काठमाडौं । शेयर बजार घट्दा केही वाणिज्य बैंकहरुको बजार मूल्य प्रति शेयर नेट्वर्थ ( किताबी मूल्य ) को नजिकै आउँन थालेको छ । किताबी मूल्यले कम्पनीको वास्तविक मूल्य देखाउँछ । यसलाई बुक भ्यालु अथवा प्रति शेयर नेटवर्थ भनिन्छ। कम्पनी बन्द हुँदा शेयरधनीले पाउने प्रति शेयर मूल्य भनेर पनि चिनिन्छ । कम्पनीको सम्पत्तिमा दायित्त्व घटाएर आउने मूल्य भनेको किताबी मूल्य हो ।
नेप्सेमा हाल २० वाणिज्य बैंकहरूको शेयर कारोबार हुने गरेको छ । २० वाणिज्य बैंकमध्ये सनराइज बैंकको बजार मूल्य र किताबी मूल्य उस्तै छ । सनराइज बैंकको किताबी मूल्य १७५ रुपैयाँ १४ पैसा हुँदा कम्पनीको विहिवारको बजार मूल्य १७५ रुपैयाँ ५० पैसा रहेको छ । कम्पनीको पीबी रेशियो १ गुणा रहेको छ । पीबी अनुपातले कम्पनीको किताबी मूल्य भन्दा बजार मूल्य कति गुणा धेरै छ भनेर देखाउँछ ।
त्यस्तै नेपाल बैंकको किताबी मूल्य २४१ रुपैयाँ ९७ पैसा हुँदा कम्पनीको विहीवारको बजार मूल्य २५२ रुपैयाँ छ । कम्पनीको पीबी रेशियो १ दशमलव ०४ गुणा छ । तेश्रोमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको किताबी मूल्य १६६ रुपैयाँ ८८ पैसा हुँदा कम्पनीको विहीवारको बजार मूल्य १७७ रुपैयाँ छ । कम्पनीको पीबी रेशियो १ दशमलव ०६ गुणा छ ।