Prabhu Life Ad Final

नेपाल लाइफलाई मर्जरको आवश्यक्ता छैन तर स्टेकहोल्डर बन्न चाहनेलाई आह्वान गर्छौ, सिइओ पराजुलीसँगको अन्तर्वार्ता

काठमाडौं । नेपालकै सबैभन्दा ठुलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असार ३१ गते प्रविण रमण पराजुलीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गर्यो । कम्पनीले पराजुलीलाई नियुक्त नगर्ने चर्चाका बाबजुद पनि उनले आफुलाई प्रमाणित गरिदिएका छन् । दुई वटा संस्थाको प्रमुख कार्यकारी अधिकृत सम्हालिसकेका पराजुली अहिले नेपालकै सबैभन्दा ठुलो बीमा कम्पनीको बागडोर सम्हालिरहेका छन् । नेपालमा १० कक्षासम्म अध्ययन गरेर उच्च शिक्षाका लागि भारत गएका पराजुलीले भारतको चण्डिगढमा रहेको डिएभी स्कुलबाट प्लसटु गरेका थिए ।

उनले स्नातक भने बंगलोरबाट विजनेस म्यानेजमेन्टमा गरे । स्नातकोत्तर भनेर काठमाडौं विश्वविद्यालयबाट फाइनान्समा गरेका थिए । पराजुलीले आफ्नो करिअर भने बैंकबाट सुरु गरेका हुन् । सन् २००३ मा एनएमबी बैंकमा प्रवेश गरेका पराजुलीले ६ वर्ष काम गरे । एनएमबी पछि पराजुलीले नविल बैंकमा काम गरे । नविलमा साढे ९ वर्ष काम गर्दा पछिल्लो समय नविल इन्भेष्टमेन्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृत भए । यसै क्रममा सरकारले १० वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दियो । एकै पटक बजारमा १० वटा जीवन र तीन वटा निर्जीवन बीमा कम्पनी आउदा बजारमा सिइओको खोजी हुन थाल्यो ।

Biz Bazar
NLIC

यहि अभावको मौकालाई चौका हान्दै पराजुली रिलायन्स लाइफ इन्स्योरन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भए । पहिलो कार्यकाल पुरा गरेर उनले नेपाल लाइफको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्ति लिए । गएको पुसदेखि असार मसान्तसम्म करिव ६ महिना उनले सञ्चालकहरुलाई प्रमुख कार्यकारी अधिकृतको योग्यता प्रस्तुत गरे । नेपाल लाइफले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ६ महिना परिक्षण गरेर अवको चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृत पद अन्य कम्पनीको प्रमुख कार्यकारी अधिकृत पद भन्दा धेरै नै चुनौतीपुर्ण छ । नेपाल लाइफलाई अन्य कम्पनीको जस्तै बजार विस्तार गर्नु पर्ने चुनौतीका साथै करिव एक खर्ब ३६ अर्बको कोष व्यवस्थापन पनि गर्नु पर्नेछ । रिलायन्स लाइफमा जीवन बीमा र मार्केटिङ बुझेका पराजुलीले बैंकिङ क्षेत्रमा अझ इन्भेष्टमेन्ट बैंकको अनुभवलाई नेपाल लाइफमा प्रयोग गर्नुपर्नेछ । त्यसैले पनि नेपाल लाइफले पराजुलीलाई यो पद सुम्पेको हुनुपर्छ ।

सबैभन्दा ठुलो बीमा कम्पनीको जिम्मेवारी पाएका प्रविण रमण पराजुलीसँग इन्स्योरेन्स खवरका सम्पादक अरुण सापकोटाले नेपाल लाइफको अहिलेको वर्तमान अवस्थाका साथै बीमा क्षेत्रका चुनौतीका समसामयिक विषयमा लिएको अन्तर्वार्ता  

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विगतका वर्षमा आकर्षक लाभांश दिदै आएको छ । तर कम्पनीको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार नोक्सानीमा देखियो । अहिले सबैले नेपाल लाइफ नोक्सानमा देखियो भनेर चासो व्यक्त गरिरहेका छन् । खासमा के कारणले यस्तो देखियो ?

सिधै नोक्सानको विषयमा भन्नु भन्दा पहिला यसका अन्य तथ्याङ्कबाट विश्लेषण गर्न चाहन्छु । गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा नेपाल लाइफको खुद बीमा शुल्क आर्जन साढे ३५ अर्ब रुपैयाँ रहेको छ । जुन गत वर्षको अघिल्लो वर्षको भन्दा १० प्रतिशतले बृद्धि हो । बीमा शुल्क पछि अर्को लगानीलाई हेर्नु पर्छ, हामीले एक खर्ब १७ अर्ब रुपैयाँबाट एक खर्ब ४६ अर्बमा बृद्धि गरेका छौ । यीदुई पक्षलाई हेर्नु भयो भने २३/२४ प्रतिशतको बृद्धि हो । लगानीका आधार उल्लेख्य रुपमा बढेको छ ।

तेस्रो पक्ष भनेको बीमितहरुको जीवन बीमा कोष । जीवन बीमा कोष तर्फ हेर्नुभयो भने झण्डै एक खर्ब १३ अर्बबाट एक खर्ब ३६ अर्बको हाराहारीमा पुगेका छौ । यो पनि झण्डै २२ प्रतिशतको बृद्धि हो । यि सबै सूचकहरुले के देखाउछ भने केन्द्रिय आधारभुत कुराहरु व्यवसाय, लगानीको र त्यसले ल्याउने प्रतिफल सबैभन्दा राम्रो छ ।

