Prabhu Life Ad Final

संशोधित बाख्रा बीमालेख वारे जानकारी:बासुदेव शर्माको लेख

परिचय
बाख्रा पालन व्यवसाय अन्तर्गत बाख्रा, च्याङ्ग्रा र भेंडा समेत पर्दछन् । नेपालको उच्च हिमाली क्षेत्र देखि समथर तराईसम्म यो व्यवसाय गरेको पाइन्छ । उच्च हिमाली क्षेत्रमा च्याङ्ग्रा र तल्लो हिमाली क्षेत्रमा सिन्हाल जातको बाख्रा पालिन्छ भने पहाडी क्षेत्रमा खरी जातको र तराईमा तराई बाख्रा नै पालन गर्ने गरेको पाइन्छ । बाख्रा पालन बिशेष गरि मासुको लागि गरिने भएता पनि यसको दुध, उन साथै छाला पनि प्रयोगमा ल्याइन्छ । बढ्दो मासुको मागसंगै नेपालमा बाख्रा पालन व्यवसाय पनि फस्टाउँदै गएको छ र त्यो संगसंगै विदेशी उन्नत जातका बाख्रा पालन पनि बढ्दै गएको छ ।

विदेशी उन्नत जातहरुमा बोयर, जमुनापारी, सानान्, बारबरी र विटल जातका बाख्राहरु नेपालमा पाइन्छन् । नेपालमा अहिले बाख्रा पालन व्यवसायमा लगानी बढिरहेको साथै यो व्यवसाय सञ्चालन गर्ने सिलसिलामा बाख्रामा लाग्न सक्ने रोगव्याधि लागायतका विभिन्न जोखिमहरुको कारण पुरै व्यवसाय नै जोखिममा पर्न सक्ने परिस्थितीलाई ध्यानमा राखेर त्यस्ता जोखिमहरुबाट कृषकहरुलाई सुरक्षित गराउने उद्देश्यले नेपालमा कृषि बीमाको शुरुवात भएसंगै बाख्रा बीमा पनि शुरु गरिएको देखिन्छ ।

NLIC

बाख्रा पालन गर्ने कृषक तथा बीमा कम्पनी साथै सम्बन्धित अन्य सरोकारवालाहरुको सुझाव अनुसार केहि थप व्यवस्थाहरु सहित पहिले जारी भएको बाख्रा बीमालेखलाई हालसालै परिमार्जन सहित संशोधन गरि मिति २०७९.०५.२८ मा बीमा समितिबाट बाख्रा बीमालेख जारी भएकोले यस लेखमा उक्त नयाँ बीमालेखलाई थप स्पष्ट पार्ने प्रयास गरिएको छ ।

रक्षावरण हुने जोखिमहरु
बीमा समितिले हालसालै जारी गरेको कृषि बीमा अन्तर्गतका सबैजसो नयाँ बीमालेखहरुमा रक्षावरण हुने जोखिमहरुलाई निम्नानुसार बर्गिकरण गरिएको छ र बाख्रा बीमाको हकमा पनि सोही अनुसारका जोखिमहरुको रक्षावरण हुने व्यवस्था गरेकोछ ।
(क) अग्निजन्य क्षति:
१. आगलागी वा अग्नीको कारणले भएको क्षति
(ख) हावाजन्य क्षति:
१. हुरीबतासको कारणले भएको क्षति
२. आँधिबेहरी वा तुफानको कारणले भएको क्षति
(ग) पानीजन्य क्षति:
१. अतिवृष्टिको कारणले भएको क्षति
२. असिना, हिउँ वा तुषारोको कारणले भएको क्षति
३. बाढी वा डुबानको कारणले भएको क्षति
(घ) भूमिजन्य क्षति:
१. भुकम्पको कारणले भएको क्षति
२. पहिरो वा भू-स्खलनको कारणले भएको क्षति
(ङ) चट्याङ्गजन्य क्षति:
१. चट्याङ्गको कारणले भएको क्षति
(च) रोगजन्य क्षति:
१. रोगको कारणले भएको क्षति
(छ) आकस्मिक वा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति:
१. जंगली जनावरको आक्रमण (खाएर वा कुल्चिएर वा घिसारेर, खसालेर वा लछारेर) बाट भएको क्षति

