेसको आधारमा, प्रविधिको आधारमा, ग्राहकको अवधारणका आधारमा, ग्राहकको सन्तुष्टीको आधारमा संरचनात्मक परिवर्तन गरेरै अगाडी बढ्न पर्छ भन्ने मान्यतामा वर्क आउट गरिरहेका छौ ।
गएको वर्षमा बीमा क्षेत्रमा मर्जरको लहर चल्यो । मर्जरसँगै केहि कम्पनी आकारका हिसाले धेरै ठुला भएका छन् । मर्जर भएर ठुलो बनेको कम्पनीसँग सन नेपालले प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । अवका दिनमा कम्पनीले मर्जर गरेर जाने या मर्जर नगरी प्रतिस्पर्धा गर्ने योजना बनाएका छौ ?
यसमा दुई तीन वटा कुराले प्रभाव पारेको हुन्छ । हामीले पूँजी बृद्धि गर्ने क्रममा नियमनकारी निकायको मार्गनिर्देशनमा मर्जरको प्रकृयाँ अगाडी बढ्यो । मर्जरमा जानु भएका कम्पनीहरु स्वेच्छाले अथवा बजारको माग थियो अथवा लगानीकर्तामा क्रस होल्डिङको अवस्था थियो अथवा सिनर्जी इफेक्ट आउछ भनेर जानु भयो । उहाँहरु आफ्नो हिसावले मर्जरमा जानु भयो । व्यवसायिक अभ्यासमा पहिलो कुरा भोलिका दिनमा हामी कहाँ पुग्ने भन्ने हुन्छ । दोस्रो कुरा कसरी जाने भन्ने हो । हाम्रो मौजुदा संरचना छ, हाम्रो देशव्यापी रुपमा रहेको हाम्रो आफ्नो संरचना छ । हामीले विकास गरेको जनशक्ति छ । हाम्रो प्रविधि छ । सँगसँगै क्यापिटल बेसको आधारमा पनि मर्जरमा गएका कम्पनीहरुको जत्तीकै छौ । भोलिका दिनमा मर्जरमा गएका सञ्चालन हुन सक्ने र मर्जरमा नगएका सञ्चालन हुन नसक्ने भन्ने हुँदैन ।
अहिलेको समय भनेको थोर बहुत क्रियटिभिटीको हो । हामी परम्परागत व्यवसायलाई भागबण्डा गरेर र प्रथम बीमा शुल्क आर्जन गरेर प्रथम बन्छु भन्छौ भने भोलिको तनाव के हुन्छ म भन्न सक्दिन । हामीले समग्रमा हेर्ने भनेको प्रोडक्ट प्राइसिङ ठिक छ कि छैन, अण्डराइटिङको कुरा ठिक छ कि छैन । हाम्रो खर्च ठिक छ कि छैन । हाम्रो विजनेस म्यानेजमेन्टको कुरा ठिक छ कि छैन । अन्तत हामीले पोलिसी बिक्री गरिसके पछि दिने सेवाहरु प्रयाप्त छन् कि छैनन् र त्यसको मूल्याङ्कन ग्राहककोमै पुगेर गर्नु पर्छ ।
यदि यस्तो नगर्ने हो भने भोलिको व्यवसाय कहाँ पुग्छ केहि हुन्छ म भन्न सक्दिन । अर्को तर्फ यो एकदमै प्रतिस्पर्धी छ । इनोभेसन, ग्लोबलाइजेसन, डिजिटलाइसेन्सले गर्दा यो आफैमा प्रतिस्पर्धी हुँदै गइरहेको छ । अहिले कसैको कसैसँग प्रतिस्पर्धा छैन । सबैको आफैसँग प्रतिस्पर्धा छ । म कति इनोभेटिभ छु, प्रतिस्पर्धी छु, मेरो के कस्तो योजना छ, म कुन लक्ष्यका लागि हिडिरहेको छु भन्ने कुराले फरक पार्छ ।
हाम्रो सन्दर्भमा भन्नु पर्दा हामीले ह्युमन भ्यालु क्रियट गर्दै छौ । यसले आम मानिसको आर्थिक क्रियाकलापमा सहजिकरण होस् । बचतबाट जम्मा भएको रकमलाई प्रिमियमका रुपमा कम्पनीलाई भुक्तानी गर्ने र प्रिमियम मार्फत संकलन भएको रकमलाई राष्ट्र निर्माणको लागि योगदान पुर्याओस् भन्ने दीर्घकालिन योजना बनाएर अगाडी बढेका छौ ।
आजको दिनमा मैले भन्नु पर्दा मर्जर गरेर सेटल भएका कम्पनी र मर्जर नभएका कम्पनीहरुका विचमा के हुन्छ भन्न सकिदैन ।
त्यसो भए भोलिका दिनमा सन नेपाल लाइफ मर्जरमा जाने अवस्था आउदैन ?
अहिलेसम्म हामीले त्यसरी सोचेका छैनौ ।
आम सर्वसाधारण लगानीकर्ताले सन नेपाल लाइफको आइपिओमा किन लगानी गर्ने ?