प्रतिफलको पाटोमा हेर्नु भयो भने इफेक्टिभ इल्ड गएका डेड दुई वर्षमा जम्मा व्यवसायको हिसावले हेरियो भने मार्केट अलिकति प्रोडक्टिभ भएका हिसावले राम्रो स्थानमा राख्न सकेका छौ । दीर्घकालिन सम्पत्ती तथा दायित्वको मिसम्याचलाई पनि मिलाउन सकेका छौ । यसको नतिजा के आउछ भने ‘हामीले प्रभावकारी रुपमा राम्रो गर्न सक्छौ’ । यसको प्रतिफल इन्भेष्टमेन्ट इल्ड हो । जुन बीमित र शेयरधनीहरुलाई एक तहसम्ममा दिन सक्छौ । आधारभुत सूचकहरु एकदमै सबल छ ।

गएको वर्षमा वित्तीय विवरण विग्रिएको छ । यो दीर्घकालिन रुपमा बिग्रिएको हो तर नविग्रिएकै हो म भन्न सक्दिन । एउटै मात्र कारण के छ भने केहि न केहि लगानी हरेक वर्ष पूँजी बजारमा लगानी गरेका छौ । नियमनको दायरा भित्र बसेर, क्याल्कुलेटिभ रिस्क लिएर लगानी गरेका छौ । कुनै समय यसले हामीलाई राम्रो प्रतिफल पनि दियो जसको आउटकम लिइसकेका छौ । गत आर्थिक वर्षको वित्तीय विवरणमा हेर्नु भयो भने पिएनएलमा १८ करोड भन्दा धेरै राइटव्याक छ । यसले अघिल्लो आर्थिक वर्षमा भन्दा राम्रो योगदान पुर्याएको छ । हामीले ५३/५५ करोडको मुनाफा देखाएका छौ । त्यो पार्टलाई डिस्काउन्ट गर्ने हो भने ३५/३६ करोडमा आउछ । अर्को तिर यो आर्थिक वर्षमा हामीले जुन प्रोभिजनिङ गरेका छौ जुन अरु कुनै कारोबारको प्रोभिजनिङ होइन । व्यसायको प्रोभिजनिङ होइन । यो पूँजी बजारमा गरेको लगानीको प्रोभिजनिङ हो । कोभिडको समय पछि जुन हिसावले बजारमा तरलता अभाव, आन्तरिक तथा बाह्य पक्षको चुनौती र विभिन्न समयमा कोभिडको असर लगायतका कारण देखियो यसले गर्दा समग्र वित्तीय क्षेत्रमा आएको मन्दी र त्यसले तरलतामा परेको चापले नेप्से सूचक तल झर्यो । यस असर हामीले पनि भोग्नु पर्यो ।

हामीले शेयर बिक्री गरेनौ र आर्थिक वर्षको अन्तिममा त्यसलाई प्रोभिजनिङ गर्यो । हामीले लगानीमा प्रोभिजनिङ गरेका हौ । यसलाई हामीले सहि समयमा राइट व्याक गर्न सक्छौ । यो तत्कालिन बुकिङ मात्रै हो । हामीले यस्तो पोर्टफेलियोको ७७ करोड रुपैयाँलाई राइट व्याक गरिदिएका थियौ भने ४२/४३ करोड रुपैयाँ खुद मुनाफा देखिन आउछ । यो अघिल्लो आर्थिक वर्षको भन्दा २० प्रतिशतको बृद्धि हुने थियो ।

प्राविधिक रुपमा हेर्दा हामी सहि दिशामै छौ । हामीले बजार फर्किएला भन्ने सोचेका थियो । तर हामीले सोचे अनुरुप नभइदिदा प्रोभिजनिङ गर्नु पर्यो । भोलिका दिनमा राइट व्याक गर्दा कम्पनीको स्ट्रेन्थ स्वचित रुपमा फर्किन्छ ।

अपरिष्कृत रुपमा नोक्सानमा देखिइदै गर्दा भोलि एक्चुअरी गरेर वित्तीय विवरण तयार हुँदासम्ममा शेयरधनीले लाभांश दिन सक्ने अवस्था आउला ?

यो अटोमेटिक रुपमा नै हुन्छ । गएका आर्थिक वर्षको ‘सरप्लस ट्रान्फर’ हेर्नु भयो भने ३०/३५ प्रतिशत सञ्चालन मुनाफाबाट आएको पाइन्छ । अर्को एक्चुरिअरी मूल्याङ्कनबाट आएको मुनाफालाई हेर्नु भयो भने त्यसको हिस्सा ७० प्रतिशत छ । त्यसैलाई आधार मान्यौ भने पनि सरप्लस ट्रान्सफर धेरै नै हुन्छ । यि सबैलाई हेर्दा केहि हदसम्म लाभांश दिन सक्ने अवस्थामा हामी हुन्छौ ।

हाम्रो पूँजीको स्ट्रेन्थलाई हेर्यौ भने गत वर्ष ७ अर्ब १९ करोड थियो भने हामीले १४ प्रतिशतको बोनस दिइसके पछि चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ भएको छ । हामीले प्रतिशतका आधारमा मात्रै प्रतिफललाई हेर्नु भन्दा शेयरधनीहरुको हातमा कति रुपैयाँ परेको छ हेर्नु पर्छ । प्रतिशत घटे पनि औषतमा रकम एउटै भयो भने शेयरधनीहरुको हातमा पर्ने रकम त उहि हो ।

हाम्रो बेस बढेर कहाँ पुगिसक्यो । हाम्रो शेयर संख्या धेरै माथि पुगिसक्यो । उक्त बोनस शेयरमा लगानी परेको हुँदैन तर उक्त शेयरले निरन्तर प्रतिफल दिइरहेको हुन्छ । हरेक वर्ष प्रतिशतका हिसावले मात्रै प्रतिफल हेर्ने भन्दा पनि लाभांश रकमलाई हेर्यौ भने धेरै नै बढिरहेको छ । यसरी पनि हेर्नु पर्छ ।