दुर्घटना बीमामा अतिरिक्त सुविधाको व्यवस्था
कुनै पनि कृषि बीमा गर्ने व्यक्तीले अनिवार्य रुपमा रु २ लाखको दुर्घटना बीमा गर्नै पर्ने व्यवस्था गरिएको छ । संशोधित बाख्रा बीमालेखमा दुर्घटना बीमा लिने व्यक्तीको लागि अतिरिक्त सुविधाको पनि व्यवस्था गरेको छ । पहिले व्यक्तीको दुर्घटनाबाट मृत्यु भएमा मात्र उक्त बीमाको दाबी भुक्तानी दिने व्यवस्था भएकोमा संशोधित बीमालेखमा दुर्घटनाबाट मृत्यु भएको अवस्था सहित स्पाइनल इन्जुरीको कारण पुनस् ठिक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, एउटा हातको नाडी देखी माथि पुरै हात काम नलाग्ने भएमा, कुनै एउटा खुट्टाको गोलीगाँठो देखि माथि पुरै काम नलाग्ने भएमा र दुबै आँखाको दृष्टी गुमेमा पनि दुर्घटना बीमाको रकम दाबी गर्न सकिने व्यवस्था गरेको छ ।

क्षति भएकोमा दाबी नलाग्ने अवस्थाहरु
बाख्रा बीमालेखमा बीमा भएको अवधिमा तल दिइएका जस्ता केहि अवस्थाहरु देखिएमा बीमा गरिएको बाख्राको क्षति या नोक्सानी भएको अवस्थामा पनि कृषकले त्यसको क्षतिपूर्ति नपाउने भएकोले कृषकहरु यसतर्फ सजग रहनु पर्दछ ।

– बीमा गरिएको बाख्रा हराएमा वा चोरी भएमा
– बीमा गरिएको बाख्रा बिक्री भएको तर बीमालेख नामसारी नभएको अवस्थामा
– महामारी वा अन्य कारणले सरकारी निकाय वा अन्य मान्यता प्राप्त कानुनी निकायको आदेशमा बीमा गरिएको बाख्रा नष्ट गर्नुपर्ने अवस्था आएमा
– बीमा गरिएको बाख्राको संकेतपट्टा ९ट्याग, चिप्स आदी० मृतक बाख्राको शरिरमा नभेट्टिएमा वा संकेतपट्टा हराएको भए सोको जानकारी समयमै नदिएमा
– प्रस्ताव फाराम भर्दा वास्तविक विवरण लुकाई झुट्टा विवरण पेश गरेको प्रमाणित भएमा
– बीमा गरिएको बाख्रामा भएको क्षतिको कारणले हुन गएको अन्य थप खर्च वा त्यसको वरपरमा नोक्सानी भएमा
– बीमित वा निजको एकाघरको व्यक्तीबाट जानाजान वा मनोरञ्जनको उद्देश्यले वा रिसइवीपूर्ण व्यवहारको कारणबाट बीमा गरिएको बाख्रा क्षति भएमा
– बीमा गरिएको बाख्रा प्रथम पटक बीमालेख जारी गरिएको मितिले १५ दिन भित्रै रोगको कारणले मृत्यु भएमा (तर नविकरण गरिएको अवस्थामा यो व्यवस्था लागु हुने छैन । )
– चरन, स्वास्थ उपचार वा प्रजननको लागि पहाडको हकमा गोठ वा घरदेखि २० किमी र तराईको हकमा १० किमी भन्दा बढीको दुरीमा क्षति भएमा (तर, २५०० मिटर भन्दा माथिको हिमाली जिल्लामा घुम्ती चरन प्रणालीमा पालिएका भेंडा बाख्राहरुको हकमा यो व्यवस्था लागु हुने छैन। )