सन नेपाल लाइफको शेयरमा हिस्सा लिनु भनेको पूँजीबजारका अन्य कम्पनीमा लगानी गरे सरह नै हो । हामीले प्रारम्भदेखि नै गर्दै आएका काम कारबाहीलाई हेर्दै आउनु भएको छ । जीवन बीमा क्षेत्रमा सन नेपाल लाइफ अन्य कम्पनी भन्दा फरक हो है भन्ने किसिमको भान पारिरहेका छौ । हामीले दिने सेवाको पाटोमा हामी अरु भन्दा फरक छौ । जति पनि हाम्रो वित्तीय सूचकहरु छन्, संस्थागत सुशासनका सूचकहरु छन् यी सबै सूचकहरुका आधारमा सन नेपाल लाइफ अन्य कम्पनीहरु भन्दा पछाडी छ भन्ने अवस्था छैन । सबै सूचकले हामी को हौ भनेर देखाएको छ ।
आम सर्वसाधारण लगानीकर्ताहरुलाई विवरणपत्र पनि दिएका छौ । उक्त विवरणपत्रमा हामी को हौ, अवस्था कस्तो रहेको छ, सञ्चालनको अवस्था कस्तो छ, नियामक निकायबाट हुने कुनै पनि कारबाहीमा अहिलेसम्म परेकै छैनौ । ति सम्पुर्ण कुराहरु छन् । यी सबै कुराहरुलाई मूल्याङ्कन गरेर लगानीकर्ताले लगानी गर्नु हुनेछ । लगानीकर्ताहरु आफै सचेत हुनुपर्छ भन्ने मेरो मान्यता छ ।
शेयरमा लगानी गर्ने भनेको प्रतिफलका लागि हो । प्राथमिक लगानीकर्ताहरुलाई प्रतिफलका लागि कत्तीको आश्वस्थ पार्न सक्नु हुन्छ ?
पहिलो कुरा इन्ड्रस्ट्रि रिटर्न एकदमै कम छ । विगत १० वर्षको अवधिमा जीवन बीमा कम्पनीले कति प्रतिफल दिएको छ ? यदि हामीले इन्ड्रष्ट्रिले दिएको प्रतिफलमा प्रतिस्पर्धी भएनौ भने हाम्रो कुरा हो । यदि यस्तो प्रतिफल भन्दा माथि दिन सक्छौ भने त तपाईले यति पाउनु हुन्छ भन्नै पर्दैन । जे कुरा हामीले भन्नु पर्ने हो त्यो सबै विवरणपत्रमै उल्लेख छ ।
बीमितहरुलाई अझै राम्रो सेवा प्रवाह गर्ने कुरालाई कसरी अगाडी बढाउनु हुन्छ ?
ग्राहक सन्तुष्टीको पाटोमा र पोष्ट सर्भिसको पाटोमा केहि गृहकार्य गरिरहेका छौ । हाम्रो इन्ड्रस्ट्रिमा गर्दै नगरेको एउटा पाटो भयो त्यो कुरालाई हामीले राम्रोसँग अनुभुति गरेका छौ । यसलाई दुई तीन किसिमबाट हेर्नु पर्छ । हामीले ग्राहकहरुलाई सोधपुछ गर्ने, उहाँहरुको अध्ययन गर्ने कुराहरुमा हामी लागिरहेका छौ । सञ्चार माध्यमबाट सूचना प्रवाह गर्न सक्छौ । समग्र बीमा क्षेत्रका बीमितहरुको हितमा काम गर्ने हो । यदि उहाँहरुको पाटोमा हामिले केहि भ्यालु एड गर्न सक्यौ भने त्यो पाटोबाट ग्राहकको सन्तुष्टी पुरा गर्न सक्छौ ।
कम्पनीले बीमितसँग उठाएको ठुलो फण्ड छ । यस्तो फण्डलाई सदुपयोग गर्दै बीमितले पाउने प्रतिफलका लागि लगानीको दायरालाई फराकिलो बनाउन के कस्ता कामहरु गरिरहेका छौ ?