इल्ड अधिकतम भइसकेको छ । हामिले हिजोका दिनमा गरेका अल्पकालिन लगानीलाई विस्तारै दीर्घकालिन लगानीमा परिणत गरिसकेका छौ । साथै सम्पत्ती तथा दायित्वको मिसम्याचलाई पनि व्यवस्थापन गरिसकेका छौ । अर्को तर्फ इल्डको म्याक्सिजमलाई पनि फोकस गरिरहेका छौ । यि दुबै कुराले संस्थालाई अझ मजबुद बनाउनेछ ।

कम्पनीको नाफालाई हेरेर बीमितमा एक किसिमको भ्रम फैलिइरहेको छ । नाफासँगै बीमितले पनि पाउने बोनसदर पनि घट्छ भन्ने अफवाह फैलिएको छ । गत वर्षको वित्तीय विवरणले बीमितको बोनसदरलाई कत्तीको असर पार्ला ?

यसले नाटकिए रुपमा परिवर्तन गराउछ जस्तो मलाई लाग्दैन । यसको प्रमुख पक्ष भनेको एक्चुअरी मूल्याङ्कन नै हो । यसमा पनि हामीले हिजोका दिनमा एक तहको जगेडामा राखेर आइसकेका छौ । यसको असर सामान्य रुपमा केहि होला । तर वित्तीय विवरणका अन्य बुक्समा यसले कुनै पनि असर गर्दैन । हामीले लिएको पोलिसीको गुणस्तरमा परिवर्तन भएको छैन । अझै राम्रो पार्ट के भइरकेको छ भने हिजोको दिनमा १४/१५ वर्षको पोलिसी मात्रै पोलिसी रहेकोमा अहिले २०/२५ वर्षको पोलिसीमा कन्फर्ट भइरहेको देख्छौ ।

हाम्रा केहि प्रोडक्ट अण्डर प्राइस भयो कि भनेर रि प्राइसिङ गरेका छौ । हामीले जति पनि प्रथम बीमा शुल्कको व्यवसाय गरेका छौ ति सबै गुणस्तरिय छन् । यसले समग्रमा राम्रो गर्नेछ । यसले भोलिका दिनमा अझ धेरै प्रतिफल दिन सक्ने अवस्थामा उभिनेछ ।

नेपाल लाइफले सार्वजनिक गरेको पछिल्लो बोनसदर फ्युचर बोनस प्रोभिजनिङका कारण घट्यो । नेपाल लाइफले अहिलेसम्म कति प्रतिशत प्रोभिजनिङ गर्यो । अझै आउने वर्षहरुमा कतिको असर पर्ला ?

हामीले यस भन्दा अगाडी बोनस दर सार्वजनिक गरेको आर्थिकवर्षसम्ममा ४० प्रतिशत गरिसकेका छौ । यस अवधिमा नयाँ बीमा योजना आएका छन् । त्यसमा केहि बीमाशुल्क बढाएर ल्याएका छौ । अव सार्वजनिक हुने बोनसदरमा अझै केहि सुधार गरेर ल्याउन सकिन्छ कि भनेर प्रयास रहनेछ ।

नेपाल लाइफले पछिल्लो एक दशक बीमा क्षेत्रमा एकछत्र प्रभुत्व जमायो । तर पछिल्लो समयमा नयाँ बीमा कम्पनी आइसकेपछि नेपाल लाइफको बजार हिस्तार खुम्चिरहेको छ । गत वर्षसम्ममा ४० प्रतिशतबाट २५ प्रतिशत भन्दा तल झरिसकेको छ । तपाईले आफ्नो कार्यकालमा बजार हिस्सा बढाउन कस्तो योजना ल्याउदै हुनुहुन्छ ?

यहाँले भनेको प्रश्न सहि हो । २०७४/७५ मा नयाँ संस्थाहरुको प्रवेश भइसके पछि केहि न केहि मार्केट अन्य कम्पनीहरुमा स्वीङ भएको छ । त्यमा हामी पनि अछुतो छैनौ । केहि वर्षमा मात्रै होइन विगतको इतिहासको तथ्याङ्कलाई हेर्यो भने देख्न सक्छौ ।

हाम्रो संस्थाको कोर स्ट्रेन्थलाई कि-स्ट्याटिजिङ एरिया भन्छौ । जहाँ संस्थागत सुशासनलाई पुर्ण रुपमा पालना गर्दै जान्छौ । संस्थालाई हरेक सूचकमा अव्बल बनाउदै जान्छौ । हाम्रो मानविय जनशक्तिको क्षमता अभिबृद्धिका लागि काम गर्छौ । हाम्रो अभिन्न अंगको रुपमा रहेका अभिकर्ताहरुको गुणस्तरलाई बढाउनका लागि नयाँ एजेन्सी ट्रेनिङहरु सञ्चालन गर्छौ । पुराना साथिहरुको बृद्धि विकासका लागि विभिन्न किसिमका शिप विकासका तालिमहरु आयोजना गर्छौ । यस तर्फको लगानी सुरु भइसकेको छ । अभिकर्तामा हामी सबैभन्दा धेरै केन्द्रित हुँदैछौ । यसमा केहि हदसम्ममा स्ट्रक्चरल परिवर्तनको काम गर्दै छौ ।