बीमालेख रद्द हुने अवस्थाहरु
बीमीतले बीमालेखको शर्त उल्लंघन गरेमा वा बीमाको मुलभुत विवरण ढाँटेको वा गलत ढंगले उल्लेख गरेको भेटिएमा बीमालेख रद्द हुन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै बीमा गरेको बाख्रालाई कृषकले उचित स्याहार संभार नगरी गम्भिर लापरवाही गरेमा वा बीमा गरेको बाख्रा त्याग गरेमा पनि बीमालेख रद्द हुन सक्छ ।

गैरकानुनी तरिकाले बीमा गराएमा वा बीमायोग्य हित कायम नभएको अवस्थामा पनि बीमालेख रद्द हुन्छ । बीमालेख रद्द गर्नु अघि बीमकले बीमितलाई कम्तिमा ७ दिनको लिखित स्पष्टिकरणको मौका दिनु पर्दछ साथै बीमालेख रद्द गरेको जानकारी १५ दिन भित्र बीमा समितिलाई पनि दिनु पर्ने व्यवस्था बीमालेखमा गरिएको छ । बीमितले नै अनुरोध गरेको अवस्थामा कुनै पनि समयमा बीमकले बीमालेख रद्द गर्नु पर्दछ । वास्तविक मुल्यभन्दा बढी रकमको बीमाङ्क कायम गरि बीमा गराएको बीमालेख स्वतस् रद्द हुन्छ र बीमकले सोको जानकारी बीमा समितिलाई पनि दिनु पर्दछ ।

स्वामित्व परिवर्तन
बिक्री वितरण गरि वा अन्य कुनै कारणले बीमा गरेको बाख्राको स्वामित्व परिवर्तन वा हस्तान्तरण भएको अवस्थामा ३० दिन भित्र बीमकलाई जानकारी दिनु पर्दछ र बीमकले पनि तत्काल अर्को व्यक्तीको नाममा निस्शुल्क नामसारी गरिदिनु पर्दछ । यस्तो अवस्थामा बाख्राको स्वामित्व परिवर्तन वा हस्तान्तरण भई सम्बन्धित स्थानमा पुगेपछि मात्र बीमा प्रक्रियाको शुरुवात हुनेछ । बेचबिखन गरि भिन्न भौगोलिक क्षेत्र तथा हावापानी भएको ठाउँबाट ल्याएको बाख्राको हकमा उक्त बाख्रालाई त्यस ठाउँको मौसम तथा हावापानीमा समायोजन भई आफ्नो अनुकुलता मिलाउन समय लाग्ने भएकोले बाख्रा नयाँ ठाउँमा पुगेको सात दिन पछि मात्र बीमा प्रक्रिया शुरु हुन्छ ।

बीमकको कर्तव्य
बीमा कम्पनीका प्राविधिक वा अभिकर्ताहरुले बाख्राको बीमालेख जारी गर्नु अघि बीमा गरिएको वस्तु समेटिएको विभिन्न कोणबाट खिचिएको स्थिर फोटो कम्तिमा ५ वटा र कम्तिमा १ मिनटको भिडियो क्लिप तयार गरि प्रस्ताव फारामसंगै बीमा कम्पनीमा पेश गरेको हुनुपर्दछ । तर बीमालेख लिने बीमितको हकहित बिरुद्ध क्षति पुर्‌याउनु हुँदैन ।

बीमालेख जारी गर्दा वा दाबी फर्छ्यौट गर्दा आवश्यक पर्ने सम्पूर्ण विवरण कागज, फोटो, भिडियो आदी बीमितबाट प्राप्त गरि बीमकले सुरक्षित रुपमा राख्नुपर्नेछ र बीमालेखमा उल्लेख गरेको बीमादरको आधारमा मात्र बीमाशुल्क गणना गर्नु पर्दछ । तोकिएको दरभन्दा बढी वा घटी गरि बीमाशुल्क लिन पाइने छैन । बीमा गर्दा शर्त पुरा नगरी गरेको रहेछ भने दाबी पर्दा शर्त पुरा नभएको भनि बीमितलाई दिने दावी रकम भुक्तानीमा ढिलासुस्ती गर्ने तथा भुक्तानी अस्विकार गर्ने गर्न पाइने छैन ।