यसमा दुई तीन वटा कुराहरु छन् । पहिलो कुरा प्रिमियमको रुपमा संकलन भएको जीवन बीमा कोष छ । जसलाई हामीले दायित्व कोषका रुपमा व्यवस्थापन गरेका छौ । दायित्व फण्ड भनेकै दायित्व भुक्तानी गर्नका लागि हो । जीवन बीमा कम्पनीले बीमितसँग जुन किसिमको बीमा शुल्क संकलन गर्छ । त्यो भनेको दायित्व हो । मैले तपाईसँग सापटी लिएर मेरो खल्तिमा पैसा राखे । अझै तपाईलाई पैसा फिर्ता दिन्छु भनेर पैसा राखे भने म साहुँ हो र ? म त्यो पैसाको धनी हो र ? होइन । मैले तपाईलाई तिर्नु पर्छ । मैले तिर्नु पर्छ भने त्यो पैसालाई समयमै फिर्ता गर्छु भनेर पनि त व्यवस्थापन गर्नु पर्यो ।
ठिक त्यसै गरी आम बीमितबाट लिएको जुन प्रिमियम हो त्यो बीमा कम्पनीले यो यो अवस्थामा भुक्तानी गर्छु भनेर सुनिश्चित गरेर लिएको पैसा हो । त्यसकारण सबैभन्दा महत्वपुर्ण कुरा के हो भने कम्पनी विश्वास हो । बीमितहरुको हकहितको लागि आवश्यक पर्दाखेरी जुनसुकै वेलामा बेहोर्न तयार छु भन्ने कुराको सुनिश्चित गर्नु पर्छ । यसका लागि कम्पनीले लिक्वीकटी मेन्टेन गर्ने हुनु पर्यो । लिक्वीडिटीको पोजिसनमा बसिरहनु पर्यो । त्यस पछि आउछ लगानीको पाटो । लगानी गर्ने सन्दर्भमा बीमा प्राधिकरणले हामीलाई निर्देशित गरेको छ । निर्देशिकाको परिधिभित्र रहेर हामीले लगानी गर्ने हो । लगानी गर्दा हामीले दीर्घकालिन लगानीका क्षेत्रहरु, मध्यकालिन लगानीका क्षेत्रहरु, अल्पकालिन लगानीका क्षेत्रहरुलाई हेर्नु पर्छ । लगानी गर्दा सबैभन्दा पहिलो कुरा सुरक्षित हुनु पर्यो । मैले गरेको लगानी मलाई आवस्यक परेको वेलामा लिक्वीडेट गर्न सक्छु कि सक्दिन हेर्नु पर्छ । त्यसैले पहिलो कुरा सुरक्षा नै हो । दोस्रो कुरा प्रतिफल हो । कहाँ लगानी गर्दा कस्तो किसिमबाट बढि भन्दा बढि प्रतिफल प्राप्त गर्न सकिन्छ । यी कुराहरुका आधारमा लगानी गर्ने हो । जीवन बीमा कोषमा रहेको पैसा लगानी गर्ने भनेको हाटबजारमा जस्तो मलाई मन लागेको ठाउँमा अथवा व्यवस्थापनलाई, सञ्चालक समितिलाई मन लागेको ठाउँमा लगानी गर्ने कुरा त होइन । केहि दीर्घकालिन लगानीका क्षेत्रहरुमा अथवा पुर्वाधारण विकासका क्षेत्रमा, पर्यटनका क्षेत्रमा, कृषिका क्षेत्रमा लगानी गर्न पाइन्छ भनेर निश्चित केहि व्यवस्थाहरु रहेको छ । यसको बारेमा हामी आफैले ति लगानीका क्षेत्रहरु र त्यसबाट प्राप्त हुने प्रतिफलका प्रकृयाका सन्दर्भमा विज्ञ नभएका कारणले गर्दा यसका वारेमा बाहिरका जानकार मानिसहरुबाट भनाइ लिने र सम्भावनाका कुराहरुमा अध्ययन गर्ने कामहरु भइरहेको छ । हाम्रो लगानीको पाटोलाई हेर्दा पहिलो कुरा सुरक्षित क्षेत्र नै हो । दोस्रो कुरा भनेको प्रतिफल नै हो ।
प्राथमिक बजारका लगानीकर्ताहरुलाई कम्पनीको तर्फबाट के भन्न चाहनु हुन्छ ?
बीमा जस्तो अनुशासित र नियमनकारी निकाय भएको क्षेत्र जहाँ प्रत्येक कदम कदममा नियन्त्रित हुने पारदर्शी र व्यवस्थित क्षेत्रमा लगानी गर्नु भनेको लगानीकर्ता आफै सचेत हुनु हुन्छ र सचेतता पुर्वक लगानी गर्नुभएको छ भन्ने मेरो मान्यता छ । बीमा क्षेत्रलाई रोज्नु भनेको लगानीकर्ता धेरै सचेत हुनु हुन्छ भन्ने हो । बीमा क्षेत्र राम्रो नियमन भएको, अनुसासित छ, आफ्नै मापदण्डहरु रहेका छन् । प्रत्येक कारोबारको पारदर्शिता छ । बीमा उद्योगले समाजलाई योगदान पनि पुर्याएको छ । समाज विकासको पाटोमा, वेलविइङ, सेभिङ पाटोमा धेरै योगदान गरेको छ । अर्को पाटी लगानीकर्ताले पाउने प्रतिफललाई हेर्ने हो भने समग्र इन्ड्रष्ट्रिको प्रतिफल अनुसार राम्रै छ । त्यसैले उहाँहरुले सचेततापुर्वक लगानी गर्नु हुन्छ भन्ने मान्यता रहेको छ । धेरै भन्दा धेरै लगानीकर्ताहरु यसमा आकर्षित हुनुहुन्छ भन्न चाहन्छु ।
राम्रोसँग बुझ्नु भएको छैन भने । बीमा क्षेत्र के हो । लगानी गर्दा के कस्तो चुतौती आउन सक्छन् । बीमा क्षेत्रको नेचर के छ भन्ने पाटोमा बुझेर मात्रै लगानी गर्नु हुन अनुरोध गर्छु ।