हाम्रो सबैभन्दा धेरै फोकस ह्युमन रिसोर्स, कर्मचारी, अभिकर्ता, कम्पनीमा आउने नयाँ साथिहरुको क्षमता अभिबृद्धि विकास गर्ने, उहाँहरुको सक्रिय सहभागिता बढाउने यि सबै कुराहरुलाई फोकस गरिरहेका छौ । हामीले बिक्री गर्ने प्रोडक्टहरुलाई कसरी इनोभेटिभ बनाउन सकिन्छ, कसरी प्रतिस्पर्धी बनाउन सकिन्छ, बोनसदरलाई स्थिर लाउनका लागि समय समयमा आउने नीतिगत परिवर्तनलाई कसरी संबोधन गर्न सकिन्छ भनेर योजनाबद्ध रुपमा अगाडी बढ्छौ ।

अर्को तर्फ बीमितलाई दिने सेवामा कसरी गुणस्तरियता ल्याउन सकिन्छ भनेर काम गरिरहेका छौ । कम्पनीलाई कसरी डिजिटलाइजेसनमा ढाल्ने भन्ने छ । हामी एक नम्बरको संस्था छौ । सर्वाधिक विश्वासिलो संस्था छौ । अवको दिनमा संस्थालाई कसरी डिजिटलाइज गर्ने भन्ने नै हो । एउटा कुनै सेवालाई होइन डिजिटल्ली संस्थालाई कसरी अब्बल बनाउने भन्ने नै हो । यसले सञ्चालन जोखिम र खर्च दुबैलाई न्युनिकरण गर्ने तर्फ ध्यान दिनेछ । यसले संस्थाको ब्राण्डलाई अझै स्थापित गराउदै जान्छौ । दीगो प्रतिफलका लागि काम गरिरहनेछ । भविष्यमा आउने चुनौतीलाई समाना गर्न सक्षम बनाउनेछ । संस्थाका यि सबै पिलरहरुलाई अझै दरिलो बनाउदै लैजानेछ ।

नेपाल लाइफलाई पछिल्लो एक दशकमा जति राम्रो देखियो । तर यस अवधिमा राम्रो देखाउन कम्पनीले गरेका कतिपय अस्वस्थ प्रतिस्पर्धाले अहिले असर गरिरहेको छ । कम्पनीले हरेक वर्ष अर्बौ रुपैयाँको सरेण्डरको सामना गरिरहेको छ । तपाईले यस्तो अभ्यासलाई कसरी व्यवस्थापन गर्नुहुन्छ?

हाम्रो केहि चुनौतिहरु सरेण्डरमा देखिएको छ । कति फोर्सली नगरेर पनि आउने च्यालेन्जेस आउछन् । हिजोका दिनलाई हेरेर राम्रा कुराहरुलाई अनुसरण गर्नसक्छौ भने नराम्रा अनुभवलाई हामी छोडिसकेका छौ । किनभने हिजोको गलत अभ्यासबाट हामीले सिकिसकेका छौ । संस्थाले यस्तो कुरा चाहेको हुँदैन तर अप्रत्यासित रुपमा आउन सक्छ ।

आजको दिनमा हामी जुन हिसावले क्वालिटी अफ विजनेस गरिरहेका छौ । जुन प्यारामिटरमा बसेर व्यापार गर्न गइरहेका छौ । जुन प्यारामिटहरु मध्ये स्ट्रेन्थलाई अगाडी बढाइरहेका छौ । हिजोका दिनमा जुन किसिमका चुनौतीको सामाना गर्यौ त्यसलाई सिकाइको रुपमा लिएका छौ । यि सबैको उपलब्धी के हुन्छ भने दीगो संस्था, दीगो विकास र सम्पुर्ण स्टेकहोल्डर्सको चाहनालाई पुरा गर्ने सोचका लागि अगाडी बढिरहेका छौ ।

हिजो आज बैंकहरुले लगानीकर्ताहरुलाई केन्द्रित गरेर विभिन्न स्किमहरु ल्याइरहेका छन् । उनिहरुले मुद्दती निक्षेपमा रकम जम्मा गर्दा ६/७ वर्षमै दोब्बर हुने भन्दै स्किमहरु ल्याइरहेका छन् । जसमा उनिहरुले आवधिक जीवन बीमा पोलिसीलाई जोडेर निक्षेपकर्ताहरुलाई आकर्षित गरिरहेका छन् । यस्तो निक्षेपको प्रतिफल र बीमाको सुविधालाई जोडेर बैंकहरुले स्किम ल्याउदा बीमा कम्पनीहरुलाई असर पार्दैन ?

यसले केहि न केहि चुनौतीहरु खडा गरेको छ । नगरेको भन्न मिल्दैन । त्यसमा बैंकहरुले मिसलिड चाँही गर्नु भएन । सबैले आ-आफ्नो क्षेत्रमा काम गर्ने हो । बैंक भनेको निक्षेप संकलन तथा कर्जा लगानी गर्ने संस्था हो । गुणात्मक रुपमा निश्चित अवधिमा यति प्रतिफल दिन्छौ भन्ने भन्दा पनि निक्षेप केका लागि भन्दा कर्जा विस्तारका लागि हो ।

तर बीमाको उद्देश्य फरक छ । पहिलो कुरा भनेको सुरक्षा हो । कुनै पनि मानिसले जस्तोखालको कभरेज लिन्छ त्यो अवधिमा मानिसले आफ्नो न्युनतम बचतबाट लिइरहेको हुन्छ । उसले न्युनतम शुल्क लिएर ठुलो जोखिम बहन गरिरहेका हुन्छौ ।

हामीले किन बीमा गर्छौ भन्दा बचतको लागि भन्दा पनि जोखिम बहनका लागि हो । पहिलो कुरा सुरक्षाको लागि हो । मानौ १५ वर्ष अवधिको एक करोडको बीमा गर्यो भने आजका दिनमा ५ लाख रुपैयाँ तिरे पुग्छ । ५ लाखले एक करोडको बीमा हुन्छ । यसरी बैंक र बीमाको प्रोडक्टलाई तुलना गर्यौ भने मिसलिडिङ हुन्छ । परिपक्व उद्योगले यस्ता कार्यहरु गरेर सेलिङको हतियार बनाउनु हुँदैन ।