बीमितको दायित्व
बीमितले पनि बीमालेखमा उल्लेख भएका सम्पूर्ण शर्तहरु पालना गर्नु पर्दछ । बीमा गरिएको बाख्राको उचित स्याहार, रेखदेख गर्नुको साथै क्षतिहुनबाट बचाउन उपयुक्त साबधानिका उपायहरु अपनाउनु पर्दछ । दाबी, छानबिन, अनुसन्धान वा क्षति मूल्याङ्कनको क्रममा बीमितले अधिकारप्राप्त निकायलाई पूर्ण रुपमा सहयोग गर्नुका साथै दाबी यकिन गर्नका लागि आवश्यक प्रमाण जुटाउन बीमकलाई पनि सहयोग गर्नु पर्दछ ।

बीमाङ्क तथा बीमाशुल्क
बाख्राको बीमाङ्क निर्धारण गर्दा बीमित, बीमक र पशु सेवा प्राविधिकको आपसी सहमतिमा कायम गर्नु पर्नेछ र यो रकम स्थानिय प्रचलित बजार मूल्य भन्दा बढी हुनु हुँदैन । विदेशबाट आयातित बाख्राको हकमा विदेशमा पैसा पठाएको प्रमाणपत्र, वंशावली अभिलेख (Pedigree Record), बीजक, ढुवानीको निस्सा, राजश्व तिरेको कागज, प्रचलित कानुन बमोजिम जारी गरिएको क्वारेन्टिन प्रमाणपत्र आदी पेश गरिएको हुनु पर्दछ । बोयर र बोयर क्रस बाख्राको हकमा प्रारम्भिक चरणबाट नै फर्म अभिलेख कायम गरिएको हुनु पर्नेछ ।

बीमित, बीमक र पशु सेवा प्राविधिकको आपसी सहमतिमा बीमाङ्क निर्धारण गर्नु पर्नेछ र यो रकम स्थानिय प्रचलित बजार मूल्य भन्दा बढी हुनु हुँदैन । विदेशबाट आयातित बाख्राको हकमा विदेशमा पैसा पठाएको प्रमाणपत्र, वंशावली अभिलेख (Pedigree Record), बीजक, ढुवानीको निस्सा, राजश्व तिरेको कागज, प्रचलित कानुन बमोजिम जारी गरिएको क्वारेन्टिन प्रमाणपत्र आदी पेश गरिएको हुनु पर्दछ । बोयर र बोयर क्रस बाख्राको हकमा प्रारम्भिक चरणबाट नै फर्म अभिलेख कायम गरि सो अभिलेखलाई भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र वा सम्बन्धित पशु सेवा शाखाका प्राविधिकले प्रमाणित गरेको हुनु पर्दछ । बीमालेख जारी भइसके पछि बीमाङ्क परिवर्तन गर्न पाइने छैन र थप बाख्राको बीमा गर्नु परेमा छुट्टै बीमालेख जारी गर्नु पर्नेछ ।

बीमाशुल्क गणना
बाख्राको बीमा गर्दा निम्नानुसार बीमाशुल्क लाग्ने व्यवस्था नयाँ बीमालेखमा गरिएको छ ।
– एकतिस दिन देखि नब्बे दिनसम्मको पाठापाठीको हकमा बीमाङ्क रकमको ७%
– तिन महिनामाथी (एकानब्बे दिन) देखि पाँच बर्षको बाख्राको लागि बीमाङ्कको ५%
– पाँच बर्षभन्दा माथी सात बर्षसम्मको बाख्राको हकमा बीमाङ्कको ७%
– रु २ लाखको अनिवार्य दुर्घटना बीमाको लागि बीमाशुल्क प्रति बीमित रु ५००।-

बाख्रापालनको लागि प्रयोग गरिने खोर वा भौतिक सम्पत्तिको बीमा सम्पत्ति बीमा निर्देशिका, २०७५ अनुसार गर्नु पर्नेछ र यसमा अनुदान पाइने छैन ।