बैंकहरुले निक्षेप संकलन र संस्थाको सुरक्षाका हिसावले हेर्ने हो । हामीले बच्ने बीमा पोलिसी भनेको धेरै भन्दा धेरै सुरक्षाको लागि हो । यसको सुरक्षा भनेको न्युनतम बीमा शुल्क भुक्तानी गरेर अधिकतम प्रतिफल लिने हो । के तपाईले आजको दिनमा मुद्दती निक्षेपमा ५ लाख रुपैयाँ राखेर एक करोडको कभरेज पाउनु हुन्छ ? पाउनु हुन्न नि । हामीले आजको दिनमा जोखिम बहन गर्ने हो प्रतिफल त १५/२० वर्ष पछि मात्रै हो । आधारभुत रुपमै यि दुई विचमा फरक छ त्यसैले दुबैलाई जोडेर हेर्नु भनेको मिस लिडिङ मात्रै हो ।

बीमा कम्पनीले दिने बोनसदर कम्पनीले लगानी गरेका प्रतिफलबाट नै हो । के कस्तो क्षेत्रमा लगानी गर्दा हामीले बीमितलाई उच्चतम प्रतिफल दिन सक्छौ ?

लगानीको आधारभुत कुराहरु भनेकै लगानीमा विविधता ल्याउनु हो । विगत एक डेड वर्षदेखि हेर्यौ भने आजको दिनमा मुद्दती निक्षेपको दर सबैभन्दा आकर्षक छ । हामीले लगानीको अवधि पाइरहेका छौ, स्थायित्व पाइरहेका छौ साथै प्रतिफल पनि पाइरहेका छौ । किन भन्दा इल्डको म्याक्सिमाइजेसनका हिसावले अझ सेफ्टिका हिसावले । अर्को पाटो भनेको केहि न केहि पोर्टफेलियोलाई हामीले डाइभर्सिफाइ गर्न थालि पनि सकेका छौ । शेयर बजारमा पनि डाइभर्सिफिकेसन हो । यसले केहि अप्रत्यसित चुनौतिहरु ल्यायो होला तर डाइभर्सिफिकेसनको इन्ट्रुमेन्ट पक्कै हो । अर्को तर्फ बैकल्पिक लगानीलाई केहि राख्न सक्छौ कि भनेर यसकै छुट्टै युनिट पनि खडा गरिसकेका छौ जस्तो प्राइभेट इक्वीटी फण्ड । बीमा समितिले नै उत्पादनशिल क्षेत्रमा लगानी गर्नु पर्छ भनिसकेको छ । हामीले भोलिका दिनमा राम्रो प्रतिफल दिलाउने गरि काम सुरु भइसकेको छ । अव लगानीलाई विस्तारै बढाउदै जान्छौ ।

यसमा नीतिगत केहि सुधारहरु गर्नु पर्नेछ?

केहि छन् । अहिलेको लगानी निर्देशिका जुन छ त्यसले पनि धेरै कुराहरु खुलाएको छ । त्यसैमा टेकेर पनि अगाडी बढ्न सक्छौ । तर त्यसमा केहि नीतिगत सुधारहरु चाहिन्छ । जस्तो शाखा कम्पनी खोल्न पाउने कुराहरु पर्छन् । आजका दिनमा बैंकहरुको संख्या घटिरहेको छ । यस्तो हुँदै गर्दा सञ्चालक तथा एकाघरका परिवारका सदश्यको लगानी भएको बैंकमा लगानी गर्न पाइदैन भनिरहेका छौ । यसले लगानीका दायरा खुम्चिदै जानेछ । यसमा सञ्चालकको तहसम्ममा मात्रै भन्दा हुन्छ कि केहि परिवर्तन गर्नु पर्छ । हाम्रो बजारमा भएको परिवर्तनलाई हेरेर वास्विकतामा सहजिकरण हुने गरि काम गर्न सकिन्छ ।

अर्को तर्फ जोखिमलाई पनि बाड्ने काम हुन्छ । साथै प्रतिफललाई पनि अधिकतम बनाउन सक्छौ । उत्पादनमुलक क्षेत्रमा कसरी सुरक्षित भएर लगानी गर्न सकिन्छ भनेर जान सकिन्छ । यस्ता कुराहरुमा संस्थागत रुपमा साथै हाम्रो एसोसिएसन तर्फबाट पनि बीमा समिति सँग छलफल गरिरहेका छौ ।

नेपाल लाइफमा केहि समयदेखि अभिकर्ताहरु लगातार आन्दोलनमा छन् । यस अवधिमा केहि अप्रत्यासित घटनाहरु पनि घट्यो । अभिकर्ताको मागलाई संबोधन गर्न कसरी अगाडी बढ्दै हुनुहुन्छ?