सामुहिक बीमा
बाख्राको बीमा गर्दा एउटा मात्र बीमालेख जारी गरि सामुहिक रुपमा पनि बीमा गर्न सकिन्छ तर बीमालेखमा आवद्ध प्रत्येक बीमितको छुट्टाछुट्टै प्रस्ताव फाराम भर्नु पर्नेछ साथै सामुहिक बाख्रा बीमा गरेका बीमालेखमा आवद्ध प्रत्येक बीमितले छुट्टाछुट्टै दुर्घटना बीमा पनि गरेको हुनु पर्दछ । यस्तो सामुहिक बीमा गर्नैको लागि मात्र संस्था वा समुह गठन गर्न भने पाइनेछैन ।

दाबीरहित छुटको व्यवस्था
बीमालेखमा दाबीरहित छुटको पनि व्यवस्था गरेको छ । तर यसको लागि बीमितले सोही बीमककोमा सोही वस्तु नविकरण ९पुनस् बीमा० गरेको अवस्था हुनु पर्ने भनि बीमालेखमा स्पष्ट उल्लेख छ । दाबीरहित छुट निम्नानुसारले दिन सकिन्छ ।
-प्रथम पटक नविकरण गर्दा कुल बीमाशुल्कको ५% छुट दिन सकिने ।
– दोश्रो पटक नविकरण गर्दा कुल बीमाशुल्कको ७% छुट दिन सकिने ।
– तेश्रो पटक नविकरण गर्दा कुल बीमाशुल्कको १०% छुट दिन सकिने ।

बाख्रा बीमा सम्बन्धि प्राविधिक व्यवस्था
एक महिना देखि सात बर्षसम्मको बाख्रा बीमा गर्न सकिन्छ । बीमाको समयमा सबै बाख्राहरु स्वस्थ तथा कुनै चोटपटक नलागेको हुनुपर्दछ । उमेर र तौल अनुसार पाठापाटीको हकमा एक महिनाको उमेर समुहलाई तथा वयस्क बाख्राको हकमा तीन महिनाको अन्तरालमा आन्तरिक परिजिवी विरुद्ध औषधि खुवाइएको हुनुपर्दछ र तीन महिना र सो भन्दा माथि उमेर समुहमा पि.पि.आर. (Goat Plague) रोग बिरुद्धको खोप लगाइ त्यसको प्रमाणिकरण सम्बन्धित पशु सेवा कार्यालयले गरि प्रस्ताव फाराम साथ खोपको प्रमाणपत्र पनि पेश गर्नु पर्दछ ।

२५ वा सो भन्दा बढी बाख्रा पालेको अवस्थामा पि.पि.आर. (Goat Plague) खोपको साथै ४ महिना उमेर समुहलाई संक्रमण रोग खोरेत (FMD) विरुद्धको खोप पनि लगाएको हुनु पर्दछ । वयस्क बाख्रको खोर सम्बन्धित पशु सेवा कार्यालयले तोकेको न्यूनतम मापदण्डको आधारमा बनाइएको हुनुपर्दछ । तर २५०० मिटर भन्दा माथिको उच्च पहाडी क्षेत्रमा यो व्यवस्था लागु हुने छैन । बीमा गरिएको र नगरिएको वस्तुलाई छुट्टाछुट्टै राख्ने व्यवस्था गर्नु पर्दछ ।

बाख्राको लागि स्वच्छ, पर्याप्त आहार, पानी र सुरक्षित तथा व्यवस्थित खोरको व्यवस्था गरेको हुनु पर्दछ । प्रजननको लागि पालिएको बाख्राको हकमा छुट्टै खोरको तथा आवश्यक मात्रामा घाँस, दाना र प्रशस्त पानीको व्यवस्था गर्नु पर्दछ । हाडनातामा हुने प्रजनन (Inbreeding) बाट उत्पादनमा पर्न सक्ने नकारात्मक प्रभावबाट जोगिन प्रजननमा राखिएको बोकालाई प्रत्येक डेढ बर्षको अन्तरालमा सो स्थानबाट हटाइ अर्को बोकाको व्यवस्था गर्नु पर्दछ ।

बीमित बाख्रामा पशु सेवा प्राविधिकबाट सङ्केतपट्टा लगाएको हुनु पर्दछ र कुनै कारणवस सो हराएमा तुरुन्तै बीमकलाई जानकारी दिनु पर्दछ । यदि जङ्गली जनावरको आक्रमणबाट क्षति भएमा वन कार्यालय वा निकुञ्जबाट क्षतिपूर्ति नलिएको प्रमाणपत्र समेत पेश गर्नु पर्दछ । प्राविधिक परामर्श अनुसार बाख्रालाई सधैं स्वस्थ्य र निरोगि राख्नु पर्नेछ र कुनै रोग लागेमा वा अस्वस्थ भएमा बीमितले तत्काल आफ्नै खर्चमा उचित रेखदेख, रोकथाम वा उपचार गराई सोको प्रमाण बीमकलाई देखाउनको लागि सुरक्षित राख्नु पर्दछ ।

क्षति तथा त्यसको व्यवस्थापन
बाख्रा बीमालेखमा उल्लेख भएको कारणले बाख्रामा क्षति भएमा बाटोको म्याद बाहेक क्षति भएको तीन दिन भित्र बीमितले बीमकलाई टेलिफोन, फ्याक्स, ईमेल, एस.एम.एस., लिखित पत्र वा अन्य कुनै माध्यमबाट सोको जानकारी गराउनु पर्नेछ र सो जानकारी प्राप्त गरेको अठ्चालिस घण्टा भित्र बीमक वा बीमकको प्रतिनिधिले निरिक्षण गर्न सक्ने हुँदा सो अवधिसम्म क्षति भएको स्थानलाई सुरक्षित गरि राख्नु पर्नेछ । बीमितले दाबी भुक्तानी प्रक्रियाको लागि पूर्ण रुपले भरिएको दाबी फारामको साथमा सक्कल बीमालेख ९आंशिक क्षति भएकोमा प्रतिलिपी०, कम्तीमा पाँचजना छिमेकीको सर्जमिन मुचुल्का, स्थानिय तहको पशु सेवा कार्यालयको सिफारिस, बाख्रामा लगाइएको संकेतपट्टा र सो देखिने गरि बाख्रा सहितको फोटो आदी पेश गर्नु पर्दछ । कुनै संक्रमण रोगको कारणबाट अड्चालिस घण्टाभित्र पाँचवटा वा सोभन्दा बढी बाख्रा समान लक्षणहरु देखाउँदै मरेमा नमुना ९क्बmउष्लिन० को आधारमा पोष्टमार्टमको रिपोर्ट पनि पेश गर्नु पर्दछ ।

बीमकले आफैं क्षति मुल्याङ्कन गर्ने अवस्थामा बाहेक सात दिन भित्र क्षति मूल्याङ्कनकर्ता खटाउनु पर्दछ र उसले १५ दिनभित्र क्षतिको प्रतिवेदन पेश गरिसक्नु पर्नेछ । क्षति मूल्याङ्कनकर्ताले बीमा गरेको वस्तुको क्षति स्पष्ट देखिने गरि विबिन्न कोणबाट आफँले खिचेको कम्तिमा पाँच वटा फोटो र कम्तिमा एक मिटनको भिडियो क्लिप पनि प्रतिवेदनसंगै बीमक समक्ष पेश गर्नु पर्दछ । बीमकले प्रतिवेदन प्राप्त गरेको ३५ दिन भित्र वास्तविक दायित्व यकिन गरि दाबी भुक्तानी गर्नु पर्दछ ।

दाबी भुक्तानी सम्बन्धि व्यवस्था
एक महिना देखि तीन महिनासम्म उमेर समुहको पाठापाठीलाई एक बर्ष पछि उक्त पाठापाठीको मुल्य के कति हुने भन्ने आधारमा बीमा गरिने भएकोले साथै पाठापाठीको उमेर र तौल पनि क्रमशस् बृद्धी हुँदै जाने भएकोले निम्नानुसार दाबी भुक्तानी गरिनेछ ।
-बीमा गरेको एक महिना देखि तीन महिनासम्म बीमाङ्कको २५%
– बीमा गरेको तीन महिना माथि देखि छ महिनासम्म बीमाङ्कको ५०%
– बीमा गरेको छ महिना माथि देखि नौ महिनासम्म बीमाङ्कको ७५%
– बीमा गरेको नौ महिना माथि देखि बाह्र महिनासम्म बीमाङ्कको १००%