हामी सबै जना नेपाल लाइफ परिवारकै सदश्य हौ । एउटै परिवारको सदश्यहरुमा त सबैजनाको विचार फरक हुन्छ भने विभिन्न परिवारका सदश्यहरुमा एकमत हुन गाह्रो छ । नेपाल लाइफ एउटा परिवार हो । कर्मचारी एउटा प्ल्याट फर्ममा आउनु भएको छ । एजेन्सी एउटा प्ल्याटफर्ममा आउनु भएको छ । सबैका आ-आफ्ना मतहरु हुन्छन् ।

हामीले प्राक्टिकल्ली कति उहाँहरुले उठाउनु भएका मागहरु नियामक निकायले तोकेको परिधिभित्र रहेर पुरा गर्नु पर्छ । किनकी हामी पब्लिक लिमिटेड कम्पनी हौ, दोस्रो बजारमा सूचिकृत कम्पनी हौ, नियामकको परिधिभित्र रहेर काम गर्नु पर्ने संस्था हौ । यसका आफ्नै किसिमका सिमा रहेका हुन्छन् । जे चाह्यो त्यहि गर्न सकिन्छ भन्ने अवस्था पनि रहदैन । नियमले तोकेका कुराहरुको सिमिततामा रहेर काम गर्ने हो । गर्न सक्ने कुराहरु सबै गरिसकेका छौ । त्यसैले अहिले हामी सहकार्य गरेर अगाडी बढिरहेका छौ । आजको दिनमा असहमति छ जस्तो मलाई लाग्दैन ।

यस्तो असहमति कसरी हुन पुग्यो ?

विचमा केहि संरचनागत परिवर्तन भए । तपाईले विचमा हेर्नु भयो भने फ्युचर बोनस प्रोभिजनिङको नीतिगत परिवर्तन भयो । नेपाल लाइफको मात्रै होइन पुरै बीमा उद्योगको बोनसदर एडजस्ट भएको छ । जहाँ संस्थाले चाहेर मात्रै हुने होइन ।

दोस्रो कुरा बीमा समितिले अभिकर्ताहरुलाई प्रदान गर्ने कतिपय कर्जाहरुमा कडाइ भयो । यो पनि संस्था भन्दा पनि नीतिगत परिवर्तनको उपज हो । एकै पछि धेरै वटा नीतिगत परिवर्तन आयो । हामी नियमनमा बस्नु पर्ने कम्पनी भएकाले नियामकको परिधिमा बस्नै पर्छ । एकै पटक नीतिगत परिवर्तन हुँदा वित ७/८ वर्षदेखि बोनसदरमा कुनै परिवर्तन थिएन । अन्य इन्सेन्टिभहरु व्यवहारिक रुपमा केहि हदसम्म दिइरहेका थियौ । यसरी नीतिगत रुपमा आएका कुराहरुलाई एकै पटक आत्मसाथ गर्दा व्यवहारिक रुपमा कार्यान्वयन गर्दा गाह्रो हुन्छ । आजका दिनमा सम्पुर्ण सरोकारवाला पक्षहरुले यसलाई बुझिसक्नु भएको छ । अव हामी सौहार्दपुर्वक वातावरणमा सशक्त रुपमा अगाडी बढिसकेका छौ ।

नेपाल लाइफमा विगत एक वर्षको अवधिमा धरै नै कर्मचारीहरु बाहिरिए । यस अगाडीका सिइओ पनि छोटो समयमा बाहिरिनु भयो । एक दशक भन्दा लामो समयदेखि काम गरेका कर्मचारी पनि बाहिरिए । पुराना कर्मचारी बाहिरिने र नयाँ कर्मचारी आउने अवस्थामा कम्पनीलाई कसरी अगाडी बढाउनु हुन्छ ?

यसलाई दुई हिसावले गर्नु पर्छ । संस्था आजको दिनमा आउनु भनेको यहाँ भएका सम्पुर्ण साथिहरु र हिजोका साथिहरुकै योगदानले हो । यसमा विमति नै छैन । दोस्रो कुरा भनेको यो निरन्तर चलिरहने प्रकृयाँ हो । सबैजना जहिले पनि रहन सक्दैनन् । यहाँबाट ति पनि साथिहरु बाहिरिएका छन् उनिहरु राम्रो अवसरका लागि बाहिरिएका हुन् । जानु भयो भने पछि के कारणले छोड्नु भयो भन्ने हुन्छ । तर यो संस्था हो यो हिजोका दिनमा पनि थियो । आजका दिनमा पनि छ र भोलिका दिनमा पनि चलिरहनेछ ।

संस्थागत रुपमा आउने परिवर्तनहरु, संस्थालाई चाहिले स्रोत साधनहरु । जहिले पनि संस्थाको पहिलो प्राथमिकता आन्तरिक स्रोतबाट पुरा गर्ने भन्ने रहन्छ । यसमा हामीले अभ्यास पनि गरिरहेका छौ । हामीले ८ वटा रिजनल म्यानेजरको ठाउँमा १२ वटा बनायौ । ४ जना रिजनल म्यानेजरहरुलाई आन्तरिक रुपमा नै अवसर दिएका छौ । संस्थाको संरचना अनुसार कुनै ठाउँमा ग्याप छ भने भएकै साथिहरु म्यानेज गरिसकेका छौ । संस्थाको संरचना अनुसार कुनै ठाउँमा ग्याप छ । त्यहाँ पनि भइरहेकै साथिहरुले पुरा गरिरहनु भएको छ । हामीले के चाही गर्नु हुँदैन भने ‘संस्था कुरेर बस्न सक्दैन ।’ यति ठुलो संस्थाले रहेक समयमा माग अनुसार पुरा गर्नु पर्छ । पहिलो प्राथमिकतामा आन्तरिक रुपमा र भएन भने बाहिरी रिसोर्सबाट पुरा गर्नु पर्छ ।

बाहिरबाट आउने साथिहरुले पनि विज्ञापन आह्वान गर्दा आवेदन दिएर माग अनुसार योग्यता पुरा गरेर आउनु भएको हुन्छ । आफ्ना विभिन्न क्षमतालाई प्रमाणित गरेर आउनु भएको छ । यि कुराहरुलाई हामीले स्वभाविक प्रकृयाँको रुपमा हेर्नु पर्छ । सम्पुर्ण साथिहरुको योगदान बराबर छ । अवका दिनमा यो भनेको कुनै इस्यु नै होइन । मान्छेहरु आउनु पनि पर्छ । मुभ पनि हुनु पर्छ । ताकी नयाँ ब्लडले सिस्टममा अझ भाइब्रेन्ट बनाउछ । यसलाई सकारात्मक रुपमा हेर्यौ भने त्यसले संस्थालाई भाइब्रेन्ट बनाउछ । संस्था भाइब्रेन्ट हुनु भनेको संस्थाको उपलब्धी पनि राम्रो हुन्छ ।