दुधको लागि पालिने बाख्रालाई बीमा गरि क्षति भएको हकमा निम्नानुसार दाबी भुक्तानी गरिन्छ ।
– दुबै थुन खराव वा पूर्ण रुपले अनुत्पादक भएमा बीमाङ्कको ५०%
– एउटा थुन खराब भई दुध उत्पादन नभएमा बीमाङ्कको २५%
– बाँझोपन भएमा बीमाङ्कको ३०%
बाख्रको बाँझेपनको सम्बन्धमा बीमितले बीमा गरेको बाख्राको औषत गर्भाधारण अवधि १५० दिन भन्दा पूर्व बीमा दाबी गर्न पाउने छैन र बाँझोपन भई निको नहुने अवस्थामा पुगेको भनि पशु चिकित्सक वा प्रजनन विज्ञले अनिवार्य प्रमाणित गरेको हुनुपर्दछ ।

अधिकको व्यवस्था
कुल दाबीयोग्य रकमको पाँच प्रतिशत वा दश हजार मध्ये जुन कम हुन्छ सो रकम घटाएर बाँकी रकम बीमा दाबी भुक्तानी गर्नु पर्दछ । प्रजननको लागि राखिएको बोका उपयुक्त प्रजनन अवधि (१ देखि ५ बर्ष) भित्र यदि पूर्ण रुपले प्रजननको लागि अयोग्य ठहरिएमा बीमाङ्क रकमबाटLive Weight को आधारमा मासुको मुल्य र अधिक वापतको रकम दुबै कट्टा गरि बाँकी रकम भुक्तानी गर्नु पर्नेछ तर उक्त बोका प्रजननको लागि अयोग्य भएको भनि सम्बन्धित पशु चिकित्सक वा प्रजनन विज्ञले प्रमाणित गरेको हुनु पर्दछ ।

उदाहरण;
जमुनापारी जातको ३५ दिनको पाठोलाई एक बर्ष पछि रु १०,०००।- मुल्य पर्ने अनुमान अनुसार बीमाङ्क कायम गरी बीमा गरिएको थियो र बीमा गरेको २३५ दिनपछि रोगको कारणले मरेर दाबी परेको अवस्थामा बीमा गरेको छ देखि नौ महिनाको अवधिमा दाबी परेकोले बीमितले बीमाङ्कको ७५% अर्थात रु ७,५००।- मात्र क्षति दाबी गर्न सक्दछ र त्यसमा पनि ५% अर्थात रु ३७५।- अधिक कट्टा गरि रु ७,१२५।- मात्र दाबी भुक्तानी दिन सकिन्छ ।

त्यस्तै प्रजननको लागि राखिएको करिव १०० किलोको बोयर बोकालाई रु १,००,०००।- बीमाङ्क कायम गरि बीमा गरिएकोमा छ महिना पछि उक्त बोका प्रजननयोग्य नभएको भनि पशु चिकित्सकको प्रांमाणपत्र सहित दाबी परेको अवस्थामा बीमाङ्कको ५% अर्थात रु ५,०००।- अधिक कट्टा गर्नुका साथै स्थानिय बजारमा उक्त बोकाकोLive Weight अनुसार मासुको मुल्य प्रति किलो रु ६००।- रहेछ भने रु ६०,०००।- पनि थप कट्टा गरिन्छ । यसरी रु १,००,०००।- मा रु ६५,०००।- कट्टा गरि रु ३५,०००।- मात्र दाबी भुक्तानी दिन सकिन्छ ।

(शर्मा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कृषि तथा लघु बीमा महाशाखाका वरिष्ठ कृषि विज्ञ हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App