बीमा समितिले पछिल्लो समय ल्याएको क्यापिटल प्लानले फोर्स मर्जरमा दवाव दिएको छ । त्यसले बीमा उद्योगमा मर्जरको ह्वीम आएको छ । मर्जरले साना साना कम्पनी जोडिएर ठुला कम्पनी बन्ने क्रम बढेको छ । मर्जरले कम्पनीहरु ठुला हुने वित्तीकै नेपाल लाइफलाई अझै च्यालेन्स दिने कम्पनी अव बजारमा आउनेछ । यस्तो अवस्थामा नेपाल लाइफले मर्जरको योजना कस्तो छ ?

पहिलो कुरा यो समयमा मैले भन्नु पर्दा नेपाल लाइफको आफ्नै कोर स्ट्रेन्थहरु छन् । आजको दिनमा आफ्नो स्ट्रेन्थबाट भन्न चाहन्छु, न्युनतम चुक्ता पूँजी पुर्याउनु पर्ने चुनौती अहिले इन्ड्रस्ट्रिलाई छ । हामी सँग ८ अर्ब २० करोड रुपैयाँ छ । दोस्रो कुरा संस्थाहरु मर्ज भएर भोलिका दिनमा कुन संस्था कसरी प्रस्तुत हुने भन्नेमै हुनु हुन्छ । हामी क्लियर छौ नेपाल लाइफले मर्ज हुनु पर्ने जरुरत छैन । प्राप्ति गर्नु पर्ने आवस्यकता पनि छैन । आजको दिनमा हाकी कसरी अगाडी जान्छौ, कुन स्ट्याण्डर्डमा जान्छ, कुन फाउन्डेसनमा जान्छौ हामी क्लियर छौ ।

तेस्रो कुरा एजेन्सीको तर्फबाट हेर्यौ भने अन्य कम्पनीको तर्फबाट भन्नु पर्दा अहिले काम गरिरहेको संस्था भोलि कुन संस्था सँग जान्छ भन्ने स्पष्टता छैन । प्रोडक्ट कता जान्छ बोनसदर कता जान्छ क्लियर छैन । तर नेपाल लाइफ सँग आवर्द्ध हुने कुनै पनि अभिकर्ताले उक्त कुराहरुलाई हेर्नु पर्ने बाध्यता छैन । भनेपछि संस्था हरेक ठाउँमा एउटा क्लियर भिजन, क्लियर डिरेक्सन, क्लियर फाउन्डेसनमा जुन हिसावले अगाडी बढिरहेका छौ यो संस्थामा अझ बढि के आह्वान गर्नु भने सम्पुर्ण अरु संस्थाका अभिकर्ताहरु यो संस्थामा जोडिएर आउनु भयो भने यहाँहरु सम्पुर्णलाई स्वागत छ ।

आजका दिनमा हामी कुनै संस्थामा मर्जर वा एक्वायर हुनु पर्ने जरुरत छैन । भविष्यमा केहि परिवर्तन हुन सक्ला त्यो आफ्नो ठाउँमा छ । तर प्राविधिक रुपमा संरचनात्मक रुपमा त्यसको आवस्यकता छैन । बरु यो खालको साउन्ड संस्थामा कुनै पनि स्टेकहोल्डर आउन चाहेमा आह्वान गर्न यहि प्ल्याटफर्मबाट चाहन्छु ।

पछिल्लो समय बीमा कम्पनीलाई प्रयोग गरेर केहि आपराधिक गतिविधि जस्तो देखियो । यस भन्दा अगाडी रिलायन्स लाइफमै ठुलो दुर्घटना भयो, त्यस भन्दा अगाडी युनियन लाइफ, नेपाल लाइफ, प्रभु लाइफमै कयौ घटना भएको देख्न पाउछौ । के कुराले यस्ता घटना भइरहेको छ । यसलाई कम गर्न के गर्नु पर्छ ?

विगतको अनुभवलाई हेर्दा दुई चार वटा कुरा देख्न सकिन्छ । पहिलो कुरा अण्डरराइटिङलाई नै स्ट्रेन्देन नै गर्ने हो । अण्डरराइटिङमा फाइनान्सियल र हेल्थ पर्दछन् । कुन क्वालिटीका प्रस्ताव आइरहेका छन् । फाइनान्सियल डकुमेन्ट कुन तहसम्मको छ । कुन तहको पोलिसीलाई कस्तो खालेको कागजपत्र आवस्यक पर्छ भन्ने कुरा संस्थागत रुपमा तोकिएका हुन्छन् । तर के भने त्यसको क्वालिटी जाच गर्ने अधिकार हामीलाई हुँदैन । यसको प्रभावकारीतालाई मात्रै हेर्ने हो । यि कुराहरुलाई स्तरिकृत गर्नु पर्छ ।

मेरै अनुभवमा पनि राज्यकै निकायहरुबाट जारी भएका सम्पुर्ण कागजपत्रलाई आधार मान्ने हो । कुनै पनि दाबी पर्यो भने कुनै अहस्पिटलमा चेक गर्नु पर्यो भने कागजपत्र माग्छौ । एकतहसम्म यसमा पनि कम सहयोग भएको पाउछौ । सहजिकरण गरिदिने निकाय पनि छैन । के के कुरामा संका हुन्छ त्यसमा अनुसन्धान गर्न राज्यका निकायहरुले सहयोग गर्नु पर्छ । दुर्घटना हुँदा प्रहरीको सहयोग आवस्यक पर्छ । बीमा कम्पनीलाई प्रहरीले कसरी सहजिकरण गर्ने, खराव अनुभवबाट कसरी सिक्ने ताकी यस्ता खालका अपराधिक गतिविधिहरुलाई कसरी नियन्त्रण गर्ने भन्ने तर्फ सबैको ध्यान जानु पर्छ । यसका सबै सम्पुर्ण स्केट होल्डरहरु विचमा निरन्तर छलफल अन्तर्क्रिया हुनु पर्छ । ताकी एक आर्को अनुभवलाई आदान प्रदान गरेर सिक्न सकिन्छ ।

बीमा कम्पनीहरुले हरेक बहानामा कहिले पनि समयमा साधारणसभा सम्पन्न गर्ने गरेका छैनन् । नेपाल लाइफ जस्तो यति ठुलो संस्थाले एक जना एक्चुरी नियुक्त गर्न नसक्ने भन्ने हुँदैन । कतै चलिरहेको छ किन समयमा सम्पन्न गर्ने भन्ने त होइन ?

संस्थागत रुपमा एक्चुअरी लेभलका विद्यार्थीहरुले काम गरिरहेका छन् । तर कहाँ लिमिटेसन हुन्छ भने, हाम्रो जुन खालको वर्क फ्लो छ । जस्तै पहिला हामी सैद्धान्तिक स्वीकृति लिन्छौ । त्यहाँबाट भ्यालुएसन प्रोसेस बल्ल सुरु हुन्छ । त्यस पछि एक्चुअरीले हाम्रो तर्फबाट तथ्याङ्क लिने समय । हाम्रो एक्चुअरीको प्रतिवेदन बीमा समितिमा बुझाउदा बीमा समितिले लगाउने समय । बीमा समितिले आफ्नो एक्चुअरी मार्फत लगाउने समय छ । यो आफैमा समय धेरै लाग्ने प्रकृयाँ छ । हाम्रो एक्चुरीले डेड दुई महिना लगाएको देख्न सक्छौ । किनभने नेपालमा आफ्नै एक्चुअरी छैनन् । हामीले बाहिरका सँग निर्भर रहनु पर्छ । यहि कुरा बीमा समितिमा पनि उत्तिकै लाग्छ । बीमा समिति सँग पनि एक जन मात्रै एक्चुरी हुनुहुन्छ ।

यो कुरालाई सुधार्न अर्थात कामको प्रकृयाँलाई कसरी सरलिकरण गर्ने भन्ने नै हो । बीमा समितिले पनि धेरै संख्यामा एक्चुअरी राखेर काम छिटो सकाउनु पर्छ । हामीले पनि हाम्रो टाइमलाइनलाई सुधार्नु पर्छ । नियामकले पनि समग्र प्रकृयाँलाई पनि छिटो भन्दा छिटो कसरी टुङ्ग्याउन सकिन्छ त्यहि हिसावले काम गर्नु पर्छ । बीमा समितिले १० महिनाको अवधि दिए पनि कम्पनी ऐनले ६ महिना भित्रमा साधारणसभा गरिसक्नु पर्छ भनेको छ । यहि अवधिमा कसरी सम्पन्न गर्न सकिन्छ त्यसरी नै काम गर्नु पर्छ ।

अर्को तर्फ नियामकीय आवस्यकताका आधारमा वित्तीय विवरण बनाउछौ साथै एनएफआरएस प्रणालीबाट पनि वित्तीय विवरण बनाउछौ । एजिएममा गयो फेरी २१ दिन । यो सबैको प्रोसेस आफैमा लामो भयो । प्रकृयाँलाई कसरी सरल बनाउने र आ-आफ्नो तर्फबाट कसरी सुधार गर्न सकिन्छ भन्दै सबैले समन्वय गरेर काम गर्नु पर्छ । अर्को तर्फ एक्चुअरीलाई पनि अलिकति जिम्मेवारी बनाउनसक्यौ भने समयमा साधारणसभा गर्न सकिन्छ । हामी पनि एक्चुअरी पनि निरिह भयौ कि लाग्छ । हामी तेस्रो पक्षमा सबैभन्दा धेरै निर्भर भयौ । बीमा समिति पनि हामीले तथ्याङ्क नदिएसम्म रोकिने र हामी पनि बीमा समितिले नदिएसम्म रोकिने अवस्था छ । एसोसिएसनको माध्यमबाट पनि हामीले यसमा कुरा गरिरहेका छौ ।

बीमा कम्पनीहरुले त्रैमाशिक वित्तीय विवरण बनाउनै एक महिना लगाउछन् । एक्चुअरीलाई भ्यालुएसनका लागि तथ्याङ्क दिनका लागि त झन् डेड दुई महिना लगाउछन् । त्यस एक्चुअरीले २ महिना हाराहारी लगाउछन् । त्यस पछि बीमा समितिको एक्चुअरीले हेर्न एक महिना लागउछन् । एक्चुअरी प्रतिवेदन पछि पनि एनएफआरएस प्रणालीअनुसार वित्तीय विवरण बनाउन २/३ हप्ता लाग्छ । जति नै छिटो सकाउछु भन्दा पनि पुस मसान्त भित्र टाइट छ । यस अवधिमा सबैले समय कम गर्ने हो भने एक महिना छोटिन्छ र पुस सम्ममा सम्भव छ । हामीले नेपाल लाइफमा अभ्यास गरिरहेका छौ । पहिलो ६ महिनामा दुई वटा एजिएम सम्पन्न गर्ने प्रयासमा छौ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार